१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा आउने पर्यटकको तथ्याङ्क राखिने

पोखरामा भित्रिने विदेशी पर्यटकको आधिकारिक तथ्यांक कतै छैन। व्यावसायीले पोखरामा कति पर्यटक आउँछन भनेर यकिन भन्न नसकिने बताइरहेकै हुन्छन। पोखरा महानगरका मेयर धनराज आचार्यले अब पोखरामा आउने पर्यटकको तथ्यांक राख्न सुरु गरिने आश्वासन दिएका छन्।  

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले ट्रेकिङ भरिया (पोर्टर)का लागि आयोजना गरेको तालिमको समापनमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भएकाले यसलाई पर्यटनको पहिलो गन्तव्य बनाउनुपर्ने बताए। पर्यटनको राजधानी घोषणा गरेपछि पनि सरोकारवाला निकायले पोखरालाई पहिलो गन्तव्य भन्न हिच्किचाएको प्रति उनले असन्तुष्टी व्यक्त गरे।

मेयर आचार्यले पर्यटकीय राजधानी घोषणा भएर के नै हुन्छ र? भन्नेहरुले यसको महत्व नबुझेको बताए। पर्यटकीय राजधानी घोषणा भएपछि त्यहि अनुसारको पूर्वाधार निर्माण हुने, बजेट प्राथमिकतामा पर्नेदेखि अन्य आवश्यक कुराहरु थपिने भन्दै उनले भने, ‘अहिले पोखरा महानगरले पनि त्यहि गरिरहेको छ। अहिले भइरहेको तालिम पनि त्यसैको एउटा रुप हो।’

मेयर आचार्यले पोखरामा आउने पर्यटकको तथ्याङ्क राख्न शुरु गरिने बताए। अहिलेसम्म पोखरामा हवाई तथा सडक मार्गबाट कति कति पर्यटक आए भन्ने तथ्याङ्क राख्न नसकिरहेको अवस्थामा उनले भने, ‘हामी अब सडक मार्गबाट आउने पर्यटकको दुई वटा नाकामा चेकपोष्ट राखेर तथ्याङ्क राख्दैछौं। त्यसरी नै हवाई मार्गबाट आउनेको पनि तथ्याङ्क राखिनेछ।’ मेयर आचार्यले पर्यटनलाई चलायमान बनाउने प्रयास भइरहेको भन्दै अब चाँडै वेलायतका युवराज चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेकलाई व्यवस्थित गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथ्म)की कार्यकारी निर्देशक संगीता ओझाले पोखरा प्राकृतिक र सांस्कृतिक हिसाबले धनी भएको बताईन्।  पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको ब्राण्डिङ गर्न जरुरी रहेको बताए। प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएरपनि प्रचारप्रसारको अभावमा पोखरा ओझेलमा परेको भन्दै उनले स्वदेश तथा विदेशमा आक्रामक रुपमा प्रचारप्रसार गर्न सके पोखरा महानगरले घोषणा गरेको १५ लाख पर्यटक सजिलै ल्याउन सकिने दाबी गरे। 

टानका पूर्व अध्यक्ष डम्बरबहादुर केसीले पर्यटकीय गन्तव्यको र पूर्वाधार निर्माण हुन नसकेको बताए। टान गण्डकीले नाथमसँगको सहकार्यमा ट्रेकिङ पोर्टर गाईडलाई तालिम दिएको वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार तालिममा पोर्टर गाईडलाई पर्यटकसँग कस्तो व्यवहार गर्ने, उनीहरुलाई यहाँका पर्यटकीय गन्तव्यहरुको कसरी जानकारी दिने, पर्यटकलाई आकर्षित कसरी गर्ने र समस्या पर्दा कसरी व्यवस्थापन गर्नेबारे तालिम दिइएको अध्यक्ष धर्मराज पन्थीले बताए। तालिममा २२७ जना ट्रेकिङ पोर्टर गाईड दिइएको थियो।  

टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सके ट्रेकिङमा गुणस्तरीयता आउने विश्वास व्यक्त गरे ।

प्रकाशित: २ भाद्र २०८१ १७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App