२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुस्तायो लेकसाइडको पर्यटन क्षेत्र

होटल पाहुनाविहीन नै बनेः व्यावसायी

सुनसान रहेको पोखराको पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरः सन्तोष पोखरेल/नागरिक

यतिबेला पर्यटकीय सहर पोखरा सुनसान छ । सिजनका बेला भीडभाड हुने पर्यटकीय क्षेत्र लेकसाइडमा यो बेला निकै नै कम मात्र पाहुना छन्। पर्याप्त पाहुना नहुँदा होटल र रेस्टुरेन्ट सुनसान बनेका छन्। पाहुना अभावमा पर्यटन व्यावसायी पनि फुर्सदिला बनेका छन्। बेलुकीपख भीडभाड र रमझम देखिने लेकसाइडको सडक यतिबेला खालि देखिन्छ।

पाहुना नभएपछि होटलको अकुपेन्सी पनि निकै नै कम भएको व्यावसायीले बताएका छन्। बेलुकीपख भीडभाड हुने लेकसाइड अहिले सुनसान देखिन्छ। ‘यो बेला अफसिजन भएकोले पाहुना निकै नै कम छन,’ रेस्टुरेन्ट व्यावसायी लक्ष्मण बरालले भने, ‘पाहुना नभएपछि सबैतिर सुनसान बनेको छ।’

यो बेला पर्यटन क्षेत्रमा अफसिजन हो। सेप्टेम्बरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। व्यावसायीका अनुसार कोरोना भाइरस संक्रमण अघि अफसिजनको यो सिजनमा पनि अहिले भन्दा बढी पाहुना आउँथे। कोरोना संक्रमण सुरु भएपछि सुरुका दुइवर्षजति पाहुना कम भएपनि त्यसपछिका वर्ष यो बेला पाहुनाको चहलपहल राम्रै थियो। तर, यो यो पटक भने पर्यटन क्षेत्र निकै नै सुस्ताएको उनीहरुले बताए।  

‘हुन त यो बेला अफसिजन हो, अफसिजन भएकोले पाहुना कम हुनु स्वभाविक नै हो। कोरोना संक्रमणको सुरुका दुइवर्ष निकै नै कम भएपनि पोहोर–परार भने यो बेला पाहुना आगमन राम्रो थियो,’ बरालले भने, ‘तर, यो वर्ष भने पाहुना निकै नै कम भए। प्राकृतिक विपद्, राजमार्गको झन्झटपूर्ण यात्राले पाहुनाको यात्रा रोकिएको हुनसक्छ।’

यो सिजनमा पदयात्रा नहुने भएकोले विदेशी पाहुना निकै नै कम हुन्छन। तेश्रो मुलुकका विदेशी पाहुना कम भएपनि अघिल्ला वर्ष आन्तरिक पाहुनाको चहलपहल हुने गरेको थियो। तर अहिले भने आन्तरिक पाहुनाको चहलपहल पनि निकै नै घटेको उनले सुनाए। ‘यो वर्षको मनसुन सिजन निकै नै डरलाग्दो रह्यो। विभिन्न घटना र दुर्घटना पनि भए। राजामार्गको यात्रा पनि जोखिमपूर्ण बनेकोले घुमघामका लागि आउने पाहुना कम भएका हुन,’ उनले भने।  

होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी पनि यो बेला साच्चै अफसिजन लागेको अनुभूति भएको बताउँछन्। ‘यो बेला पाहुना कम हुने समय नै हो। त्यसमा पनि यो वर्षका विभिन्न घटनाक्रमले पाहुनाको हिडडुलमा त्रास थप्यो,’ केसी भन्छन, ‘होटलको अकुपेन्सी पनि निकै नै कम छ। पाहुना कम हुँदाको प्रभाव समग्र पर्यटन क्षेत्रमा छ। यो बेला पर्यटन क्षेत्र सुनसान बनेको छ।’  

केसीका अनुसार यो बेला होटलको चल्तीका होटलको अकुपेन्सी करिब २५ प्रतिशत रहेको छ। अरु होटलको त निकै नै कम छ। ‘कोरोना संक्रमणको सुरुका दुइवर्ष बाहेक अघिल्ला वर्ष यो समयमा केही पाहुना थिए। मनसुनको समय भएपनि अहिलेजस्तो प्राकृतिक विपद्का घटना घटेका थिएनन। त्यसले गर्दा भारतीय र आन्तरिक पाहुना थिए। तर, यो पटक त हिडडुल नै डरलाग्दो भयो,’ उनले भने, ‘राजमार्ग अवरुद्धदेखि ठूलो मानवीय क्षति हुने गरि घटना भए। त्यसले गर्दा मान्छेको हिडडुल निकै नै कम भएको हो।’  

अत्यावश्यक बाहेकको काममा पाहुनाले यो बेला यात्रा नगरेको उनले सुनाए। ‘पछिल्लो समय भएको बस र हवाई दुर्घटनापछि पर्यटन क्षेत्रमा मार थपियो। यात्रा असुरक्षित भएको भन्ने सन्देश प्रवाह भयो। त्यसले गर्दा पर्यटन क्षेत्रमा असर परेको हो,’ केसीले भने।

व्यावसायीका अनुसार यो बेला यतिसम्म पाहुना कम भए की चल्तीका कतिपय होटल शुन्य अकुपेन्सीमै रहनुपरेको छ। साना देखि ठुला होटल यो पटक शुन्यमा झरेको उनीहरुले बताए। ‘दुइसाताको अन्तरमा होटलको दुइरातसम्म होटलको अकुपेन्सी शुन्यमा थियो। यो बेला केही पाहुना छन,’ एकसय हाराहारीका कोठा रहेको एक होटलका संचालकले भने, ‘यस्तो शुन्यताको अनुभव मैले लामो समयदेखि गरेको थिइन। तर, यो पटक पाहुनाविहीन हुनुपरेको छ।’ ती व्यावसायीका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी बढीमा १५ प्रतिशत छ।

अफसिजन भएपनि अघिल्ला वर्ष यो बेला पाहुना हुन्थे। कोरोना संक्रमणका वर्ष बाहेक यो बेला पनि पाहुनाविहीन हुनुपरेको अनुभव नभएपनि यो पटक एउटै कोठामा पाहुना नभएको ती व्यावसायीले बताए। ‘दुई रात त होटल पाहुनाविहीन नै भयो। बरु कोभिडको असर छँदा केही पाहुना थिए। अहिले त निकै नै सुनसान बन्यो,’ उनले भने। यो बेला भारतीय पाहुना आउने अघिल्ला वर्षको अनुभव भएपनि यो पटक भारतीय पाहुना पनि निकै नै कम भएको उनले सुनाए।  

‘मुग्लिन–नारायणगढ सडकमा भएको बस दुर्घटनापछि यो पटक पाहुना आगमनमा असर परेकै हो,’ उनले भने, ‘अफसिजन भएपनि यत्तिको शुन्यता बेहोर्नुपरेको थिएन। तर, यो पटक असर परेको हो। नेपालको यात्रा नै असुरक्षित भएको भन्ने सन्देश फैलिँदा त्यसको असर पर्यटनमा परेको हो। राजमार्गको यात्रा सकसपूर्ण, हवाई र स्थलमार्गको यात्रा जोखिमपूर्ण भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ।’

व्यावसायीका अनुसार दशक अघिसम्म यो बेला अफसिजनका कारण पोखराको पर्यटन क्षेत्रमा निकै नै शुन्यता आउँथ्यो। व्यावसायीले कर्मचारीलाई लामो बिदा दिएर पठाउँथे। कर्मचारीलाई बिदा दिएर आवश्यक मर्मतसम्भार र सरसफाइका काम गर्दथे। तर, पछिल्लो समय आन्तरिक पाहुनाको आगमनका कारण पर्यटन क्षेत्रमा चहलपहल बढेको थियो। त्यो चहलपहल कोरोना संक्रमणका सुरुका दुइवर्ष केही सुस्त भएपनि त्यसपछि बढेको थियो। तर, योवर्ष पुन पहिलेकै अवस्थामा फर्केको व्यावसायीले बताएका छन।

‘लामो समयपछि यो सिजनमा यस्तो अवस्था आएको हो । सायद प्राकृतिक विपद् लगायतका घटनाले पर्यटकको आउजाउ रोकिएको हुनसक्छ। यो बेला हिडडुलमा त्रास पनि छ,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले भने। बस दुर्घटनापछि भारतीय पाहुना प्रभावित भएको पराजुलीले बताए। ‘भारतीय मात्र नभई आन्तरिक पाहुना आउन त्रसित बने,’ उनले भने। नेपालमा लगातार दुर्घटना हुँदा त्यसको मार पर्यटनमा पर्ने उनले बताए।  

प्रकाशित: १६ श्रावण २०८१ १७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App