२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

दसैंलाई उपत्यकामा ५० हजार खसीबोका

काठमाडौंको कंलकीस्थित खसी बजारमा ट्रकबाट च्यांग्रा ओरालिँदै। तस्बिर: दिपेश दर्शनधारी/नाग

दसैं नजिकिँदै जाँदा उपत्यकामा खसीबोका ल्याएर बिक्री वितरण सुरु भएको छ। व्यवसायीले मुलुकका विभिन्न जिल्लाबाट दैनिक धमाधम खसी, बोका, च्यांग्रा उपत्यकामा ल्याइरहेका छन्। यो वर्षको दसैंमा करिब ५० हजार खसी, बोका, च्यांग्रा उपत्यका भित्रिने चौपाया खरिद बिक्री बधशाला सेन्टरले जनाएको छ।

दसैंमा मासुको धेरै खपत हुने भएकाले अन्य समयको तुलनामा खसीबोका धेरै भित्रिएको चौपाया खरिद बिक्री बधशाला सेन्टरका अध्यक्ष जनक  खड्काले बताए। ‘दसैंलाई चाहिने प¥याप्त खसी, बोका आउने क्रम जारी छ,’ अध्यक्ष खड्काले भने, ‘करिब ५० हजारको संख्यामा ल्याउने तयारी छ।’

दसैंलाई लक्ष्य गरेर उपत्यकाको कलंकी, टुकुचा, बालाजु, भक्तपुर सल्लाघारी र कौशलटार मुकाम बनाएर व्यापारीहरूले बिक्री गरिरहेको अध्यक्ष खड्काले बताए। व्यवसायी मात्र नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि खसी, बोका बिक्री गर्दैछ। कम्पनीले शनिबार थापाथलीमा खसीबोका ल्याइसकेको छ।

हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी गरेको कम्पनीको जनाएको छ। कम्पनीले जिउँदो खसी बोकाको मूल्य ६ सय ७० रूपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्यांग्राको १२ सय ३० रूपैयाँ तोकिएको छ। यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

व्यवसायीले खसी, बोका जिउँदोको ६ सय ५० देखि ६ सय ९० रूपैयाँ किलोमा बिक्री गर्न सुरु गरेका छन्। च्यांग्राको १२ सयदेखि १२ सय ५० रूपैयाँसम्ममा बिक्री गरिरहेका छन्। दसैंलाई लक्ष्य गरेर मुलुकका विभिन्न जिल्लाबाट उपत्यकामा खसी, बोका ल्याउने क्रम जारी रहेको छ। दाङ, सल्यान, सुर्खेत, सिन्धुली, उदयपुर, रुकुम रोल्पा, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरिया लगायतका जिल्लाबाट ल्याएका छन्। च्यांग्रा भने मुस्ताङबाट ल्याउने क्रम जारी रहेको व्यवसायी बताउँछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई सुहलियत दिन बजारमा भन्दा केही सस्तोमा खसी, बोका, च्यांग्रा बिक्री गर्ने जनाएको छ। यो वर्ष उपभोक्ताले स्वदेशी खसी, बोका, च्यांग्रा सहज रूपमा उपभोग गर्न पाउने भएका छन्। यहाँलाई आवश्यक पर्ने खसी, बोका मुलुकका विभिन्न जिल्लाका किसानले उत्पादन गरेका छन्। स्वदेशमै उत्पादन गरेका खसी, बोका ल्याउन लागिएको व्यापारीले बताएका छन्।

दसैंमा धेरै मासु खाने चलन रहेकाले स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री गर्न अनुमति दिएको पशु क्वारेन्टाइनले जनाएको छ। रोगी खसी बोका बेच्न नपाउन भनेर चेकजाँच गरेर बिक्री गर्ने तयारी छ। उपत्यका प्रवेश गर्ने नाकामा पशु चिकित्सक राखेर जाँच गरिएको पशु क्वारेन्टाइन काठमाडौंले जनाएको छ।

कमी कमजोरी हुन नदिन उपत्यका प्रवेश गर्ने नाकामा चेकजाँच गरिन्छ। उपत्यकाको बजारमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य खसीबोका मात्र बिक्री गर्न अनुमति दिइने पशु सेवा विभागले जनाएको छ।

विभागका अनुसार कलंकी खसीबजार, बल्खु कालीमाटी बजार, चोभार नाका, चाल्नाखेला राँगा बजार, टुकुचा खसी बजार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, लोकन्थली खसीबजार, सल्लाघारी च्यांग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल आकाशे धारा, सुकेधारा लगायतका क्षेत्रमा परीक्षण गर्ने योजना रहेको छ।

गुणस्तरहीन मासुलगायत वस्तुको बिक्री वितरण निरुत्साहित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले पनि टोली परिचालन गर्ने जनाएका छन्।

दशैंमा घरमै मार हानेर र मठ मन्दिरमा बली दिन खसीबोका, राँगा र च्यांग्राको मासु खाने चलन अत्यधिक हुँदा यो वेला यस्ता मासुका खाइने पशुको कारोबार पनि करोडौं रूपैयाँमा हुँदै आएको छ।

दसैंका बेला राजधानीमा मात्र नभएर मुलुकका प्रमुख सहरसहित सबैक्षेत्रमा खसीबोकाको माग उच्च हुन्छ। दसैंमा सबैको बिदा हुने र खानपिन, रमाइलो गर्ने भएकाले निकै धेरै मासु खपत हुन्छ। हुनेले घरमै खसी ढाल्ने चलन छ भने कम आम्दानी हुनेले मासु पसलबाट ल्याएर प्रयोग गर्छन्। शक्तिपीठहरूमा नवदुर्गालाई बोका बलि चढाउने प्रचलन पनि छ।

प्रकाशित: २० आश्विन २०८१ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App