नेकपा (एमाले)ले प्रतिनिधि सभा बैठकका क्रममा सभामुख डोलप्रसाद अर्यालले दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै उक्त भनाइ संसदको अभिलेखबाट हटाउन माग गरेको छ।
एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को प्रावधानविपरीत टिप्पणी गरेको दाबी गरे। उनका अनुसार सभामुखले नियमावलीको गलत अर्थ लगाएको भन्दै उक्त अभिव्यक्ति रेकर्डमा राख्न नहुने बताएका हुन्।
प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भइरहेका बेला विपक्षी दलहरूले नियमावलीसम्बन्धी प्रश्न उठाएका थिए। त्यसक्रममा सभामुख अर्यालले नियमावलीमा एकै बैठकमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न पाउने व्यवस्था स्पष्ट रूपमा उल्लेख नभएको धारणा राखेका थिए।
यो पनि पढ्नुहोस्
संसद्मा सभामुख अर्याल आक्रोशित, सांसदको नामै लिएर भाषा सुधार्न चेतावनी
तर महरले नियमावलीको नियम ५६ को उपनियम (५) मा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था स्पष्ट रूपमा रहेको उल्लेख गरे। सो प्रावधानअनुसार एक सदस्यको प्रश्नको जवाफ सकिएपछि क्रमशः अर्को प्रश्नकर्ताको नाम बोलाइने व्यवस्था छ।
एमालेले सभामुखको टिप्पणी नियमावलीको विद्यमान व्यवस्थासँग मेल नखाने दाबी गर्दै त्यसलाई संसदको आधिकारिक रेकर्डबाट हटाउन माग गरेको छ।
प्रकाशित: १७ जेष्ठ २०८३ १४:४६ आइतबार





-600x400.jpg)