८ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

कोशी सरकारले निर्माण गर्ने ३८५ वटा सडक मार्गमा ताप्लेजुङका १८ सडक सञ्जाल समावेश

फाइल तस्बिर

कोशी प्रदेश सरकारले भविष्यमा निर्माण गर्नेगरी सार्वजनिक गरेको सडकको सूचीमा ताप्लेजुङका १८ वटा सडक सञ्जाल समावेश भएका छन्।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ सय ८५ वटा सडकको सूची राजपत्रमा प्रकाशित गरेको छ। प्रादेशिक सहायक लोकमार्ग अन्तर्गत ९६ वटा र प्रादेशिक मार्ग २ सय ८९ वटा सडक सञ्जाल सूचीमा छनौट गरिएको छ।

प्रादेशिक सहायक लोकमार्गमा ताप्लेजुङको एउटा तथा प्रादेशिक मार्गमा १७ वटा सडक सञ्जाल समेटिएका छन्। प्रादेशिक सहायक लोकमार्गमा फुङलिङ–नाङखोल्याङ–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–थुम्बेदिन–खाम्दिने हुँदै मामाङ्खे जाने ७७.४२१ किलोमिटर लामो सडक सञ्जाललाई समेटिएको छ। यसलाई फुङलिङ–खाम्दिने प्रादेशिक सहायक लोकमार्ग भनिएको छ।

प्रादेशिक मार्ग अन्तर्गत २२.३५६ किलोमिटरको फुङलिङ–पाथीभरा सडक, २.७४२ किलोमिटरको फुङलिङ–बाँजोगरा सडक, ४८.७८९ किलोमिटर लामो कार्कीगाउँ–पापुङ सडक र दोभान–तिरतिरे–सुरबिरे–साक्फारा हुँदै खार्ते जाने १९.०८५ किलोमिटरको दोभान–खुरुक्ला सडक समावेश गरिएको छ। प्रादेशिक मार्गमै ७.९४५ किमी लामो खहरे–थेचम्बु सडक, २७.९६३ किमी लामो दोभान–गुफापोखरी सडक, २१.९६५ किमी लामो हान्द्रुङ–तिदुङ सडक ३३.७३८ किमी लामो सिबु–लेलेप सडक, ३०.४० किमी लामो देउराली–तेल्लोक सडक, फुङलिङदेखि वनझोरङसम्मको २४.४ किमी लामो सडक सञ्जाल पनि प्रादेशिक मार्गमा समेटिएको छ।

यस्तै ३३.३ किमी लामो सुकेटार–गढीडाँडा–फक्ताङलुङ गाउँपालिकासम्मको सडक, १५.७ किमी लामो पालुङ्वा चौक–तिनधारे–हाङदेवा–तमोर करिडोर सडक, ७.९७ किमी लामो कामीडाँडा–महाकाली सिम्बेवा–तिरिङ्गे सडक र पाथीभरा याङ्वरक–डुम्रिसे हुँदै सिकैचा जाने ८.७८ किमी लामो सडक सञ्जाल पनि प्रादेशिक मार्गमा समेटिएका छन्।

प्रादेशिक सहायक लोकमार्ग अन्तर्गत ९६ वटा सडकको कूल लम्बाइ ३ हजार १ सय ६३.५८ किमी र प्रादेशिक मार्ग अन्तर्गत २८९ वटा प्रस्तावित सडकको लम्बाइ ५ हजार ८ सय १५.५० किमी रहेको छ। 

प्रकाशित: ८ पुस २०८१ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App