‘नेपाल दालमा परनिर्भरता रहेको र भारतको निर्यात अबरोधले समस्या देखिएको छ,' धानचामल व्यवसायी संघका उपाध्यक्ष गंगाविशंक राठीले नागरिकसँग भने, ‘महँगो भएकाले दालसँग भातको नाता टुट्दैछ।' विराटनगर बजारमा पहिले ९० रुपैयाँ प्रतिकिलोमा पाइने रहर दालको मूल्य एक सय १० रुपैयाँ पुगेको छ। सीमावर्ती जोगवनी बजारमा पनि रहर दाल प्रतिकिलो एक सय १५ छ।
जोगवनीका ओम किरान दुकानका बिक्रेता रोशन मिश्राले मागअनुसार आपूर्ति नभएकाले भारतीय बजारमा दालको मूल्य बढेको बताए। उनले दालको मूल्य र अभावसँगै बढेकाले समस्या देखिएको बताए। विराटनगरस्थित गुदरी बजारको शंकर किराना पसलका सञ्चालक शंकर साहले भारतबाट दाल निर्यात रोकिएकाले मूल्य बढेको जानकारी दिए।
पछिल्लो केही वर्षयता घरेलु खपतका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको नेपाली बजारलाई भारतमा दाल अभावले असर पारेको छ। महँगो मोलमा दाल खरिद गर्ने भारतको नीतिपछि नेपाली बजारमा रहेको दाल पनि लुकिछिपी उतै जाने सम्भावना देखिएको व्यवसायी राठीले बताए।
चामल भन्दै दाल तस्करी
चामलको भन्सार काटेर जोगवनी नाकाबाट दालको तस्करी भइरहेको रहस्य खुलेको छ। चामलको भन्सार काटेर नेपालतर्फ आउँदै गरेको मालबाहक ट्रक केही साताअघि भारतीय एसएसबीका जवानले नियन्त्रणमा लिएपछि रहस्य खुलेको हो। चामलको भन्सार काटेर नेपालतर्फ आउँदै गरेको दालले भरिएको ट्रक एसएसबीले नियन्त्रणमा लिएर भारतीय भन्सारलाई बुझाएको थियो।
इमली(तितरी) बोकेको अर्को ट्रक केही महिनाअघि एसएसबीकै जवानले नियन्त्रणमा लिएर जाँच गर्दा इमलीको बोरा तल दालको बोरा फेला पारेका थिए। भारत सरकारले दालको निकासीमा कडाइ गरेपछि सीमावर्ती क्षेत्रमा एसएसबीले मालसमानको चेकजाँच सघन पारेको छ। सशस्त्र प्रहरीको भन्सार राजस्व गस्तीका प्रमुख डिएसपी अर्जुन सापकोटाले दालको तस्करी भइरहेकाले नियन्त्रण प्रयास भइरहेको बताए।
प्रकाशित: १२ असार २०६७ २१:२२ शनिबार





