३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

इटहरीमा असोज २ गतेदेखि नगर बस सञ्चालन हुँदै

इटहरी उपमहानगरपालिकाले असोज २ गतेदेखि विद्युतीय बस सञ्चालन गर्ने भएको छ।

सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले चारवटा विद्युतीय बस नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याउने भएको हो।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले सोमबार पत्रकार सम्मेलन गर्दै सडक सञ्जाल विस्तार भएको र इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगर बस सञ्चालनमा ल्याउन लागेको बताए।

नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क २० रुपैयाँ तोकिएको छ। उनका अनुसार असोज १ गते विश्वकर्मा पूजा गरेर असोज २ गतेदेखि बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।

बस धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं- १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूलसम्म, वडा नं-१० टावर हुँदै वडा नं-११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक र पकली हुँदै इटहरी चोकसम्म सञ्चालन हुनेछन्।

यस्तै, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी, इटहरीबाट लविपुर, वडा नं-१६, वडा नं-१५ को चाँदवेला सीमाना हुँदै वडा नं-१७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक वडा नं-६ का वडाध्यक्ष एवम् प्रवक्ता दिवश पोखरेलले जनाए।

प्रकाशित: ३१ भाद्र २०८१ १८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App