जापानी खुद्रा व्यापारिक कम्पनी ‘मुजी’को सञ्चालक रयोहिन केइकाकुले ग्राहकका क्रेडिट कार्ड र व्यक्तिगत विवरण सुरक्षित राख्न नसकेको स्वीकार गर्दै माफी मागेको छ।
कम्पनीले बिहीबार टोकियोमा पत्रकार सम्मेलन गरी अनधिकृत पहुँचमार्फत करिब १० लाख ९० हजार क्रेडिट कार्डका विवरण प्रभावित भएको हुन सक्ने जनाएको हो।
कम्पनीका अध्यक्ष सातोशी शिमिजुले डेटा व्यवस्थापनमा कमजोरी रहेको स्वीकार गर्दै भने, ‘हामीले यसप्रति गम्भीर जिम्मेवारी महसुस गर्नुपर्छ। हाम्रो डेटा व्यवस्थापनमा कमजोरी थिए।’
कम्पनीले जुलाई २०२१ सम्म ग्राहकलाई पुरस्कार प्रदान गर्दा पहिचान गर्न प्रयोग हुने मुजी कार्डका पूरा नम्बर सुरक्षित राखेको थियो। पछि अन्य विवरणबाट ग्राहकको पहिचान गर्ने व्यवस्था सुरु गरे पनि पुराना कार्ड नम्बर हटाएको थिएन।
विवरण हटाउने नीति बनाए पनि कार्यान्वयन गर्न नसकेको कम्पनीले जनाएको छ। कार्ड नम्बर सुरक्षित राख्ने काम जानाजानी गरिएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
रयोहिन केइकाकुले अक्टोबर २९ मा अनधिकृत पहुँच भएको पत्ता लगाएको थियो। कम्पनीका अनुसार मुजी एप र अनलाइन स्टोरका प्रयोगकर्तासहित करिब दुई करोड ७२ लाख ६० हजार ग्राहकका विवरण प्रभावित भएको हुन सक्ने देखिएको छ। तीमध्ये करिब सात लाख ५० हजार रेकर्डमा नाम, ठेगाना र फोन नम्बरसमेत रहेको हुन सक्ने बताइएको छ।
यसैगरी, करिब दुई लाख ७० हजार सदस्य खातामा अन्य कम्पनीबाट चुहिएका आइडी र पासवर्ड प्रयोग गरी प्रवेश गर्ने प्रयास भएको थियो। ती खाताका खरिद विवरण र लोयल्टी पोइन्टसमेत पहुँचमा पुगेको हुन सक्ने कम्पनीले जनाएको छ।
मुजीले नोभेम्बर १० देखि प्रभावित ग्राहकलाई इमेल वा हुलाकमार्फत जानकारी दिन थालेको छ। थप सुरक्षा व्यवस्था गर्नुपर्ने भएपछि नोभेम्बर ६ देखि बन्द गरिएको अनलाइन स्टोर पुनः सञ्चालन गर्ने मिति अनिश्चित बनेको छ। सुरुमा एकदेखि दुई दिनभित्र खोल्ने भनिए पनि नोभेम्बर ९ मा थप अनधिकृत लगइन प्रयास भेटिएपछि योजना स्थगित गरिएको थियो।
आवश्यक सुरक्षा व्यवस्था र परीक्षण पूरा भएपछि मात्रै नयाँ मिति घोषणा गरिने कम्पनीले जनाएको छ। स्टोर पुनः सञ्चालन हुँदा ग्राहकलाई पासवर्ड परिवर्तन गर्न लगाइनेछ। तर यस घटनाबाट प्रभावित विवरणको दुरुपयोग भएको पुष्टि भने हालसम्म भएको छैन।
प्रकाशित: २८ कार्तिक २०८३ ०९:२० शनिबार





