१२ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलोपटक पूर्ण यात्रु क्षमतामा उडान र अवतरण

भार घटाउनु पर्दैनः प्राधिकरण

हवाई कम्पनिका लागि पनि सहजः व्यावसायी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार अवतरण गरेको सिचुआन एयरलाइन्सको जहाज। तस्बिरः नागरिक

चीनको छेन्दुबाट विहीबार बिहान सिचुआन एयरलाइन्सको ‘एयरबस ३१९’ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। पोखरा आउँदा जहाजमा १ सय २९ जना यात्रु (क्रु मेम्बर बाहेक) थिए । पोखरामा केहीबेर रोकिएपछि यही जहाज काठमाडौंका लागि उड्यो। पोखराबाट काठमाडौं फर्किदा भने जहाजमा क्रु मेम्बर बाहेक १ सय २६ जना यात्रु थिए।  

पोखराको फेवातालमा हुने ड्रागन बोट रेस फेस्टिवलका लागि चिनियाँ सहभागि लिएर जहाज पोखरा आएको थियो। फेवातालमा आगामि आइतबार ड्रागन बोट रेस फेस्टिवल हुँदैछ। यो फेस्टिवल चीन सरकारकै पहलमा पोहोरदेखि फेवातालमा हुँदै आएको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको आगामि जनवरी १ मा दुइवर्ष पुग्दैछ। यो अवधिमा पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन भएका छैनन्। नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको विमानस्थल अहिलेसम्म आन्तरिक उडानमा मात्र सीमित छ। संचालनमा आएको दुइवर्ष पुग्नै लाग्दा अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैगरि ११ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। ती मध्ये सिचुआनको मात्र पोखरामा यो समेत तेश्रो चार्टर उडान हो। यसअघि चीन, भुटान र भारतबाट पनि चार्टर उडान भएका थिए।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार अहिलेसम्म सबैभन्दा बढी यात्रु सिचुवानले लिएर आएको छ। पहिलोपटक यही जहाज पोखरा आउँदा २१ जुन २०२३ मा चीनको छेन्दुबाट ८४ जना यात्रु लिएर आएको थियो। त्यसपछि गत नोभेम्बर ७ मा सिचुआनकै जहाज १ सय २० जना धावक लिएर कुन्मिङबाट जहाज पोखरा आएको थियो। तेश्रोपटक छेन्दुबाटै उडेको सिचुआनकै जहाज १ सय २९ जना यात्रु लिएर विहीबार पोखरा अवतरण गर्यो।  

पोखरामा यात्रु सहित जहाज अवतरण गरेपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा फर्किनेमा यसअघि सबैभन्दा बढी यात्रु भुटानको ड्रुक एयरबाट फर्केका थिए। गतवर्ष सेप्टेम्बर ९ मा पोखराबाट ४२ जना यात्रु मात्र बोकेर ड्रुकको जहाज भुटान फर्केको थियो। तर, सिचुआनका अघिल्ला दुइ उडान भने पोखराबाट फर्किदा रित्तै थिए। अरु उडानमा पनि यात्रु थिएनन्। विहीबार भने सिचुआनको जहाज १ सय २६ यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि उडेको हो। विहीबारको उडानपछि पोखराबाट पूर्ण क्षमतामा यात्रु बोकेर जहाज उड्न सक्ने प्रमाणित भएको सुवेदीको भनाई छ।  

‘यसअघि पनि पूर्ण क्षमतामा यात्रु लिएर जहाज पोखरा आएका त थिए। तर, यो आकारमा पहिलो पटक यात्रु सहित उडेको भने यो नै पहिलोपटक हो। यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण क्षमतामा जहाज अवतरण र उडान गर्न सक्छन भन्ने प्रमाणित भएको छ,’ उनले भनिन।

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण क्षमतामा जहाज अवतरण र उडान गर्न सक्दैन भन्ने हल्लालाई चिर्न विहीबार सिचुआनको पोखरा–काठमाडौं उडान नै काफी रहेको छ।

‘यसअघि पनि अन्तर्राष्ट्रिय उडानका जहाज पूर्ण क्षमतामा भार बोकेर पोखरा अवतरण गरेका त थिए। तर, भुटानको ड्रुक बाहेक कसैले पनि यात्रु लिएर उडेका थिएनन्। ड्रुकको संख्या जम्मा ४२ थियो,’ उनले भनिन, ‘पोखराबाट विहीबार उडेको संख्या नै अहिलेसम्मको सर्वाधिक हो।’

छेन्दुबाट विहीबार बिहान पोखरा अवतरण गरेको जहाजको रित्तै काठमाडौं गएर यात्रुसहित छेन्दु फर्कने तालिका थियो। तर, पोखराका पर्यटन व्यावसायीले पूर्ण क्षमतामा पोखरा–काठमाडौं रुटमा प्रर्वद्धनात्मक उडान गर्ने योजना बनाएपछि पोखराबाट १ सय २६ जना यात्रु जुटेका थिए। पोखराका पर्यटन व्यावसायी, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, पोखराका संचारकर्मी र व्यावसायी विहीबार पोखरा–काठमाडौं रुटका यात्रु थिए।

भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्ला फैलिएकोमा त्यो सत्य नभएको यो उडानले पुष्टि गरेको उनले बताईन। 

‘न्यारोबडीका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण क्षमतामै उडान र अवतरण सम्भव रहेको यसले पुष्टि भएको छ। विहीबार पोखरा आउँदा र फर्किदा जहाजले पूर्ण यात्रु क्षमतामै अवतरण र उडान गरेको छ,’ उनले भनिन, ‘अहिलेसम्म भार कटौतीको अफवाह मात्र फैलाइएको थियो।’  

४० प्रतिशत भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्ला फैलिएको प्राधिकरणको भनाई छ। केहीसमय अघि पोखरा आएका पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पनि पोखरामा उडान गर्दा ४० प्रतिशत भार कटौती गर्नुपर्ने हल्ला चलाउँदा अन्तर्राष्ट्रिय उडानमा असर परेको बताएका थिए। ४० प्रतिशत भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्लालाई चिर्नका लागि नेपाल एयरलाइन्सको जहाजमार्फत पूर्ण क्षमतामा यात्रु बोकेर ल्याएर परीक्षण गर्ने पनि मन्त्री पाण्डेले त्यो बेला बताएका थिए। तर, सिचुआनको जहाजबाटै पूर्ण क्षमतामा पोखराबाट उडान भएको छ।  

‘शतप्रतिशत लोड त कतै पनि नहुनसक्छ। आन्तरिक उडानमा पनि सबैमा पूर्ण क्षमता नहुनसक्छ। तापक्रमले पनि भार क्षमतालाई फरक पार्छ,’ उनले भनिन, ‘भारको भन्दा पनि ब्यावसायिक चिन्ता लिनु उपयुक्त हुनेछ। पोखराले उडानका लागि ब्यापार दिन सक्छ वा सक्दैन भन्ने मात्र विषय महत्वपूर्ण हो।’

पोखरा–काठमाडौं रुटमा विहीबार प्रर्वद्धनात्मक उडानको पहल गरेको पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पनि पोखराबाट पूर्ण भार क्षमतामा उडान गर्न सक्दैन भन्ने हल्ला चिर्न पोखरा–काठमाडौं रुटमा प्रर्वद्धनात्मक उडान गरेको बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्ण भार क्षमतामा उडान हुँदैन भन्ने हल्ला छ। त्यसलाई चिर्नका लागि पूर्ण क्षमतामा यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि उडान व्यवस्थापन गरेका हौ। यसले अन्तर्राष्ट्रिय हवाई कम्पनिलाई पोखरामा उडान गर्नका लागि कुनै समस्या नरहेको सन्देश दिनेछ।’

यसअघि जाजरकोट भूकम्पको बेला चिनियाँ सरकारले दिएको १ सय ७९ टन तौलको राहत सामाग्री बोकेर पनि चिनियाँ जहाज पोखरा झरेका थिए। तर, फर्किने बेला ती जहाज पनि रित्तै थिए। ‘पोखरा आउँदा भन्दा पोखराबाट फर्कदा पूर्ण भार क्षमता सहित उडान सम्भव रहेको पुष्टि गर्न जरुरी थियो,’ उनले भने, ‘विहीबारको उडानले त्यो सम्भव देखाएको छ।’  

प्रकाशित: ११ पुस २०८१ १७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App