२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अघिल्लो वर्ष सातवटा, यो वर्षको पहिलो उडान विहीबार

एउटा अन्तर्राष्ट्रिय उडान थपिन वर्षदिन

पोखरामा पोहोर अवरण गरेको सिचुआन एयरलाइन्सको जहाज। फाइल तस्बिरः नागरिक

झन्डै एकवर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि चिनियाँ जहाज आउने भएको छ। पोखरामा हुन लागेको तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडका सहभागि सहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्सको जहाज पोखरा आउन थालेको हो। चीनको कुन्मिङबाट उडेको जहाज बिहिबार दिउँसो २ बजेर ४० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।  

यसअघि सन् २०२३ नोभेम्बर २३ मै हिमालय एयरलाइन्सको जहाज पोखरा आएर फर्केदेखि पोखरामा अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय उडान भएका थिएनन्। हिमालयनले त्यो बेला चीनबाट ९५ जना यात्रु पोखरा ल्याएको थियो। विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीका अनुसार झन्डै एकवर्षपछि चार्टर गरिएको जहाज विहीबार पोखरा आउन थालेको हो।

उनका अनुसार चीनको कुनमिङबाट उडेको जहाज विहीबार दिउँसो पोखरामा अवतरण गरेको झन्डै २ घण्टापछि दिउँसो ४ बजेर १० मिनेटमा काठमाडौंका लागि उडान भर्नेछ । जहाज फर्किदा भने रित्तै जानेछ। विमानस्थलकै एकजना उच्च अधिकारीका अनुसार पोखरामा हुने प्रतियोगिताका सहभागि लिएर आउन थालेको जहाजको तिनै सहभागिलाई लिन पुन पोखरा आउने तालिका भने रहेको छैन।  

सुवेदीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछिको यो आठौं उडान हो। ‘अंग्रेजी नयाँवर्ष २०२३’ को पहिलो दिन पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको थियो। त्यसपछि सन् २०२३ मा सबैगरि ७ वटा मात्र उडान भएका थिए। विमानस्थल संचालनको पहिलो दिन हिमालयन एयरलाइन्सले डेमो उडान गरेको थियो। त्यसपछि सिचुआनले नै २०२३ जनवरी २१ मा पोखराका लागि पहिलो उडान गरेको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित अवतरण गरेको सिचुआनको त्यो नै पहिलो उडान थियो। फेवातालमा आयोजित ड्रागन बोटरेस फेस्टिभलमा सहभागि हुन आउने ८४ जना चिनियाँ पाहुनालाई लिएर सिचुआनको जहाज पोखरा ओर्लिएको थियो। त्यसपछि सेप्टेम्बर ९ मा  भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ड्रुक एयरको जहाज पोखरा अवतरण गरेको थियो। ड्रुकले पोखरा आउँदा ३ जना यात्रु ल्याएको थियो भने फर्किँदा ४२ विदेशी यात्रु लिएर उडेको थियो। ड्रुकको अवतरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक उडान पनि भनेको छ।

गत नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चिनका दुइवटा कार्गाे जहाज पोखरा ओर्लिएका थिए। ती बाहेक हिमालयन एयरलाइन्सले अरु तीनवटा उडान पोखराका लागि गरेको थियो। सन् २०२३ मा पोखराका लागि जम्मा सातवटा अन्तर्राष्ट्रिय उडान भएका थिए। सबैगरि २१५ जना यात्रु पोखरा ओर्लेको र ८१ जना पाहुना पोखराबाट बाहिरिएका थिए। त्यसबाहेक विमानस्थलबाट अरु कुनैपनि उडान भएका थिएनन्।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एकवर्षपछि अन्तर्राष्ट्रिय उडानको चार्टड जहाज पोखरा आउन थालेको हो,’ विमानस्थल प्रवक्ता सुवेदीले भनिन, ‘आन्तरिक उडान भने नियमित भईरहेको छ। तर, अन्तर्राष्ट्रिय उडानका लागि भने जहाजको तत्कालको कुनै तालिका छैन। अघिल्लो वर्ष सातवटा अन्तर्राष्ट्रिय उडान भएपनि यो वर्षको पहिलो उडान विहीबार हुँदैछ।’

पोखरामा हुने प्रतियोगिताका मिडिया संयोजक प्रतीक पहारीका अनुसार विभिन्न चारवटा विधामा दौड हुनेछन्। टिम ग्रुप रेस, च्यालेन्जिङ इन्डिभिजुअल रेस, विद्यार्थी रेस र ह्याप्पी रनरेस हुनेछ। टिम ग्रुप रेसको दूरी ५० किलोमिटर हुनेछ। यसमा व्यावसायिक धावक पनि सहभागि हुनेछन । त्यस्तै च्यालेन्जिङ इन्डिभिजुअल ग्रुपको दूरी पनि ५० किलोमिटर नै हुनेछ। विद्यार्थी दौड ५ किलोमिटर दूरीको हुनेछ भने २ किलोमिटरको ह्याप्पी रनरेस पनि हुने उनले बताए।  

पहारीका अनुसार यहि प्रतियोगिताका लागि भनेर विदेशी र स्वदेशी धावकहरु पोखरा आउनेछन। यसअघि नै म्याराथन दौडेका धावकहरु पनि सहभागि हुने उनले बताए। चीनबाटै दौड्नैका लागि भनेर पनि धावकहरु पोखरा आउने उनले बताए। पर्यटन क्षेत्र र नगरहरुबीचको मित्रतालाईं यसले अझ बलियो बनाउने पनि संयोजक पहारीले बताए।

पोखरा र चीनको कुन्मिङबीचको सम्बन्धलाई बलियो बनाउन समेत यो कार्यक्रमले अझ  सहयोग गर्ने पनि उनले बताए। चीनको कुन्मिङ सहरका उच्च पदाधिकारी समेत पोखरा आउने हुँदा यसले पोखरामा चिनियाँ पर्यटन प्रवद्र्धनमा समेत सघाउने उनको अपेक्षा छ। पोखरामा हुने कार्यक्रमलाई नेपालस्थित चिनियाँ दुतावास, पर्यटन बोर्ड लगायतले पनि सघाएका छन्।

प्रकाशित: २१ कार्तिक २०८१ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App