३ माघ २०८१ बिहीबार
image/svg+xml
अर्थ

लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘नीति संवाद’

लुम्बिनीको पर्यटन प्रवर्द्धनका विषयमा बर्दियामा संघीय सरकार र प्रदेशका सातै प्रदेश सरकारका बीचमा बृहत् छलफल भएको छ। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले नीति संवाद कार्यक्रमको आयोजना  गरेर लुम्बिनीको पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत सातवटै प्रदेशका पर्यटन मन्त्री तथा पर्यटन व्यवसायीहरू छलफलमा सहभागी थिए। उनीहरूले पर्यटन विकासका   लागि सरकारले पर्यटनमैत्री वातावरण निर्माण गरिनु पर्नेमा जोड दिएका थिए।

बाह्य पर्यटकहरूलाई अनावश्यक चेकजाँचका नाममा दु:ख दिने गरिएको भन्दै उनीहरूले पर्यटकहरूलाई प्रहरीबाट हुने यो अनावश्यक चेकजाँचले दु:ख दिइरहेको बताएका थिए। संघ तथा प्रदेश सरकारकाबीच समन्वय गरेर पर्यटकहरूले बेहोर्दै आएको झन्झट अन्त्य गरिनु पर्ने सुझाव दिएका थिए। यसैगरी पर्यटन प्रवर्द्धनका लागि सरकारले पर्यटन नीति अनिवार्य रूपमा बनाउनु पर्नेमा सहभागीले जोड दिए। राज्यको लक्ष्यअनुसार पर्यटकहरू भित्रिन नसकेको भन्दै समस्याकाे पहिचान गरेर समाधानको बाटो खोजिनु पर्ने उनीहरूको जोड थियो।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले मुलुकको पर्यटन विकासका लागि निजी क्षेत्र लगायत सरोकारवालाबीचको गोलमेच सम्मेलन अपरिहार्य रहेको बताए। यो गोलमेच सम्मेलनबाट पर्यटन विकासका लागि ठोस योजना बनाएर अघि बढ्न सकिने मन्त्री पाण्डेकाे भनाइ छ। ‘पर्यटन विकासका लागि अब निजी क्षेत्र र सरोकार राख्ने निकायहरूका बीचमा गोलमेच सम्मेलन अपरिहार्य रहेको छ,’ मन्त्री पाण्डेले भने, ‘आगामी माघमा यो सम्मेलनको तयारी गरेर पर्यटन विकासको ठोस योजना बनाएर अघि बढिने छ।’

यसैगरी उनले  पर्यटन नीति निर्माणको काममा सरकार रहेको भन्दै ऐनको मस्यौदाको काम समेत भैरहेको उल्लेख गरे।

तीन तहका सरकारबीच पर्यटन विकासका लागि समन्वय अपरिहार्य रहेको भन्दै मन्त्री पाण्डेले पर्यटन विकासका सन्दर्भमा पर्यटन मन्त्रालयले समन्वयको काम गरिरहेको जिकिर गरे। ‘पर्यटन विकासका लागि तीन तहकै सरकारका बीचमा समन्वय अपरिहार्य छ,’ उनले भने, ‘म र मेरो मन्त्रालयका तर्फबाट यो समन्वयको काम भैरहेको छ, यसै समन्वयबाट तीन तहका अधिकारका बारेमा जानकारी हुने छ र पर्यटन विकासका सन्दर्भमा निचोडमा पुग्न सकिन्छ।’ यसैगरी पर्यटन विकासका लागि हवाई टिकको मूल्यमा एकरूपता हुनु पर्ने भन्दै मन्त्रालयले यसका लागि पहल गरिरहेको बताए।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन व्यवसाय सञ्चालनका लागि सहज कानुन अपरिहार्य रहेको बताए। ‘कुनै व्यवसायी पर्यटन व्यवसायमा लाग्न खोज्यो भने उसका लागि त्यो व्यवसायमा अगाडि बढ्नका लागि कानुनी बाटो सहज हुनु पर्यो,’ मुख्यमन्त्रीआचार्यले भने, ‘कानुनी प्रकृया जटिल भयो भने कसरी पर्यटन व्यवसाय बढ्छ र पर्यटन प्रवर्द्धन हुन्छ?’ 

प्रदेश सरकारले निर्माण गरेका कानुनहरू व्यवसायीमैत्री नभएको वा व्यवसायमा असहजता भएको भए प्रदेश सरकार यस्ता जटिल कानुन संशोधन गरेर व्यवसायीमैत्री बन्ने उनले बताए। लुम्बिनीमा बाह्य पर्यटकहरू माथि भैरहेको अनावश्यक चेकजाँच अन्त्यको प्रकृयामा सरकार लागि रहेको उनकाे भनाइ छ। ‘सुरक्षा जाँचका नाममा पर्यटकहरूलाई सास्ती दिइनु हुन्न,’ मुख्यमन्त्रीआचार्यले भने, ‘प्रदेश सरकारले एकीकृत सुरक्षा जाँच प्रणाली लागू गर्नका लागि पहल गरिरहेको छ, लुम्बिनीमा पर्यटकहरूलाई अनावश्यक चेकजाँचको झन्झट नहुने वातावरण प्रदेश सरकारले निर्माण गर्ने छ।’

यसैगरी लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटन प्रवर्द्धनका लागि मन्त्रालय लागि परेको भन्दै संघीय सरकार तथा  स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन विकासमा लागिने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशको पर्यटन विकासका विषयमा गरेका कामका बारेमा जानकारी गराएको थियो। साथै अन्य प्रदेशका पर्यटन मन्त्रीहरूले आआफ्नो प्रदेशमा भएका पर्यटकीय गतिविधिका बारेमा जानकारी गराएकाथिए। पर्यटन व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि स्पष्ट नीति आवश्यक रहेको भन्दै सरकारलाई यो नीति निर्माण गरिदिन आग्रह गरेका थिए।

प्रकाशित: ४ पुस २०८१ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App