८ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

गोल्छा ग्रुप र इन्स्योरबीच उद्योग-केन्द्रित ‘अप्रेन्टिसशिप’ कार्यक्रमका लागि सहकार्य

नेपालमा एकसय वर्षको औद्योगिक इतिहास बोकेको गोल्छा ग्रुपले इन्स्योर परियोजना (इनह्यान्स स्किल्स फर सस्टेनेबल एण्ड रिवार्डिङ इम्प्लोइमेन्ट) सँग उद्योग-केन्द्रित अप्रेन्टिसशिप (प्रशिक्षुता) कार्यक्रम लागू गर्न सहकार्य गरेको छ।

गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र इन्स्योर परियोजना टोलीका प्रमुख रवीन्द्र बहादुर सिंहबीच सोमबार सम्झौता हस्ताक्षर भएको हो।

यस कार्यक्रमले शिक्षामा हासिल भएको ज्ञानलाई रोजगारीसँग जोड्ने र युवाहरुलाई बजारमा आवश्यक प्राविधिक सीप प्रदान गर्न लक्ष्य लिएको छ।

सम्झौतामा अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि जस्ता क्षेत्रमा अप्रेन्टिसलाई तालिम दिने, कर्मचारीहरूको सीप स्तरोन्नतिका लागि सीप स्तरोन्नति तालिम कार्यक्रम सञ्चालन गर्ने, तालिम पाठ्यक्रममा हरित सीप समावेश गर्ने, र गोल्छा ग्रुपका उद्योगमा कार्यस्थल सुरक्षा तथा व्यावसायिक स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

इन्स्योर परियोजनाअन्तर्गत यो साझेदारी नेपाल र स्विजरल्यान्ड सरकारहरूको द्विपक्षीय पहल हो। यसले "डुअल भिइटी-अप्रेन्टिसशिप" मोडेललाई कार्यान्वयनमा ल्याउँछ। यो मोडेलले प्राविधिक विद्यालयमा प्राप्त सैद्धान्तिक ज्ञान र उद्योगमा प्रशिक्षकहरूको निगरानीमा प्रदान गरिने व्यावहारिक तालिमलाई समावेश गर्दछ। तालिम पूरा गरेपछि प्रशिक्षार्थीले सिटिइभीटि द्वारा मान्यता प्राप्त प्रि-डिप्लोमा प्रमाणपत्र प्राप्त गर्नेछन्।

डुअल भिइटी-अप्रेन्टिसशिप मोडेल रोजगारी विकासका लागि त्रिपक्षीय लाभको स्रोत हो। यसले युवालाई उद्योगसँगको सम्बन्ध सुदृढ बनाउने, सिक्दै गर्दा आय आर्जन गर्ने, र मान्यता प्राप्त प्रमाणपत्र पाउने अवसर प्रदान गर्दछ।

उद्योगहरूले अप्रेन्टिसशिप अवधिमा प्रत्यक्ष लागत लाभ पाउँने र लामो अवधिमा दक्ष जनशक्तिबाट उत्पादनशीलता बढाउन सक्ने बताइएको छ। सरकारी दृष्टिकोणले, यो मोडेल प्रयोगशाला र उपकरणमा कम लगानीको आवश्यकता पर्ने भएकाले सस्तो पर्छ। तर बजारका लागि उपयुक्त स्नातक उत्पादन गर्न सक्षम हुन्छ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले यो सहकार्यले प्रतिस्पर्धात्मक रोजगार बजारमा नेपाली युवालाई सशक्त बनाउन गोल्छा ग्रुप प्रतिबद्ध रेहको बताए।

इन्स्योरका टोली नेता रवीन्द्र बहादुर सिंहले गोल्छा ग्रुपसँगको यो सहकार्य नेपाललाई दक्ष जनशक्तिको यात्रामा नयाँ उचाइमा पुर्‍याउने कोशेढुङ्गा भएको बताए।

उनले भने 'उद्योगका आवश्यकतालाई प्राविधिक तालिममा समावेश गरेर, अप्रेन्टिसहरूले रोजगारी मात्र पाउँदैनन्, दक्षताको अभाव घटाउँछन् र देशको आर्थिक प्रगतिमा योगदान पनि गर्छन्।'

गोल्छा ग्रुपले विभिन्न क्षेत्रहरूमा सय भन्दा बढी कम्पनी सञ्चालन गर्दै आएको छ। डुअल भिइटी-अप्रेन्टिसशिप कार्यक्रममा सहभागी हुँदै समूहले नेपालका औद्योगिक विकास र आर्थिक प्रगतिका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ८ पुस २०८१ १८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App