अहिलेसम्मको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा भित्रिएका थिए। सरकारी तथ्यांक अनुसार त्यो वर्ष नेपालमा सबैगरि ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। तर, कोरोना भाइरस संक्रमणले गर्दा त्यसपछिको आगमन एकाएक खस्किदाँ पर्यटन क्षेत्र सुनसान झै भएको थियो। सरकारको तथ्यांक अनुसार अहिलेसम्म सन् २०१९ को विदेशी पाहुना आगमन नै अहिलेसम्मको बढी हो।
कोरोना संक्रमणको त्रासका कारण बारम्बार लकडाउन गरिँदा सन् २०२० लागेदेखि नै पर्यटक आगमन प्रभावित हुन थालेको थियो। नेपालमा मात्र नभई पर्यटक भित्रिने अन्य मुलुकमा पनि लकडाउनको समय फेरबदल भईरहँदा पाहुना आगमन प्रभावित भएको थियो। त्यही प्रभावको कारण सन् २०२० मा आगमन खस्केर २ लाख ३० हजार ८५ मा झरेको थियो। सन् २०२० को सुरुवातीका दुइ महिना (जनवरी र फेब्रुअरी) मा नेपालमा पर्यटक आगमनमा गिरावट आउन थाल्दै गर्दा पनि उत्तिसारो प्रभाव परेको थिएन। तर, २०२० को मार्चपछि आगमन भने निकै नै खस्कँदै जान थालेको थियो।
२०२० को अप्रिलमा लकडाउन हुँदा त्यो महिनाको आगमन दुइअंक (१४) जनामा झरेको थियो। नेपालमा पर्यटकको तथ्यांक राख्न थालेदेखिको सबैभन्दा कम आगमन नै त्यही थियो। कोरोना संक्रमणले पाहुना आगमन खस्केसँगै पर्यटन क्षेत्र निकै नै सुस्ताएको थियो। संक्रमणको त्रास रहिरहँदा सन् २०२१ मा नेपालमा सबैगरि १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना भित्रिएका थिए। २०२१ अक्टोवरपछिको आगमन बल्ल पाँच अंकमा उक्लेको थियो। सन् २०२२ मा भने नेपालमा विदेशी पाहुनाको आगमन ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो। त्यो आगमन अघिल्लो वर्ष (२०२३) १० लाख १४ हजार ८ सय ८२ पुगेको थियो।
अन्तर्राष्ट्रिय पर्यटकको विश्वव्यापी आगमनलाई नियालिरहेको यूएन टुरिजमले पनि अहिलेसम्मको आगमनमा २०१९ को तथ्यांकलाई सर्वाधिक मानेर विश्लेषण गर्ने गरेको छ। यूएन टुरिजमका अनुसार २०१९ को आगमनपछि कोरोना संक्रमणले पर्यटन क्षेत्रलाई असर परेको र त्यसपछिका वर्ष पर्यटन क्षेत्र रिकभर हुने क्रममा २०२४ को सेप्टेम्बरसम्म आउँदा ९८ प्रतिशत रिकभर भएको उल्लेख गरेको छ।
यूएन टुरिजमका अनुसार २०१९ को आगमन संख्याको तुलनामा २०२० मा २८ प्रतिशत मात्र विश्वव्यापी पर्यटक आउजाउ भएको थियो। त्यो आकार २०२१ मा ३१ प्रतिशत पुगेको थियो। २०२२ मा भने थप सुधारिएर ६७ प्रतिशत भएको थियो। पर्यटक आगमनमा सुधार हुँदै जाँदा २०२३ मा ८९ प्रतिशत र २०२४ को सेप्टेम्बरसम्मको अवधिमा ९८ प्रतिशत रिकभर भएको यूएन टुरिजमले बताएको छ।
विश्वव्यापी रुपमा पर्यटक क्षेत्रमा कोभिडको प्रभाव कम हुँदै जाँदा नेपालमा पनि आगमन बढ्दै जाँदा नेपालमा सन् २०२४ को नोभेम्बरसम्मको आगमनमा ९६.३ प्रतिशत रिकभर भएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्।
‘२०१९ लाई सतप्रतिशत मानेर विश्लेषण गरेको र त्यसपछिका वर्ष आगमन खस्किँदै जाँदा पर्यटन क्षेत्र प्रभावित भएको थियो। त्यो आगमन अहिले ९६.३ प्रतिशत सुधार भएको छ,’ लामिछानेले भने, ‘विश्वव्यापी रुपमा पर्यटन क्षेत्रको गतिविधि बढ्दा नेपालमा पनि त्यसको प्रभाव परेको छ।’
कोरोना संक्रमण सुरु हुँदाकै ताका पर्यटन क्षेत्र पहिलेकै अवस्थामा (२०१९ अघि) फर्किन केही वर्ष लाग्ने त्यो समय २०२४ अन्तिम हुने अपेक्षा गरेको थियो।
‘२०२४ मा नेपालको पर्यटन पहिलेकै आकार नाघेर थप सुधार हुने अपेक्षा गरेका थियौ। तर, यही वर्ष भएका केही घटनाक्रमका कारण आगमन प्रभावित हुँदा लक्ष्य भेट्न सक्ने अवस्था रहेछ,’ लामिछानेले भने, ‘२०१९ आगमन कटाउन २०२५ पर्खिनुको विकल्प रहेन। अर्काे वर्ष मात्र नेपालको पर्यटक आगमनले बल्ल २०१९ को रेकर्ड ब्रेक गर्नेछ।’ उनको अनुमानमा नेपालको अहिलेसम्मको आगमन र यो वर्षको सम्भावित आगमन संख्यालाई विश्लेषण गर्दा २०२४ मा ९५ प्रतिशत मात्र सुधार हुनेछ।
‘२०१९ को तुलनामा नेपालमा योवर्ष सम्म ९५ प्रतिशत मात्र रिकभर हुने देखिएको छ। किनकी नेपालमा पछिल्लो चारमहिनादेखिका घटनाक्रमका कारण विदेशी पर्यटकको आगमन प्रभावित भएको र त्यसले गर्दा सोचेजस्तो हुन सकेन,’ उनले भने। लामिछानेका अनुसार नेपालमा पछिल्लो समय भएका हवाई र स्थल दुर्घटना, बाढिपहिरोको प्रभाव लगायतका कारण आगमन प्रभावित भएको थियो। त्यसबाहेक पछिल्लो समय पर्यटन आउजाउ गर्ने मुख्य नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरवृद्धि लगायतले उडान प्रभावित हुँदा पनि पर्यटक आउजाउमा प्रभाव परेको उनले बताए।
‘अगष्टपछिको हरेक महिना आगमन खस्केको छ। पछिल्ला चार महिनाको आगमनमा करिब ४० हजार संख्या कम भयो। यो डिसेम्बरमा पनि सोचेजस्तो आगमन हुने देखिएको छैन,’ उनले भने,‘नेपालमा घटना नभएको भए योवर्ष नै आगमनले नयाँ रेकर्ड बनाउने थियो। तर, त्यो हुन सकेन।’
उनका अनुसार सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख २५ हजारको संख्यामा मात्र पर्यटक भित्रिने अपेक्षा छ। लामिछानेका अनुसार क्षेत्रगत रुपमा पनि पर्यटनमा सुधार आएको छ। मध्यपूर्वको पर्यटनमा २०१९ को तुलनामा २९ प्रतिशत सुधार भइसकेको छ। त्यस्तै यूरोपमा पनि एकप्रतिशत मात्र रिकभर भएको छ। अफ्रिकाको पर्यटनमा थप ६ प्रतिशत सुधार भएको छ। अमेरिकाको पर्यटन अझै ३ प्रतिशत कम रहेर ९७ प्रतिशतमा रोकिएको छ। त्यस्तै एशियाको पर्यटन क्षेत्र अहिलेसम्म ८५ प्रतिशत मात्र सुधार भएको छ।
‘नेपालले चिनियाँ पर्यटकको जुन आकारमा अपेक्षा गरेको थियो, त्यो हुन सकेन,’ लामिछानेले भने, ‘त्यसले गर्दा पर्यटक आगमनले नेटो काट्न नसकेको हो।’ उनका अनुसार सन् २०१९ को आगमनको संख्याको १४ प्रतिशत संख्या चिनियाँ पाहुनाको थियो। तर, त्यो संख्या अहिले ९ प्रतिशत मात्र रहेको छ। ‘चिनियाँको आगमन बढ्न नसक्दा पनि नेपालको लक्ष्य पुरा हुन सकस भएको हो। त्यसबाहेक विभिन्न मुलुकमा भएको युद्ध, अर्थतन्त्रका गिरावट, मौसमी अवरोध, जलवायु परिवर्तनको असर, हवाई भाडामा वृद्धि लगायतका कारणले पर्यटक आउजाउ प्रभावित भएको पनि निर्देशक लामिछानेले बताए।
पर्यटन क्षेत्र पनि पर्यटक आगमन सोचेजस्तो हुन नसकेको बताउँछन्। सिजनको बेलामा पनि नेपालमा सोचेको आकारमा पर्यटक नभित्रिएको उनीहरु बताउँछन्। ‘मुख्य सिजनको अनुभव पनि गर्न सकिएन। किनकी आगमन सोचेजस्तो हुन सकेन,’ होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माले भने, ‘संख्यात्मक रुपमा आगमन देखिएपनि पोखराले त्यो अनुभव गर्न नसकेकै हो।’ व्यावसायीले कोरोनाको असर २०२४ सम्म रहने आफुहरुको सुरुवाती आँकलन रहेको पनि उनले बताए।
प्रकाशित: २७ मंसिर २०८१ १७:५१ बिहीबार