१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखराका पर्यटन व्यावसायी भन्छन्ः काठमाडौंका यात्रुलाई पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडाउने चाहना छ

अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको व्यावसायिक बुझाई

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नेगरि सरकारले ती विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिलाई विशेष किसिमको सहुलियत दिने निर्णयसँगै पोखराको पर्यटन क्षेत्र पुन आशावादी बनेको छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएर पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र निराश थियो। सन् २०२३ को जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। विमानस्थल संचालनमा आएको डेढवर्ष नाघिसक्दा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पर्यटन क्षेत्र निराश थियो।  

तर, पछिल्लो समय सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नका लागि प्रोत्साहन गर्नेगरि हवाई टिकट शुल्कमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्क तत्कालका लागि नलिने निर्णय गरेसँगै पोखरामा अन्तराष्ट्रिय हवाई कम्पनि आकर्षित हुनसक्ने व्यावसायीको आँकलन छ।  

त्यस्तै पोखरामा उडान गर्ने हवाई कम्पनिलाई इन्धनको मूल्यमा पनि सहुलियत दिने सरकारी निर्णय छ। हवाई टिकटमा भ्याट नजोडिदाँ टिकटको मूल्य घट्ने र इन्धनको मुल्यमा सहुलियत पाउँदा सस्तो पर्ने र त्यसले हवाई यात्रुलाई ती विमानस्थल हुँदै उडान गर्न आकर्षित गर्ने भएकोले त्यसले यात्रु आगमन बढ्ने व्यावसायीको विश्वास छ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा पर्यटन व्यावसायीमा नैराश्यता छाएको थियो,’ पोखरा पर्यटन परिषद् (पिटिसी) अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘तर, सरकारले हालै मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धमा गरेको निर्णयले पर्यटन क्षेत्र केही आशावादी बनेको छ। सरकारले गरेको निर्णयले पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु हुनेमा हामी ढुक्क छौं।’  

व्यावसायीले लामो समयदेखि पोखरा अन्तर्राष्ट्रिय संचालनका लागि अन्तर्राष्ट्रिय हवाई कम्पनिका लागि फरक मोडालिटीमा आकर्षक प्याकेज ल्याउनुपर्ने सुझाव दिँदै आएको पनि उनले बताए। सरकारले दिने भनेको सहुलियत २०८३ भदौसम्म लागु हुने भएकोले पोखरामा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने पनि व्यावसायीको विश्वास छ। धावनमार्ग बिस्तारका लागि सरकारले आगामि नोभेम्बर ८ देखि केही समयका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राती १० देखि बिहान ८ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ। पर्यटक भित्रिने सिजनमा विमानस्थल बन्द हुने हुँदा त्यसले पाहुना आगमनमा असर पर्नसक्ने व्यावसायीको चिन्ता रहेकोमा पोखरामा उडान गर्दा त्यो चिन्ता गर्नु नपर्ने उनको भनाई छ।  

‘सिजनका बेला उडान रोकिँदा त्यसले नेपाल भित्रिने पर्यटकको संख्या कटौती हुने चिन्ता थियो। तर, ती उडान पोखराबाट भएमा पाहुनालाई सिधै पोखरा उतार्न सकिन्छ,’ श्रेष्ठले भने, ‘पोखराका लागि यो गतिलो अवसर हो।’ सिजनको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा त्यसको मार आन्तरिक उडानमा पर्ने भएपनि पोखराबाट उडान संचालन गर्दा आन्तरिक उडानलाई पनि राहत मिल्ने उनले बताए। पोखराबाट उडान गर्दा हवाई टिकटमा लाग्ने भ्याट तिर्नुनपर्ने हुँदा त्यसले मुल्य सस्तो पर्ने र त्यसको फाइदा लिएर काठमाडौंबाट उड्ने यात्रु पनि पोखरा आकर्षित हुने उनले बताए।

‘हवाई भाडा कम्तिमा १३ प्रतिशत सस्तो पर्नासाथ काठमाडौंबाट आन्तरिक उडानमार्फत यात्रु पोखरा ओर्लेर पोखराबाटै अन्तर्राष्ट्रिय उडानमार्फत गन्तव्यमा जान सक्छन। काठमाडांै मात्र नभई समग्र नेपालभरिबाटै यात्रुलाई पोखरा आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘पोखराबाट उड्दा हवाई भाडा सस्तो पर्छ भन्ने सन्देश फैलाउन जरुरी छ। त्यसो भएमा यात्रु पोखरामा आकर्षित हुनेछन। त्यसको लाभ पोखराको पर्यटन क्षेत्रले लिनेछ।’

उनका अनुसार अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनि पोखरामा उडान गर्न तयार छन्। तर, अहिलेसम्म सरकारले आकर्षक प्याकेज दिन ढिलाई गर्दा हवाई कम्पनिले पोखरामा उडान गर्ने आँट गर्न सकेका थिएनन्। तर, सरकारले दिएको प्याकेजले हवाई कम्पनि पोखरामा आकर्षित हुने उनको भनाई छ।

‘म आफै पनि नेपालमा उडान गरिरहेका विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनिसँग सम्पर्कमा छु। ती कम्पनि पोखरामा उडान गर्न इच्छुक पनि छन्। तर, सरकारले सहुलियत प्याकेज कुरेका थिए। अब ती कम्पनिले पोखरामा उडान गर्नका लागि योजना बनाउने बाटो खुलेको छ,’ उनले भने, ‘नेपाल सरकारको नीतिकै कारण हवाई कम्पनि पोखरा आउन हच्केका थिए । तर, अब सहज भएको छ।’

व्यावसायीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने देखेरै पर्यटन क्षेत्रमा ठूलो लगानी पनि गरेका थिए। होटल, रेस्टुरेन्ट सहितका पूर्वाधारमा ठूलो लगानी थपेका थिए। विमानस्थल संचालनकै दिनदेखि पोखरामा अन्तर्राष्ट्रिय उडान हुने र त्यसले पाहुना भित्रिने अपेक्षा व्यावसायीको थियो। तर, त्यस विपरित अहिलेसम्म उडान हुन नसक्दा व्यावसायीमा निराशा थियो। अब भने व्यावसायीको लगानीलाई साथ दिनेगरि पाहुना आउने अपेक्षा पनि व्यावसायीको छ।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) गण्डकी अध्यक्ष विश्वराज पौडेल भन्छन्, ‘विमानस्थल संचालनमा आउँदाको दिनदेखि अन्तर्राष्ट्रिय उडान हुने अपेक्षामा व्यावसायीले लगानी थपेका थिए, तर, व्यावसायिक पूर्वाधारको लगानी पुरा भयो, उडान भने सुरु नै भएन। अब भने उडान हुनेमा हामी विश्वस्त छौ। पौडेल आफैले अहिले करिब ५५ करोड रुपैयाँ लगानीमा ५५ कोठा क्षमताको बुटिक होटल बनाउँदै छन्। आगामि नोभेम्बरमा उनको होटल संचालनमा आउनेछ।  

‘सरकारले यो छुट पहिल्यै दिएको भए अहिलेसम्म हवाई कम्पनि पोखरा आइसक्थे। तर, निर्णय ढिला भयो । तर, अब पोखरामा उडान गर्नका लागि बाटो खुलेको छ,’ उनले भने, ‘हाम्रो लगानीले सार्थकता पाउने संकेत देखेका छौ। अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी असुरक्षित हुने चिन्ता व्यावसायीमा थियो।’ सरकारले अन्तर्राष्ट्रिय हवाई कम्पनिका लागि प्याकेज घोषणा गरेको भएपनि छुटेका वा समाधान हुन नसकेका कुनै समस्या भए ती पनि हल गरेर छिटो भन्दा छिटो हवाई उडान सुरु हुने बातावरण बनाउनुपर्ने उनले बताए।  

प्रकाशित: २ भाद्र २०८१ १७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App