पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा गत शुक्रबार दिउँसो दुर्घटनामा परेर २७ जना भारतीय धार्मिक पर्यटकले ज्यान गुमाए। दुर्घटनामा परेका अरु १६ जना घाइते छन्।
ती धार्मिक पर्यटक सुनौली नाका हुँदै नेपाल भित्रिएका थिए। सिद्धार्थ राजमार्ग हुँदै पोखरा आएर काठमाडौं जाँदै गर्दा उनीहरु सवार बस दुर्घटनामा परेको थियो।
दुई दिनसम्म पोखरा घुमेका उनीहरुले काठमाडौंमा पनि दुई रात बस्ने योजना सहित शुक्रबार बिहानै पोखरा छाडेका थिए। पशुपतिनाथ दर्शन गर्न उनीहरुको चाहना थियो। तर, दुर्घटनामा परेर ज्यान गुमाएका २७ जनाको पशुपति दर्शन सपना अधुरै रह्यो भने अरु तीर्थालुको यात्रा पनि बिथोलियो।
पर्यटन व्यावसायीका अनुसार भारतीय धार्मिक पर्यटकले पोखरा र काठमाडौंलाई प्रमुख गन्तव्य बनाउँछन्। किनभने मुस्ताङको मुक्तिनाथ मन्दिर जाने प्रवेशद्वारमा पर्ने भएकोले मुक्तिनाथ जाने भारतीय तीर्थालु पोखरा आउन बाध्य हुन्छन्। त्यसबाहेक मुक्तिनाथ दर्शनपछि पशुपति दर्शन गर्ने उनीहरुको चाहना हुने भएकोले पोखरा र काठमाडौं अधिकांश भारतीय धार्मिक पर्यटकको रोजाइमा पर्छ।
शुक्रबार दुर्घटनामा परेका भारतीय तीर्थालुको मुक्तिनाथ यात्राको योजना नरहेपनि पशुपतिनाथको दर्शन प्राथमिकतामा थियो। पर्यटकीय सहर भएकाले पोखरा घुम्ने र त्यसपछि काठमाडौं जानेगरि उनीहरु नेपाल आएका थिए।
व्यावसायीका अनुसार धार्मिक मात्र नभई घुमघामका लागि आउने अरु भारतीय पर्यटकको पनि पहिलो प्राथमिकता पोखरा पर्ने गर्छ। त्यसैले त पोखरामा गर्मीको सिजनमा पर्याप्त भारतीय पाहुना आउने गर्छन्।
भारतीय पाहुनाकै कारण पोखराको पर्यटन क्षेत्रले ठूलो राहत महसुस पनि गर्ने गरेको छ। पछिल्लो समय तेस्रो मुलुकका विदेशी पाहुना नआएको अवस्थामा पनि भारतीयका कारण पर्यटन क्षेत्र चलायमान हुने गरेको व्यावसायीले बताउने गरेका छन्।
तर, पछिल्लो समय भएका सवारी दुर्घटनाका कारण भारतीय पर्यटन क्षेत्र पनि त्रसित थियो। त्यसैमाथि शुक्रबारको घटना पनि थपिँदा भारतीय पाहुना नेपाल आउन बिच्किने चिन्ता व्यावसायीको छ।
व्यावसायीले भारतीय यात्रुवाहक बस दुर्घटना हुनुले भारतीय सवारीलाई नेपालका राजमार्गमा गुडाउँदा केही सजग हुनुपर्ने सुझाएका छन्। नेपालको बाटो भारतीय ठुला यात्रुवाहक बसका लागि उपयुक्त नहुने उनीहरुको भनाई छ। ठुला आकारका र दुई तलेसम्मका बस नेपाल आउने गर्दा दुर्घटनाको जोखिम रहेको उनीहरुको भनाई छ।
‘नेपालको बाटो भारतीय ठुला आकारका सवारीका लागि उत्तिसारो अनुकूल छैनन्। ठूला आकारका ती सवारीका लागि कतिपय घुम्तीमा त सवारी मोडिन ठाउँ पनि पुग्दैन,’ भारतीय पर्यटकलाई सेवा दिँदै आएका होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डे भन्छन्, ‘साना सवारीमा आउँदा जोखिम कम छ। तर, भारतीय सवारी ठुला आकारका हुने भएकोले नेपालको बाटो सुहाउँदो छैनन्।’
उनका अनुसार भारतीय यात्रुवाहक बसका लागि नेपालको राजमार्गका लागि अनुकूल हुँदैनन्। ‘साना सवारीमा आउँदा समस्या छैन। तर नेपालका बसको तुलनामा भारतीय बसमा यात्रु पनि धेरै हुने र राजमार्गमा मोड समेत नपुग्ने हुँदा थप सचेत हुनैपर्छ,’ उनले भने, ‘सडकको अवस्था थाहा नहुँदा यात्रुले दु:ख पाउने गरेका छन्। पूर्ण सिट क्षमतामा यात्रु लिएर आउँदा दुर्घटनाको त्रास छ। सडकको अवस्था थाहा नहुँदा त कतिपय ठाउँमा गति नियन्त्रणमा पनि समस्या पर्न सक्छ।’
भारतको समथर राजमार्गमा गुडेका गाडी नेपालका घुम्ती सडकमा गुड्दा पुरै सडक ढाकिने समेत समस्या रहेको उनले बताए।
‘नेपालका राजमार्ग कतिसम्म साँघुरा छन् भने कतिपय ठाउँमा त दुईवटा सवारी पास गराउन पनि चालकलाई हम्मेहम्मे पर्छ,’ उनले भने, ‘भारतीय सवारीलाई नेपालका सडकमा गुडाउँदा बढी सचेत हुनुपर्ने अवस्था छ।’
पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का गण्डकी अध्यक्ष धर्मराप पन्थी पनि भारतीय ठूला सवारीका लागि नेपालका राजमार्ग उपयुक्त नभएको बताउँछन्।
‘राजमार्गको चौडाइ कम, घुम्ती धेरै छन्। त्यस्ता सडकमा जर्बजस्ती ठुला सवारी गुडाइएको छ,’ पन्थी भन्छन्, ‘त्यत्तिमात्र नभई सडकमा सवारीलाई व्यवस्थापन गर्ने ट्राफिक संकेत समेत छैन। विपरीत दिशाबाट अर्को सवारी आए नआएको थाहा पाउने गरि घुम्तीमा राखिएका ऐना समेत फुटाइएको छ।’
उनका अनुसार अहिले सवारीका लागि राजमार्गमा टाइममार्डमा कडाइ पनि छैन। गति नियन्त्रण गर्न रोक्ने कुनै संयन्त्र नहुँदा मनलाग्दी र तीव्र गतिमा सवारी गुडाउने गरिएको उनले बताए।
‘भारतबाट खचाखच यात्रु बोकेर डबल डेकर बस आउँछन्। ती बसको माथिल्लो तलामा बसेर सिद्धार्थ राजमार्ग हुँदै पोखराबाट बुटवल जाने हो भने यात्रा त्रासदीपूर्ण हुन्छ। किनकि राजमार्ग साँघुरो छ त्यहीमाथि ठाउँ ठाउँमा घुम्ती छन्।’
राजमार्गको असुविधाका बाबजुद पनि ठुला आकारका भारतीय बस नेपालको तिनै साँघुरा राजमार्गमा गुडिरहेको उनी सुनाउँछन्। ‘नेपालमा नियमित रुपमा चल्ने भन्दा ठुला आकार र बढी यात्रु क्षमताका भारतीय बस नेपाल आउँछन्। ती बसका लागि त कतिपय ठाउँमा मोडिने ठाउँ पनि पुग्दैन। कुन गतिमा सवारी चलाउने भन्ने नियमन गर्ने संयन्त्र पनि नेपालमा छैन,’ उनले भने, ‘केही कमजोरीले आगामी दिनमा थप दुर्घटना नहोला भन्न सकिन्न।’
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि नेपालका राजमार्गमा लामो दूरीमा सवारी चलाउनका लागि दुई जना चालक अनिवार्य गरिए पनि भारतीय सवारीमा एक जना चालकका भरमा यात्रा हुने हुँदा जोखिम रहेको बताउँछन्।
‘नेपालका राजमार्गमा लामो दूरीका गाडीमा दुई जना चालक राख्ने चलन छ। तर, भारतीयले एक जनाकै भरमा चलाएका हुन्छन्। भारतीय सवारीमा पनि दुई जना चालक राख्ने व्यवस्था भएमा पर्यटन क्षेत्र सुरक्षित हुनसक्छ,’ शर्माले भने, ‘एकैजना चालकको भरमा सवारी चलाउँदा थकानले पनि दुर्घटना निम्तिने जोखिम छ। कतिपय चालक पहिलोपटक नेपाल आएका हुनसक्ने भएकोले पनि अनुभवी र दुईजना चालकको भरमा मात्र भारतीय सवारीलाई नेपालका राजमार्गमा गुडाउन दिनुपर्छ।’
उनले थपे ‘डबल डेकर गाडी आउँछन्। यस्ता गाडी नेपाली सडकमा उपयुक्त हुँदैनन्। यस्ता गाडीको यात्रा जोखिमपूर्ण छ। किनकि नेपालका सडक ती सवारीका लागि उपयुक्त छैनन्। दोहोरो भार थेग्न नसकेर पनि दुर्घटनाको जोखिम छ। घुम्ती सडकमा दोब्बर भार थेग्ने अवस्था नेपालका राजमार्गसँग छैन।’
नेपालका कतिपय सडकमा भारतीय सवारीका लागि जानै दिन नहुने पनि उनले बताए। ‘पोखरामा भारतीय पाहुना लिएर आएका ठुला सवारी सराङकोटको सडकमा जान्छन्। जर्बजस्ती साँघुरो र घुम्ती सडकमा पूर्ण भार क्षमतामा यात्रु लैजाँदा दुर्घटना भएमा त्यसले क्षति हुनसक्छ,’ शर्माले भने, ‘दुर्घटना सधैँ हुने होइन। तर, सम्भावित क्षति रोक्नका लागि बेलैमा सोच्नुपर्छ।’
नेपालका सडकको भारवहन क्षमता कम भएकोले पनि अतिरिक्त भार बोक्ने सवारीका लागि बेलैमा सोच्नुपर्ने शर्माको सुझाव छ।
‘सिद्धार्थ राजमार्गका कतिपय ठाउँमा त भारतीय गाडीलाई मोडिने ठाउँ पुग्दैन। त्यस्तो सडकमा डबल डेकरका गाडीको यात्रा निकै नै जोखिमपूर्ण छ। त्यसैले बेलैमा सोच्ने हो भने पर्यटन क्षेत्र सुरक्षित हुनसक्छ,’ उनले भने।
प्रकाशित: ९ भाद्र २०८१ १८:०६ आइतबार