५ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुग्लिन-नौबिसे सडक दिउँसो बन्द हुने

फाइल तस्बिर

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ। सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो।

बिहान ११ देखि दिनको २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका ई.विजय दरइले बताए। उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छन्।

यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिने छन्। यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनने जानकारी दिए।

एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए। रासस

प्रकाशित: ५ पुस २०८१ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App