४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कटारीको बजेट भण्डै ८७ करोड

क्याप्शन

कटारी नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । साउन २७ गते ‘१३ औँ नगर सभा’मा प्रस्तुत नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको नीति तथा कार्यक्रमसँगै उपप्रमुख गीता खड्काद्वारा पेस भएको बजेट २४ घण्टा लामो छलफलपछि पारित भएको हो ।

नगर सभाले चालु वर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैंयाको वार्षिक अनुमानित आयव्यय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए । प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि नगर सभा सदस्यहरूले व्यापक छलफल गरी सोमबार साँझ सर्वसम्मत पारित भएको भट्टराईको भनाई छ ।

चालु वर्षको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालुतर्फ ४० करोड ६६ लाख ५५ हजार रुपैंया अनुमान गरिएको छ भने पुँजीतर्फ १ करोड ७० लाख २२ हजार, समपूरक अनुदान १ करोड १० लाख र विशेष अनुदान १ करोड २० लाख अनुमान गरिएको छ । सङ्घतर्फकै वित्तीय समानीकरण १२ करोड ६६ लाख ६० हजार अनुमान गर्दा राजश्व बाँडफाँड ४० लाख अनुमान गरिएको छ ।

त्यसै गरी प्रदेशतर्फ सशर्त चालु अनुदान ७४ लाख ३८ हजार, सशर्त पुँजीगत अनुदान १ करोड ७४ लाख ५८ हजार र समपूरक अनुदान १ करोड ३० लाख अनुमान गरिएको छ ।

चालु वर्षका लागि नगर सभाले वडाहरूलाई न्यूनतम ७० देखि अधिकतम साढे ७१ लाखसम्म वडा सिलिङ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । उनका अनुसार १४ वटा वडाका लागि  ९ करोड ९२ लाख विनियोजन गरिएको छ । जसमा जनसंख्या, भूगोल र राजश्व सङ्कलनलाई आधार मानेर केही वडालाई थोरबहुत बढी र कम बजेट सिलिङ तोकिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर श्रेष्ठले विगतको बजेटको उपलब्धि र घाटा बजेटको नकारात्मक प्रभावबारे जानकारी गराए । उनले घाटा बजेट ल्याउँदाको दूरगामी असर नगर बासीले भोग्नुपरेको प्रस्ट्याउँदै उनले चालु वर्षको बजेटमा सकेसम्म त्यस्तो नहोस् भनेर सचेत हुँदा नगर सभा गर्न ढिलाइ भएको बताए।

जन निर्वाचित प्रतिनिधि कुनै राजनीतिक दल वा व्यक्तिको भन्दा नगर बासीको साझा सम्पत्ति हुने भएकाले दलीय भन्दा सामूहिक भावनाले काम गर्नुपर्नेमा सचेत रहेको उनले बताए । जनप्रतिनिधि दल वा व्यक्तिको पेवा बन्न पुगे, दलीय स्वार्थले बाँधेर नगरमा विकास निर्माणमा बाधा आउने भन्दै मेयर श्रेष्ठले त्यसैले सम्पूर्ण नगर बासीको साझा भएर काम गर्न अन्य जनप्रतिनिधिलाई आग्रह गरे । त्यसका लागि सबै जनप्रतिनिधिले जनतालाई आत्मामा राखेर काम गर्न आग्रह गर्दै त्यसले मात्र समृद्धि र विकास संभव हुने उनको भनाई थियो ।

कटारी भौगोलिक बनावटको हिसावले पहाड, खोँच र तराई समेटिएको ठुलो क्षेत्रफलको नगरपालिका भए पनि स्रोतसाधनको सीमितताले आवश्यकता र नगर बासीको माग बमोजिम बजेट पुर्‍याउन नसकेको उनले बताए । सीमित स्रोतसाधनबाटै पनि सकेसम्म धेरै विकास निर्माण र राम्रा कामहरू गर्न लागेको स्मरण गराउँदै मेयर श्रेष्ठले हालसम्मको उपलब्धि सबैको साझा प्रयासको प्रतिफल भएको स्वीकारे ।

उपमेयर खड्काले चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम गत असार १० गते पेस गरेर २५ गतेभित्र पारित भई सक्नु पर्ने भए पनि प्राविधिक कारणले ढिला भएको बताईन् । ढिलै भए पनि सर्वसम्मत रुपमा नगर बासीको हितलाई लक्षित गर्ने खालको बजेट तथा नीति कार्यक्रम पारित गरेको उपमेयर खड्काको भनाई थियो । 

प्रकाशित: २९ श्रावण २०८१ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App