गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर १ स्थित बुटारमा पर्ने १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत आयोजनाको काम २० प्रतिशत सकिएको छ।
चार वर्षभित्र सक्ने गरी निर्माण थालेको ब्लु इनर्जी प्रालीले डेढ वर्ष सकिँदा २० प्रतिशत मात्र कामको प्रगति भएको जनाएको छ।
सुपर त्रिशूली जलविद्युत आयोजनाका जिओ टेक्निकल प्रमुख तथा वरिष्ठ इन्जिनियरिङ भुगर्व शास्त्री दिप्य राज पन्तका अनुसार कामको प्रगति असोजमा त्रिशूलीमा आएको बाढीको कारण लक्ष्यअनुसार हुन सकेको छैन। अहिलेसम्म २५ प्रतिशत प्रगति हुनुपर्ने हो। यद्यपि तीन वर्षभित्र आयोजनाको काम सम्पन्न हुने पन्तले जानकारी दिए।
अहिले ड्याम बनाउनका लागि त्रिशूलीको पानी सुकाउने काम भइरहेको छ। केही दिनमा पानी सुकाएर ड्यामको काम सुरु हुने उनले बताए। यसअघि बिद्युत गृह निर्माणका लागी जग खन्ने काम, गोरखाको गण्डकी गाउँपालिका (बुटार) र चितवनको इच्छाकामना गाउँपालिका (चुम्लिङटार) जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज बनिसकेको छ।
सुपर त्रिशूली जलविद्युत आयोजना, सुरुङमार्ग निर्माण नगरी नदी प्रवाह (रन अफ रिभर) मा आधारित नेपालको यो नै पहिलो जलविद्युत आयोजना रहको आयोजनाको दाबी छ। २४ दशमलव ५ मिटर उचाइ उठाएर ड्याम बनाउने उनले बताए। ड्यामको फेदमै पावर हाउस निर्माण हुनेछ। ३३ दशमलव ३ वाटका तीन वटा युनिट निर्माण हुनेछन्।
‘जलविद्युतको पानीको सतहले साढे तीन किलोमिटरसम्म रनअफ हुन्छ। पानीको सतहलाई रोक्नको लागि १४ बाई १२ मिटरका पाँच वटा गेटसमेत बन्दैछन्। यी गेट स्वचालित हुन्। पानी आएपछि आफै गेटका ढोका खुल्ने छन्’, उनले भने ‘ठुलो बाढी आएको जानकारी दिनका लागि बेनीघाटमा मेसिन समेत राखेका छौँ।’ बेनीघाटबाट इच्छाकामना गाउँपालिका तीन र गण्डकी गाउँपालिकाको वडा नम्बर १ स्थित निर्माणाधीन स्थलमा पानी आइपुग्न डेढ घण्टा लाग्ने उनले बताए।
त्रिशूलीमा प्रतिसेकेन्ड ९ हजार ८ सय क्यूसेक क्षमताको ड्याम निर्माण गरिने उनको भनाई छ। यहाँ अहिलेसम्म पर सेकेण्ड ५ हजार क्यूसेकसम्मको मापन गरिएको छ। हाल त्रिशूलीमा प्रतिसेकेन्ड ६ सय क्यूसेक पानी रहेको छ।
निजी व्यक्तिको ४० रोपनी र सरकारी जमिन २२ सय हेक्टर जमिन खरिद गरेर आयोजना सञ्चालन गर्न लागिएको हो। करिब १६ अर्ब लगानीमा निर्माण हुन लागेको आयोजना ३५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने हुनेछ। यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ। हाललाई तनहुँको खैरहनी स्थित मार्की चोकको प्रसारण लाइनमा जडानको सहमति भएको छ। आयोजना बनेपछि स्थानीयले बहुपक्षीय लाभ लिन सक्नेछन्।
डेढ वर्षअघिदेखि निर्माणको काम थालेको यो आयोजनाले सन् २०१०देखि सन् २०१८सम्म स्थलगत अध्ययन गरेको थियो। वातावरण प्रभाव मूल्याङ्कनको अनुमति पाएपछि कम्पनीले विश्व बैंक ग्रुपको संस्था ईन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आईएफसी)को आर्थिक सहयोगमा निर्माण थालेको हो।
वातावरणीय प्रभाव मूल्याङ्कन, ग्रिड कनेक्सन एग्रिमेन्ट र लगानीको लागि ऋण सम्झौता भएपछि २०२३ मार्च १६ मा सम्झौता भएर काम अघि बढेको उनले बताए।
प्रालिले सन् २००९ सालमै सर्भे लाइसेन्स लिएको थियो। सन् २०१५को भूकम्प अगाडि टेन्डर निकालेर चाइनिज कम्पनीलाई काम दिइएको थियो। तर, कोरोनाका कारण चाइनिज कम्पनीले काम सम्पन्न गर्न सकेन। त्यसपछि अन्तर्राष्ट्रिय कम्पनी एसएनसी लेभलिङले यस परियोजनाको काम अध्ययन अगाडि बढाएको उनले बताए। अहिले भारतीय कम्पनी ट्रयाटेबल इन्जिनियरिङ कम्पनीले कन्स्ट्रक्सन काम हेरिरहेको छ।
माछालाई आवतजावतमा अवरोध नहोस् भन्ने उद्देश्यले बाँधमा माछाको भ¥याङको व्यवस्था समेत गरिने उनले बताए। पाँच वटा बाधमध्ये एउटामा माछाको भ¥याङको व्यवस्था राखिने छ।
बाढीले १५ करोडको क्षति
गत असोजमा आएको बाढीको कारण सुपर त्रिशूली जलविद्युत आयोजनामा १५ करोड हाराहारीमा क्षति पुगेको बताइएको छ। जिओ टेक्निकल प्रमुख पन्तका अनुसार, भौतिक तथा निर्माण सामाग्री गरी १५ करोड बराबरको क्षति पुगेको हो। उनका अनुसार तीन वटा टिपर, दुइटा एक्साभेटर, गिट्टी, बालुवा कुट्ने मेसीन र निर्माण सामग्री त्रिशूलीले बगाएर लागेको छ। त्यस्तै जलविद्युत निर्माणका लागि तयार पारिएको भौतिक संरचनामा समेत क्षति पुगेको उनकाले बताए।
प्रकाशित: १२ कार्तिक २०८१ १८:२३ सोमबार