२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बसेपछि उठ्दै नउठी मर्न थाले गाई, अन्योलमा नियामक निकाय

फिदिम- २ को रमितेमा बिरामी परेको गाई । अनेकन प्रयास गरेर यसलाई उठाउने प्रयास भइरहेको छ । तस्बिर : सरोज शर्मा/नागरिक

फिदिम नगरपालिका- ४ का प्रेम भण्डारीको गाई थलाबाट नउठेको ३ हप्ता भयो । दुहुनु गाई बसेर उठ्न नसकेपछि उसलाई पूर्ववत अवस्थामा फर्काउन हरतरहको प्रयास भईरहेको छ । पशु प्राविधिक ल्याएर गर्न सकिने सम्मको दवाईपानी समेत भईसकेको छ । तर गाई उठ्ने छाँटकाँट देखिन्न । लामो समयसम्म बसिराखेपछि घुँडामा घाउ हुन थालेको छ ।

डाक्टरले क्याल्सियमको कमीका कारण यस्तो भएको हुनसक्ने बताएका छन् भण्डारीले भने, 'अवस्था सुध्रिनेभन्दा पनि दिनप्रतिदिन बिग्रदैँ गएको छ ।'

फिदिम- २ का कृष्णप्रसाद पौडेलले खरिद गरी घर लगेको गाई घर नै पुगेन । साम्दिन भन्ने स्थानबाट रमिते पुर्याएपछि बसेको गाई नउठेको झण्डै महिना दिन हुन लाग्यो । गाईको उपचारका लागि भेटेरिनरी डाक्टरसहित अनेकतरहको प्रयत्न भईरहेका छन् । हजारौं खर्चेर किनेको गाई घर पुर्याउनै नपाई सुरु भएको समस्या गाई नै नरहलाकी भन्ने अवस्थामा पुगेको छ । त्यो गाईको समस्या पनि भण्डारीको गाई जस्तै छ । बसेका ठाउँबाट उठ्दै नउठ्ने ।

समस्या भण्डारी र पौडेलको मात्रै हैन । फिदिम- ४ कै सीता भट्टराईको घरमा रहेको गाई गतवर्ष सोही समस्याका कारण मर्यो । फिदिम २ का बालकृष्ण दुलाल, हरीमायाँ आचार्य, शन्तकुमार गौतम सबैले गएको २ वर्षको बीचमा सोही समस्याका कारण आम्दानी दिँदै गरेका गाई गुमाए ।

सुरुमा गाईमा कुनै समस्या देखिँदैन । एक्कासी बसेपछि उठ्दै नउठ्ने हुन्छ । मरेका सबै गाईमा एकै प्रकृतिको समस्या छ । हाल उपचार भईरहेकाहरुमा पनि सोही समस्या छ । उपचारमा संलग्न पशु प्राविधिकले क्याल्सियमको कमीसहित शारिरिक गडवढीका कारण त्यस्तो हुने बताउँछन तर तिनको प्रभावकारी समाधान दिन सकिरहेका छैनन् ।

जिल्लाभर यस्ता समस्या कति छन् यकिन तथ्याङक छैन । एकै प्रकारको समस्या देखिएर कति कृषकले समस्या भोगिरहेका छन् कुनै निकायसँग पर्याप्त विवरण छैन ।

भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले समस्या आएको जानकारी पाए पनि दोहोरिरहने समस्या समाधानका लागि प्रभावकारी काम गर्न सकिरहेको छैन । केन्द्र प्रमुख रामनारायण शाहका अनुसार यो संक्रमणजन्य रोग भने होईन । पोषणको समस्याका कारण यो अवस्था हुन सक्ने उनको भनाई छ ।

'केही केशहरु आएका छन्,' उनले भने,'स्थानीय जातका गाई भन्दा दुध धेरै दिने उन्नत जातका गाईमा त्यो समस्या देखिने गरेको छ । दूध धेरै दिने हुँदा शरिरलाई पनि सोही अनुसारको पोषण आवस्यक हुन्छ । त्यो पुग्न नसक्दा समस्या हुने गरेको छ ।'

दूध उत्पादन आम्दानीको राम्रो माध्यम बन्न थालेको अवस्थामा गाईमा देखिएको यस्ता समस्याले कृषक समस्यामा छन् । समस्यामा परेकामध्ये धेरैजसो गाई स्थानीय जातका हैनन् । उन्नत जातका धेरै दूध दिने भनेर महंगो मुल्यमा किनेका गाई भटाभट मर्न थालेपछि कृषकहरु आफैं समाधानको उपायको खोजीमा लागेका छन् । समस्या समाधानका लागि स्थानीय सरकारले सहयोग गरिदियोस भन्ने अपेक्षा उनीहरुको छ ।

स्थानीय तह सहितका सरकारी निकायले एकै प्रकृतिका समस्याका कारण गाई मर्नुलाई अनुसन्धान गरेर कृषकको समस्या समाधान गर्न पर्ने आवस्यकता देखिन्छ । 

प्रकाशित: २४ पुस २०८१ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App