४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

पुँजीगत खर्च ६५ प्रतिशतले वृद्धि

मुलुकको अर्थतन्त्रमा सुधारका संकेत देखिएको अर्थ मन्त्रायले जनाएको छ। अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्र भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।  

पुँजीगत खर्च गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ६५ प्रतिशतले वृद्धि भएको छ भने राजस्व सङंकलन गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ। चालु आवका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ विनियोजन भएकोमा तीन महिनामा २९ अर्ब ४५ करोड रूपैयाँ खर्च भएको छ।यो कुल विनियोजित रकमको ८.३६ प्रतिशत हो । यसैगरी, विदेशी मुद्राको सञ्चिति हालसम्मको उच्च २१ खर्ब ५२ अर्ब रूपैयाँ रहेको छ।

रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ भने व्याजदर घटेर औषत ६.१५ प्रतिशतमा सीमित भएको छ।  

मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्रिक्रेडिट रेटिङको तयारी पूरादेखि संघीय संसदमा विधेयक पेस गर्नेसम्म उल्लेख छन्।

अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको बताउँदै तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको दाबी गरे। गत वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च र राजस्व संकलनमा वृद्धि भएको, व्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पुँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति बढेको, रेमिट्यान्स वृद्धि भएको उनको भनाइ छ।

वर्तमान सरकार गठन भएको दुई महिनापछि विश्व बैंक, एसियाली विकास बैंक, आइएमएफ लगायतले नेपालको अर्थतन्त्र सुधारउन्मुख भएको बताएका थिए ।गत असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरी बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाइएको, बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा गरिएको, मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोलीगठन गरी परिचालन गरिएको विषयलाई उपलब्धिका रूपमा राखिएको छ।  

त्यसैगरी, अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ) को कार्य अगाडि बढाई प्रतिवेदन प्राप्त गर्ने चरणमा रहेको, नयाँ बिमा नियमावली, २०८१ तर्जुमा गरी मन्त्रीपरिषद्मा पेश गरेको, साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८१ मन्त्रीपरिषद्मा पेश गरेको, आन्तरिक राजस्व परिचालन रणनीति २०८१ स्वीकृत गरी कार्यान्वयन गरिएको, भन्सार मूल्यांकनलाई यथार्थ कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागु गरेको अर्थ मन्त्रालयले जनाएको छ।  

त्यसैगरी, मन्त्रालयले सार्वजनिक गरेका प्रगतिमा भन्सार महसुल नियमावली, २०८१ तर्जुमा गरी मन्त्रीपरिषद्मा पेश गरेको, सार्वजनिक संस्थानमा ऋण तथा लगानी सम्बन्धी नीति तर्जुमा, आन्तरिक ऋण निष्कासन तथा व्यवस्थापन कार्यविधि तयार गरी कार्यान्वयन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को संशोधन, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु, विरगञ्ज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयमा ल्याव मोड्युल सुरु, भन्सार प्रज्ञापनपत्रको मुख्य–मुख्य चरणको जानकारी निकासी तथा पैठारीकर्तालाई इमेलमार्फत जानकारी गराउने प्रणाली सुरु गर्ने कार्यलाई उपलब्धिका रूपमा राखिएको छ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण कार्य, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१ तर्जुमा, हस्तान्तरण मूल्य सम्बन्धी निर्देशिका, २०८१ तर्जुमा, वार्षिक २५ करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने चार सयभन्दा बढी करदाताको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध, अन्तःशुल्क चुहावट नियन्त्रणका लागि मदिरा, बियर, चुरोट, सुर्तीजन्य वस्तु, इनर्जी ड्रिंक्स र जुसको व्यावसायिक उत्पादन गर्ने एक सयभन्दा बढी उद्योग प्रतिष्ठानको स्थलगत निरीक्षण, बहुवर्षीय ठेक्का प्रक्रियालाई थप व्यवस्थित र कार्यान्वयन योग्य बनाउन पहल, योजनाहरूको प्राथमिकीकरण गरी बजेट विनियोजन तथा कार्यन्वयनलाई थप प्रभावकारी बनाउने कार्य, दोस्रो वित्तीय क्षेत्र रणनीति निर्माणको कार्य प्रारम्भ, विकास सहायता सम्बन्धी नयाँ नीति तर्जुमा, नयाँ बजेट तर्जुमा दिग्दर्शन तर्जुमा गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App