७ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

पुनः उत्पादनको तयारीमा हेटौँडा सिमेन्ट

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। उद्योगको उपकरणमर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको जानकारी उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले दिए।

उपकरण मर्मत कार्य पुस १० गतेसम्ममा सकिने र त्यस लगत्तै उत्पादन गर्ने तयारी भइरहेको उनले बताए। ‘उद्योगको क्लिनिकल र मेसिनलगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने,’ हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादनको कार्य सुरु हुने अनुमान गरेका थियौँ तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो।’

उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए। ‘हामीसँग कच्चा पदार्थको कुनै अभाव छैन’, अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ।’

थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ। आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो। यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए। वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो।

प्रकाशित: ७ पुस २०८१ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App