४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्छ: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ३९ औं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले विद्युत् प्राधिकरण पनि सरकारकै अङ्ग भएकाले जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए। उनले मुलुकको ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकाय एकआपसमा मिलेर काम गर्ने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले ‘ट्रंक’ र ‘डेडिकेटेड’ लाइनमार्फत उद्योगी तथा व्यवसायीले प्रयोग गरेको बिजुलीबापतको रकम तिर्नैपर्ने बताए। ‘प्रधानमन्त्री र सरकारले व्यवसायीले बिजुली प्रयोग गरेबापतको पैसा तिर्नुपर्दैन भनेको छैन, यहाँ गलत प्रचार गरिएको छ, विद्युत्को पैसा नतिर्ने कम्पनीको सम्पत्ति जफत गर्न सकिन्छ, एउटा उद्योगको लाइन काट्नु भनेको मान्छेको घाँटी काट्नु सरह हो, लाइन काटिँदा त्यहाँभित्रका श्रमिक र उत्पादनलाई ध्यान दिनुपर्छ’, उनले भने।

विद्युत् खपत बढाउन आवश्यक पूर्वाधार जरुरी रहेको भन्दै मन्त्री खड्काले त्यसका लागि आवश्यक काम गर्न प्राधिकरणलाई निर्देशन दिए । उत्पादन, प्रसारण र वितरणका बीचमा आवश्यक तालमेल गरेर अगाडि बढे उल्लेख्य सफलता हासिल हुने उनले बताए।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री खड्काले प्रसारण लाइनको अभावमा रसुवागढी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको तथा मध्यभोटेकोसीको अवस्था पनि उस्तै रहेको बताउँदै तत्काल प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए।

उनले १० वर्षमा १० हजार मेघावाट विद्युत् छिमेकी मुलुक भारतमा निर्यात गर्न सरकारले सम्झौता गरिसकेकाले उक्त लक्ष्य हासिल गर्ने गरी काम गर्नुपर्ने बताए। ऊर्जा क्षेत्रको विकासका लागि बाधक रहेका ऐन, कानुन र नियमावलीलाई मन्त्रालयले समाधान गर्ने भएकाले तीव्र गतिमा काम गर्न कर्मचारीलाई मन्त्री खड्काले निर्देशन दिए।

उनले कृषि र पर्यटनसँगै ऊर्जा क्षेत्र पनि नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले यसलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे। उनले पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगसमेत बढेकाले सवारी साधनका लागि चाहिने चार्जिङ स्टेसन सबै ठाउँमा राख्न निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए। उनले ऊर्जा क्षेत्रको विकासका लागि सहयोग गर्ने सम्पूर्ण विदेशी संघ संस्थालाई समेत धन्यवाद दिँदै आगामी दिनमा सहयोग प्राप्त हुने अपेक्षा गरे।

प्राधिकरणको ३९ औं स्थापना दिवसका अवसरमा प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका खड्काले कर्मचारीको घरभाडाबापत मासिक दुई हजार रूपैयाँ उपलब्ध गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीलाई दशैं भत्ता उपलब्ध गराउने र पर्यटनबापतको खर्च दिने घोषणा गरे।

प्रकाशित: २ भाद्र २०८१ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App