२ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटक आगमन: १३ लाख २० हजारको लक्ष्य कठिन

यो वर्ष बढिमा ११ लाख पर्यटकः बोर्ड

पर्यटन बोर्डले सन् २०२४ मा नेपालमा १३ लाख २० हजार हाराहारीमा विदेशी पाहुना आउने वर्षको सुरुवातमा अनुमान गरेको थियो। यसअघि नेपालमा सबैभन्दा बढी २०१९ मा झन्डै १२ लाख विदेशी पाहुना भित्रिएका थिए। सबैभन्दा बढी पाहुना भित्रिएको वर्ष (२०१९) को आगमन संख्याको कम्तिमा १० प्रतिशत पाहुना योवर्ष बढ्न सक्ने सुरुवाती आँकलन बोर्डको थियो। त्यही आँकलन अनुसार बोर्डले १३ लाख २० हजारको लक्ष्य अनुमान गरेको थियो।  

तर, पछिल्लो समय घटेका विपद्का घटनाक्रम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाइनु, चिनियाँ बजार सुस्ताउनु लगायतका कारणले विदेशी पाहुनाको आगमन प्रभावित हुँदै जाँदा योवर्ष सर्वाधिक पर्यटक भित्र्याउने लक्ष्य पुरा हुन कठिन रहेको बोर्डको भनाई छ।

बोर्डका निर्देशक मणिराज लामिछानेले २०१९ को आगमनको कम्तिमा १० प्रतिशत बढी पाहुना यो वर्ष भित्र्याउने बोर्डको लक्ष्य पुरा हुन कठिन रहेको बताए। यो वर्ष अब डेढमहिना मात्र बाँकी रहकोले सोचेजति पाहुना आउन नसक्ने उनले बताए।

‘बोर्डले वर्षको सुरुवातमा १३ लाख २० हजार विदेशी पाहुना भित्र्याउने अनुमान गरेको थियो। विश्वव्यापी पर्यटन वृद्धि हुने क्रममा नेपालमा पनि योवर्ष २०१९ को तुलनामा कम्तिमा १० प्रतिशत आगमन बढ्ने अनुमान गरिएको हो,’ उनले भने, ‘तर, त्यो लक्ष्य पुरा नहुने पक्का जस्तै भएको छ।’ पर्यटन सम्बद्ध विभिन्न अन्तर्राष्ट्रिय निकायले २०२४ मा २०१९ को तुलनामा कम्तिमा १० प्रतिशत पर्यटक वृद्धि हुने अनुमान गरेका थिए। त्यही अनुमान अनुसार बोर्डले पनि लक्ष्य निर्धारण गरेको भएपनि पछिल्ला घटनाक्रमले त्यो पुरा हुने अवस्था नरहेको उनले बताए।  

‘सन् २०२४ मा नेपालमा ११ लाख भन्दा बढी संख्यामा विदेशी पाहुना भित्र्याउन सकस छ,’ उनले भने, ‘सोचेको भन्दा फरक परिस्थितिका कारण बोर्डको अनुमान मेल खान नसक्ने अवस्था आएको हो।’ 

पर्यटन बोर्डका अनुसार नेपालमा यो वर्षको १० महिनाको अवधिमा सबैगरि ९ लाख ४१ हजार ३२ जना विदेशी पाहुना भित्रिएका छन् । सन् २०१९ को यही अवधिमा नेपालमा ९ लाख ६६ हजार २३ जना विदेशी पाहुना भित्रिएका थिए। अघिल्लो वर्ष भने यही अवधिमा ८ लाख ९ हजार जना विदेशी पाहुना नेपाल आएका थिए।

लामिछानेका अनुसार योवर्ष अपेक्षा गरे अनुसार चिनियाँ पाहुना भित्रिएनन्। नेपालको पर्यटन क्षेत्रले चिनियाँ र भारतीय पर्यटनसँग निकै नै अपेक्षा गर्छ। तर, योवर्ष चिनियाँ पर्यटक सोचे अनुसार भित्रिएनन। भारतीय पछि चिनियाँ पाहुनाको आगमन संख्या ठूलो हुनुपर्नेमा त्यो आकार निकै नै पछाडि रहेको उनले बताए। बोर्डको तथ्यांक अनुसार गत अगष्टमा चिनियाँ पाहुनाको नेपालमा आगमन दोश्रो नम्बरमा थिया। तर, त्यो आगमन खस्किँदै जाँदा सेप्टेम्बरमा तेश्रो नम्बरमा झरेको थियो। अक्टोवरमा त अझै पछाडि चौथो नम्बरमा चिनियाँ आगमन संख्या छ।  

‘चीनबाट अपेक्षा गरे अनुसार पाहुना आएनन्। चीनको अर्थतन्त्र सुस्ताउन पुग्दा केही असर परेको अनुमान छ,’ उनले भने, ‘भारतीयपछिको चिनियाँ पाहुनाको आगमन बढी हुनुपर्ने हाम्रो बुझाई थियो। तर, त्यो अपेक्षा मेल खाएन। पछिल्लो समय त चिनियाँको आगमन अझै खस्किँदै गयो।’  

त्यसबाहेक गत अक्टोवरमा नेपालमा १ लाख २४ हजार ३ सय ९३ जना मात्र विदेशी पाहुना भित्रिए। पर्यटन क्षेत्रले यो आकार झन्डै डेढलाख हाराहारीमा हुने सुरुवाती अनुमान गरेको थियो। तर, त्यो आगमन पनि मेल नखाँदा आकार अझै खस्केको लामिछानेको भनाई छ।  

‘पर्यटनले लिएको गति गत जुलाई पछि बिग्रन थालेको हो। त्यो गति पछिल्लो समय अझै बिग्रिँदै गयो। घटनाक्रम पनि त्यही अनुसार थपिँदै गए। कहिले हवाई त कहिले स्थलमार्गमा दुर्घटना, अनि कहिले प्राकृतिक विपद्ले पनि पाहुना आगमनमा अवरोध सिर्जना गरेको हो,’ उनले भने। 

उनका अनुसार भारतीय पर्यटकको आगमन पछिल्लो समय घट्दै जाँदा पनि बोर्डको लक्ष्य भेट्न झनै मुस्किल परेको हो।  पछिल्ला केही महिनादेखि भारतीय पाहुनाको आगमन खस्किदै गएको छ। गत अगष्टमा नेपालमा झन्डै २६ हजार भारतीय पर्यटक आएका थिए। त्यो आगमन खस्केर सेप्टेम्बरमा २३ हजार हाराहारीमा झरेका थिए। अक्टोवरमा त झनै कम १६ हजारमा आगमन खस्केको थियो। ‘अक्टोवरमा त भारतीय आगमन निकै नै ओरालो लाग्यो। भारतीयकै हाराहारीमा अमेरिकी पाहुना आएका थिए,’ उनले भने, ‘भारतीय पाहुना नेपाल आउनै तर्सेका छन्। ’  

नेपालमा भएको भारतीय बस दुर्घटना, त्यसपछि राजमार्गमा पहिरोले यात्रुबाहक सवारी बगाउनु, विपद्का कारण यात्रा असुरक्षित हुनु, त्यस्तै पछिल्लो समयको प्राकृतिक विपद्ले यात्रालाई अझै अनिश्चित बनाउँदा भारतीय पाहुना प्रभावित भएको उनले बताए। ‘गत जनवरीमा नेपालमा भित्रिएका विदेशी पर्यटक मध्ये ३२ प्रतिशत भारतीय थिए। तर, त्यो आगमन खस्किँदै जाँदा अक्टोवरमा नेपालमा भित्रिएका पाहुनामध्ये जम्मा १३ प्रतिशत मात्र भारतीय थिए। ‘जुलाई पछि खासगरि भारतीय पाहुनाको आगमन खस्केको हो,’ उनले भने।  

त्यसबाहेक बंगलादेशका पाहुनाको आगमनमा पनि पछिल्लो समय त्यहाँको राजनीतिमा केही अप्ठेरो अवस्था आउँदा प्रभावित भएको लामिछानेले बताए। सबैभन्दा बढी प्रभावित त अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि कटौती हुँदा नोभेम्बरको आगमनमा प्रभाव परिसकेको उनले। विमानस्थल संचालन समय कटौती गर्दा हवाई उडान प्रभावित भएसँगै पाहुना आगमन पनि स्वतः घट्ने निश्चित रहेको उनले बताए।  

‘विमानस्थलका कारण ३० प्रतिशत उडान कटौती हुँदा ४० प्रतिशत बढी आगमन प्रभावित हुन्छ,’ लामिछानेले भने, ‘हवाई उडान त कटौती भएकै छन। त्यसबाहेक भईरहेका उडानको पनि हवाई भाडा बढ्दा त्यसले पनि आगमनमा प्रभाव पार्न थालेको छ।’  

यो वर्षका लागि बाँकी रहेको दुइ महिना (नोभेम्बर र डिसेम्बर)मा बढीमा डेढलाख मात्र पर्यटक आगमन हुने अपेक्षा बोर्डको रहेको उनले बताए। ‘हवाई उडान पनि पर्याप्त छैनन। हवाई टिकट पनि महंगो परेको छ। त्यसले गर्दा सिजन प्रभावित हुने पक्का भएको छ,’ उनले भने, ‘अक्टोवर र नोभेम्बरमा पोहोर जति पनि पाहुना आउने सम्भावना छैन। यी दुई महिना अघिल्लो वर्ष २ लाख ५ हजार विदेशी पाहुना आएका थिए। त्यो आगमनमा यो वर्ष कम्तिमा पनि ३० प्रतिशत घटनेछ। त्यसले गर्दा बोर्डको सुरुवाती लक्ष्यसँग मेल नखाने पक्का छ।’

पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न सरकारले प्याकेज दिएपनि अहिलेसम्म पोखरामा कुनैपनि अन्तर्राष्ट्रिय हवाई कम्पनि आकर्षित भएका छैनन। तर, भैरहवामा भने पाँचवटा हवाई कम्पनिले उडान थालेका छन्। उडान सुरु भएपनि ती अन्तर्राष्ट्रिय उडानबाट अहिल्यै भैरहवामा विदेशी पाहुना आउन थालिसकेका भने छैनन। ‘अहिले नै भैरहवामा खचाखच विदेशी पाहुना आउने अपेक्षा गर्नु हुँदैन। केही समयमै त्यसको आकार देखिन्छ, त्यसैले यो वर्षको आगमनमा सकारात्मक प्रभाव पार्ने थप कुनै आधार देखिन्न,’ लामिछानेले भने।  

प्रकाशित: २८ कार्तिक २०८१ १७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App