९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतबाट पाइपमार्फत पेट्रोल ल्याउने तयारी

पाइपलाइनबाट डिजेल आयात गरिरहेको नेपाल आयल निगमले पाइपबाट पेट्रोल आयातको तयारी गरेको छ। पाइपमार्फत पेट्रोल ल्याउनका लागि दोस्रो चरणको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ।

भारतबाट पाइपमार्फत पेट्रोल ल्याउन करिब ९० प्रतिशत पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका प्रादेशिक प्रमुख प्रलयंकर आचार्यले बताए। ‘एक/दुई हप्तामा पाइपबाट पेट्रोल ल्याउन टेस्टिङ हुन्छ,’ आचार्यले भने, ‘जनवरीदेखि नियमित पेट्रोल ल्याउने तयारीका साथ काम भइरहेको छ।’

इन्डियन आयल कर्पोरेसन(आइओसी) बाट मोतिहारी–अमलेखगन्ज पाइपलाइन मार्फत अहिले डिजेल आयात भइरहेको छ। २०७६ भदौ २४ गतेदेखि पाइपबाट डिजेल ल्याउन थालिएको थियो। डिजेल पाइपबाट आयात भए पनि पेट्रोल भने ट्यांकरमार्फत ढुवानी हुँदै आएको छ। पाइपबाट पेट्रोल आयात गर्नका लागि आयल निगमको मधेश प्रदेश कार्यालय अमलेखगञ्ज डिपोमा भण्डारण, टिएलएफ सेट लगायतका पूर्वाधार निर्माण भइरहेका छन्। आइओसीको सहयोग र निगमको लगानीमा पूर्वाधार निर्माणाधीन छन्।

अमलेखगन्ज डिपोमा अहिले पेट्रोल भण्डारण क्षमता १९ सय किलोलिटर मात्र रहेको छ। दोस्रो चरणको परियोजनाअन्तर्गत अब पाइपबाट पेट्रोल ल्याउन भण्डारण क्षमता १५ हजार किलोलिटर, डिजेल भण्डारण क्षमता १९ हजार किलोलिटरबाट बढाएर २४ हजार किलोलिटर पुर्‍याइएको छ। आइओसीको सहयोगमा ४१–४१ सय किलोलिटरका दुई वटा पेट्रोल भण्डारण ट्यांक, दुई सय ५०– दुई सय ५० किलोलिटर क्षमताका दुई वटा ट्रान्समिक्स ट्यांक, ३१–३१ लिटरका दुई वटा पानी ट्यांक, अत्याधुनिक ल्याब, इलेक्ट्रिक उपकरणसहितका भवन, पम्पहाउस र पाइपलाइन लगायतका पूर्वाधार निर्माण गरिएको छ।

आयल निगमको आफ्नै लगानीमा पाँच हजार लिटरका पेट्रोल भण्डारण ट्यांक र पाँच हजार किलोलिटरको डिजेल इन्धन भण्डारण ट्यांक निर्माण गरिएको छ। भण्डारण गृह निर्माणसँगै डिजेल, पेट्रोलको लोडिङ गर्न आधुनिक प्रविधि प्रयोग गरेर अत्याधुनिक टिएलएफ सेट निर्माणको काम भइरहेको छ। आइओसीको सहयोग र निगमको लगानीमा सन् २०२३ को जनवरीदेखि दोस्रो चरणको परियोजना सुरु गरिएको थियो। अहिलेसम्म म्यानुअल सिस्टममा रड डिप गरेर पेट्रोल, डिजेल मापन गरेर ट्यांकरमा लोड गर्दै आएकोमा अब कम्युटर प्रणालीबाटै परिमाण मापन गरी लोडिङ गर्न पुरानो म्यानुअल सिस्टमलाई विस्थापित गरेर अटोमेटेड सिस्टम प्रयोग गर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ । अहिले निर्माण भइरहेका इन्धन लोडिङ गर्ने टिएलएफ सेट फुल अटोमेसनमा सञ्चालन हुनेछन्।

मोतिहारीबाट पाइपमार्फत ल्याइएको डिजेल आयल निगम मधेश प्रादेशिक कार्यालय बारा अमलेखगन्जमा भण्डारण गरेर काठमाडौं, पोखरा, भैरहवा, जनकपुर लगायतका डिपोसहित विभिन्न जिल्लामा डिजेलको आपूर्ति गरिँदै आएको छ। पेट्रोल पनि सोही अनुसार बिक्री वितरण गर्ने योजना छ। भारतबाट ट्यांकरमा लोड गरेर सडकमार्ग हुँदै पेट्रोलियम पदार्थ आयात गरिँदै आएकोमा मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि पाइपमार्फत आयात गर्न सहज भएको छ।

पाइपमार्फत पेट्रोल आयात सुरु गरेपछि ठूलो रकम बचत हुनेछ । ट्यांकरबाट ढुवानी गर्दा पेट्रोलियम पदार्थ लस हुने, धेरै समय लाग्ने, ढुवानी लागत महँगो पर्ने, वातावरण प्रदूषण हुने, ट्राफिक जाम हुने, सडक बिग्रिने, ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव हुने लगायतका समस्या हुन्छ। पाइपलाइनबाट पेट्रोल ल्याउँदा प्राविधिक, आर्थिक, सामाजिक, वातावरणीय फाइदासहित इन्धन आपूर्तिमा सहज हुने भएपछि दोस्रो चरणको परियोजना अघि बढाइएको हो।

भारतबाट पेट्रोलियम पदार्थको ढुवानीमा ट्यांकरको विकल्पमा पाइपलाइनको आवश्यकता महसुस गरी नेपाल र भारत सरकारबीच सम्झौता भएर इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गरिएको छ। अमलेखगन्ज डिपो परिसरमा निर्माणाधीन पूर्वाधार सम्पन्न भएपछि आइओसीको मोतीहारीस्थित डिपोबाट एउटै पाइपलाइनमार्फत फरक–फरक समयमा पेट्रोल र डिजेल आयात गरिनेछ। पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेपछि सामान्य अवस्थामा मात्र नभए मुलुकमा समय—समयमा आइपर्ने प्राकृतिक विपत्ति, महामारी, नाकाबन्दी लगायत समयमा पनि इन्धन आपूर्ति गर्न सहज हुनेछ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइनलाई चितवनको लोथेरसम्म पनि विस्तार गर्ने योजना रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बताए। ‘पाइपलाइन चितवनसम्म विस्तार गर्न जिटुजी गर्ने तयारीमा छौं,’ भट्टले भने, ‘जिटुजी भएपछि निर्माण कार्य सुरु हुन्छ।’ पाइपबाट डिलेलसहित पेट्रोल ल्याउन सुरु गरेपछि मुलुकमा खपत हुने ७० प्रतिशत डिजेल, पेट्रोल आपूर्ति सहज हुने विश्वास लिइएको छ। आयल निगमले आइओसीबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन, ग्यास आयात गरेर बिक्री गर्दै आएको छ।

प्रकाशित: ९ आश्विन २०८१ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App