२१ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

विज्ञापन संघको २५ औं वार्षिकोत्सव

नेपाल विज्ञापन संघले शनिबार २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संघले विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षलाई संलग्न गराइ दुई विशेष कार्यक्रमसहित २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो।

राजधानीको ताहाचलस्थित होटल ह्यात प्लेसमा बिहान पहिलो बन्द सत्रमा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको थियो। त्यसपछि आयोजित दोस्रो सत्रमा विज्ञापन चक्रका सम्बद्ध सबै पक्षलाई संलग्न गराइ ‘स्टेइङ रिलेभेन्टः रिसेपिङ नेपाल्स एडभर्टाइजिङ ल्यान्डस्केप’ शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

पत्रकार भूषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म भुषाल र नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाले आआफ्ना क्षेत्रका धारणा राखेका थिए।

विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेका थिए। कार्यक्रमको अन्त्यमा विज्ञापन व्यवसायी तथा मिडियाहरू समय सापेक्ष रूपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्चभन्दा लगानीको रूपमा लिनुपर्ने र विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने हुँदा विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामग्री प्रस्तुत गर्नुपर्ने बताए।

कार्यक्रमको तेस्रो सत्रमा सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानलका अध्यक्ष आर के मानन्धर, आन सम्मान दिइएको थियो। यसैगरी कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई पनि नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थासम्म ल्याइपुर्‍याउन गरेको सहयोगको कदर गर्दै आन सम्मान प्रदान गरिएको थियो। अष्ट्रेलिया लगायत एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरूका प्रतिनिधिहरू बिच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल प्रशन्न श्रेष्ठ र साईष्मा घिमिरेलाई पनि प्रशंसा पत्र दिइएको थियो।

प्रकाशित: १४ पुस २०८१ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App