२१ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा राहत

२५ प्रतिशतको अकुपेन्सी कम्तिमा ५० प्रतिशतः व्यावसायी

पोखरा लेकसाइडमा शनिबार सुरु भएको सडक महोत्सवमा निकालिएको झाँकी। विभिन्न गतिविधिका कारण यतिबेला पोखरामा पाहुना थपिएको व्यावसायीले बताएका छन्। तस्बिरः नागरिक

मुख्य पर्यटकीय सिजन (सेप्टेम्बर–नोभेम्बर) केही समय अघि मात्र सकियो। पर्यटन व्यावसायीका अनुसार यो पटकको पर्यटकीय सिजन खासै उत्साहजनक भएन। विदेशी पाहुना सोचेजति नआएको र आन्तरिक पाहुनाको आगमन पनि कमजोर हुँदा बितेको सिजनबाट उत्साही हुन नसकेको व्यावसायीले बताउँदै आएका छन्।  

मुख्य सिजन पाहुनाको कम आगमनमै गुजारेका व्यावसायीले पछिल्लो केहीदिनदेखि थोरै भएपनि राहतको सास फेर्न पाएको महसुस गरेका छन्। व्यावसायीलाई अफसिजनको यो बेला राहतको सास फेराउने माध्यम बनेका छन यहाँ आयोजित विभिन्न मेलामहोत्सव, जसले पोखरामा स्वदेशी र केही विदेही पाहुनालाई आकर्षण गरेका छन। केही पुराना र कतिपय नयाँ यी कार्यक्रमका कारण आन्तरिक पाहुना पोखरामा बढी भित्रिएको व्यावसायीको भनाई छ।  

पोखरामा केहीदिनदेखि अन्तर्राष्ट्रियस्तरको बेलुन फेस्टिबल भईरहेको छ। नेपालमै पहिलोपटक भएको अन्तर्राष्ट्रियस्तरको बेलुन फेस्टिवलका कारण पोखराले पाहुना तान्न सकेको छ। विभिन्न १५ मुलुकका बेलुन उडाउने पाइलट अहिले पोखरा आएका छन्। फेवाताल सिरानको पामे क्षेत्रमा अहिले बेलुन फेस्टिवल चलिरहेको छ। बिहान र बेलुकीको समय पारेर एकैपटक १७ वटा बेलुन पामेको आकाशमा उडान हुँदा त्यहाँको क्षेत्र रोमाञ्चक बनेको छ।  

फेस्टिबलमा सहभागि हुन चिरपरिचित कलाकार र सेलिब्रेटीहरु पोखरा आउँदा पोखरामा चहलपहल बढेको पनि व्यावसायीको भनाई छ। बिहान र बेलुकीको बेलुन उडान बाहेक अरु समयमा सांगीतिक कार्यक्रम हुँदा फेवातालको माथिल्लो क्षेत्रमा अहिले चमक छाएको छ। नेपालमै पहिलोपटक भएको यो महोत्सवमा हुँदा बेलुन हेर्नकै लागि भनेर पाहुनाहरु पोखरा भित्रिएको व्यावसायीको भनाई छ।  

त्यस्तै शनिबारदेखि यहाँ वर्षेनी भईरहेको सडक महोत्सव पनि सुरु भएको छ। सडक महोत्सव पाँचदिनसम्म चल्नेछ। २६ वर्षदेखि हरेक वर्ष एकै समय र अवधिका लागि पोखरामा हुँदै आएको यो महोत्सव पोखरामा सबैभन्दा बढी पाहुना भित्र्याउने माध्यम बनेको व्यावसायीले बताउने गरेका छन्। स्थानीय, आन्तरिक र विदेशी पाहुनाको भीडभाड थपिँदा पाँचदिन अवधिमा पोखरामा करिब पाँचलाख पाहुना आउने व्यावसायीको दावि छ।  

त्यस्तै फेवातालमा आइतबार ड्रयागन बोट रेस फेस्टिवल पनि संचालन हुँदैछ। ड्रयागन बोटरेस फेस्टिबलका लागि चीन सरकारले विमान चार्टर गरेरै केही खेलाडीलाई पोखरा ल्याइसकेको छ। अघिल्लो वर्षदेखि पोखरामा सुरु भएको ड्रयागन बोट रेस फेस्टिबलका कारण पोखरामा चिनियाँ पाहुनाको चहलपहल बढेको पनि व्यावसायीले बताएका छन्।  

‘यतिबेला पोखरामा केही भारतीय र आन्तरिक पाहुनाको चहलपहल बढेको छ,’ पर्यटन व्यावसायी भीम भट्टराई भन्छन, ‘बेलुन फेस्टिबल सुरु हुनु अघिसम्म पर्यटन क्षेत्र निकै नै सुस्ताएको थियो। तर, यतिबेला भने भीडभाड राम्रै छ।’ घुम्न आएपनि पाहुनाको क्रयशक्ति कमजोर हुँदा सबैखाले व्यावसायीले उत्तिसारो लाभ लिन नसकेको भएपनि होटल र रेस्टुरेन्टका लागि भने व्यापार बढेको उनले बताए। ‘पाहुना थपिनु भनेको पर्यटन क्षेत्रले कुनै न कुनै रुपमा लाभ पाउनु हो,’ उनले भने, ‘सुस्ताएको पर्यटन क्षेत्र अहिले केही चम्किएको छ।’

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी पनि पछिल्ला गतिविधिका कारण पोखरामा पाहुनाको आगमन बढेको बताउँछन्। होटल एशियाका संचालक समेत रहेका पन्थीका अनुसार क्रिसमस अघिसम्म पोखराका होटलको अकुपेन्सी बढीमा २५ प्रतिशत थियो। तर, यो अकुपेन्सी अहिले नै ५० प्रतिशत कटिसकेको छ।

‘पोखराका भएको बेलुन फेस्टिबल, सडक महोत्सव र ड्रयागन बोटरेस फेस्टिबलले पाहुनालाई पोखरामा तानेको छ। अबका केहीदिन पोखरामा पर्यटनको चमक रहिरहन्छ,’ उनले भने, ‘सिजनमा पनि उकासिन नसकेको पर्यटन क्षेत्र अब केहीदिनका लागि जागा रहन्छ। त्यसले पर्यटन क्षेत्रमा ठुलो राहत दिलाउँछ।’ पोखरामा भएका यिनै गतिवधिका कारण आन्तरिक, भारतीय र चिनियाँ पाहुना थपिएको उनले बताए।  

सडक महोत्सव आयोजना गरेको रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडेल लेकसाइडको साढे ३ किलोमिटर क्षेत्र सडकमा हुने महोत्सवले पोखराको पर्यटन क्षेत्र अबका पाँचदिनसम्म पाहुनामय हुने बताउँछन्। ‘कम्तिमा पाँचलाख पाहुना आउने अपेक्षा छ। महोत्सवको अवधिभर आएका ती पाहुनाका कारण पर्यटन क्षेत्रले आर्थिक रुपमा लाभ लिन्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रलाई मात्र लाभ नदिई यो महोत्सवले खाना, संस्कृति र संगीतलाई पनि उत्तिकै प्रवद्र्धन गर्न सघाउँछ।’ पर्यटनसम्वद्ध विभिन्न गतिविधिका कारण पोखराको पहिचान फराकिलो बन्ने उनले बताए। ‘पाहुना तान्नकै लागि होटल व्यवसायीले विशेष छुट सहितको अफर समेत ल्याएका छन,’ उनले भने।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पोखरामा भईरहेका गतिविधिका कारण पाहुनाको चहलपहल बढेको बताउँछन्। ‘यो बेला भईरहेको बेलुन फेस्टिबल, शनिबार सुरु भएको सडक महोत्सव र आइतबार हुने बोट रेस फेस्टिबलका कारण आन्तरिक पाहुना पोखरामा आकर्षित भएका छन,’ पराजुलीले भने, ‘सबैखाले कार्यक्रम एकैपटक हुँदा पनि पाहुनाको भीडभाड भएको हो।’  

यी कार्यक्रम केहीदिनको अन्तरमा गर्न पाएको भए पोखराले अझ धेरै संख्यामा पाहुना पाउने उनको भनाइ छ। छोटो समयभित्र तीनवटा महत्वपूर्ण कार्यक्रम हुँदा एकैपटक भीडभाड भएको उनले बताए। ‘केहीदिननको अन्तरमा कार्यक्रम हुने हो भने पोखराले लामो अवधिका लागि पाहुना भित्र्याउने अवसर पाउँथ्यो,’ उनले भने।  

पराजुलीका अनुसार क्रिसमस अघिसम्म पोखराका होटलको अकुपेन्सी करिब २५ प्रतिशत थियो। तर, अहिले त्यो अकुपेन्सी ६० प्रतिशत हाराहारीमा उक्लिसकेको छ। बेलुन फेस्टिबलका कारण स्वदेशी कलाकार र सेलिब्रेटी पोखरा आएका छन्। त्यसबाहेक १५ मुलुकका पाइलट र उनीहरुका परिवार समेत पोखरा भित्रिएका छन्। सबैखाले पाहुना र बेलुन उडानका कारण पोखराको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान बढेको उनले बताए।  

‘पर्यटन क्षेत्रले गरेको विज्ञापन भन्दा फरक तरिकाबाट अहिले पोखराको प्रवद्र्धन भएको छ। त्यसले पनि पोखरामा पाहुना आगमन बढाएको छ,’ उनले भने, ‘छोटो अवधिमा २५ प्रतिशत अकुपेन्सी बढाउन अहिलेका गतिविधि नै सहयोगी हुन। अबको एकसातासम्म पोखराको पर्यटनमा यिनै गतिविधिका कारण पर्यटन क्षेत्र व्यस्त रहन्छ।’

प्रकाशित: १३ पुस २०८१ १५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App