११ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएको छ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबारको बैठकले कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । बैंकले ऐनको दफा ८६ को (ग) अन्तर्गत रहेर बैंकको व्यवस्थापन नियन्त्रणमा लिँदै खराब कर्जा नियन्त्रणबाहिर गएको र शंकास्पद कारोबार गरेको भेटिएको बताएको छ। बिहीबारदेखि कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा रहनेछ।

आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेपको दायित्व पूरा गर्न नसकेको, न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा राष्ट्र बैंकले संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो।

राष्ट्र बैंक ऐन २०५८ अनुसार बैंकले निक्षेपकर्ता, सेयरधनी, साहु वा सर्वसाधारणको हितविपरीत हुने गरी कुनै कार्य गरेमा, वित्तीय दायित्व पूरा नगरेमा वा गर्न नसक्ने अवस्थामा पुगेमा, दामासाहीमा परेमा वा आर्थिक कठिनाइ भोगिरहेको अवस्थामा, ऐनविपरीतका कार्य गरेमा झूटा जालसाजी वा गलत कागजात वा तथ्य पेस गरी इजाजतपत्र प्राप्त गरेमा, न्यूनतम चुक्ता पुँजी कोष कायम नगरेमा समस्याग्रस्त घोषणा गर्ने व्यवस्था छ।

यसअघि राष्ट्र बैंकले गरेको निरीक्षणमा निष्क्रिय कर्जा अनुपात झण्डै ४१ प्रतिशत पुगेको भेटिएको थियो। सो क्रम अझै कायम रहेको र अन्य प्रावधानहरु पनि पूरा नगरेको केन्द्रीय बैंकको निष्कर्ष छ।

यथास्थितिमा बैंकको व्यवस्थापन नियन्त्रणमा नलिए निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैकिङ प्राणलीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० पुस २०८१ १७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App