१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ४ बजे नै उडान सुरु हुने

नौवटा विमानस्थल बिहान साढे ४ बजे खुल्ने

पोखरा सहितका नौवटा विमानस्थलको उडान तालिका झन्डै डेढघण्टा अगाडि सारिएको छ। वर्षा र पहिरोले सडकमार्गमा समस्या भएपछि हवाई यात्रु बढेको र त्यसले उडान चाप थपिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं सहितका नौवटा विमानस्थलको उडान समय बिहान साढे ४ बजेबाट सुरु गर्ने निर्णय गरेको छ।  

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित नौवटा विमानस्थलबाट अब बिहान साढे ४ बजेबाटै उडान सुरु हुने जानकारी दिए। प्रविधिमा आधारित भएर उडान र अवतरण गर्ने प्रविधि (आईएफआर) जडान भएका ती विमानस्थलबाट सामान्यतया बिहान ६ बजेपछि मात्र उडान हुने गरेकोमा अब भने साढे ४ बजेदेखि नै उडान संचालन हुने उनले बताए।

बिहान साढे ४ बजे खुलेका विमानस्थल राती १२ बजे मात्र बन्द हुनेछन्। तर, अन्तर्राष्ट्रिय उडान संचालन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अरु थप समय पनि संचालन हुनेछ। भुलका अनुसार काठमाडौं सहित पोखरा, सिमरा, चन्द्रगढी, बिराटनगर, जनकपुर, नेपालगञ्ज, भैरहवा र धनगढी विमानस्थल बिहान साढे ४ बजे खुलेर उडान सुरु हुनेछन।

‘सडकमार्गमा समस्या भएपछि यात्रुको चाप हवाई मार्गमा थपिएको छ। त्यसले गर्दा उडान संख्या बढेका छन, त्यसैमाथि विदेशी पर्यटकको आगमनको मौसम परेकोले अन्तर्राष्ट्रिय उडानको चाप पनि यहीबेला छ,’ भुलले भने, ‘सबैतिर उडानको चाप परेपछि समय बढाउनुको विकल्प छैन।’ उनका अनुसार अरुबेला भन्दा दसैं–तिहारमा यसैपनि हवाई चाप बढ्छ। योपटक स्थलमार्ग अवरुद्ध हुँदा उडानमाथि चाप बढेको छ।

‘नियमित समयमा अघिल्ला वर्ष दसै–तिहारताका २५ प्रतिशतसम्म उडान चाप थपिन्थ्यो। तर, अहिले बाटोका कारण १५ प्रतिशत थप चाप बढिसकेको छ। सामान्य अवस्थामा भन्दा ४० प्रतिशत माग बढि छ,’ उनले भने, ‘यात्रु र उडानको चाप बढिरहँदा यात्रुले लामो समय पर्खिनुपरेकोले पनि बिहानको समयलाई सदूपयोग गरिएको हो।’  

भुलका अनुसार सामान्य अवस्थामा काठमाडौंबाट दिनमा ४ सय आन्तरिक उडान हुने गरेकोमा अहिलेको विपद्पछि उडान संख्या ५ सय ५० नाघिसकेका छन्। अघिल्ला वर्ष दसैंताका दिनमा ५ सय हाराहारीमा उडान हून्थे। तर,अहिले दसैं आउनु केहीदिन अघि नै उडान संख्या निकै नै माथि पुगिसेको उनले बताए। ‘बाटोको यात्रा अनिश्चित र असुरक्षित भएपछि यात्रुजति हवाईजहाजमार्फत यात्रा गर्न खोजेका छन,’ उनले भने।  

डेढघण्टाको बिहानको समय सदूपयोग गर्दा पनि दिनमा करिब ५० वटा उडान थप्न मिल्ने उनले बताए। ‘बिहान सबेरै र बेलुकी अबेरसम्म उडान गर्दा यात्रुलाई सहज हुने ठानेका छौं। अहिले स्थलमार्गको यात्रा निकै नै सकसपूर्ण छ,’उनले भने, ‘उडान तालिकाबारे हवाइ कम्पनिसँग पनि समन्वय भईसकेको छ।’

पछिल्लो दुईदिन देखि त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिनमा १९ घण्टासम्म संचालन भईरहेको छ।बिहान ७ बजे सुरु हुने उडान भोलिपल्ट बिहान २ बजेसम्म पनि पनि चलिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

प्रकाशित: १६ आश्विन २०८१ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App