२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथ दर्शनमा हेलिकप्टरको यात्रा

१८ दिनमा ३६ वटा उडान, ३३ उडान मुक्तिनाथका लागि

पाहुना लिएर मंगलबार मुस्ताङको धार्मिक गन्तव्य मुक्तिनाथ पुगेका हेलिकप्टर। जुलाईको अहिलेसम्म मुस्ताङमा हेलिकप्टरका ३६ वटा उडान भएका छन्। ती मध्ये ३३ उडान मुक्तिनाथका लागि भएका थिए। तस्बिर: नागरिक

गत मंगलबार हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको हेलिप्याडमा छोटो समयको अन्तरालमा ६ वटा हेलिकप्टर अवतरण गरे। रोकिएका हेलिकप्टरबाट धमाधम तीर्थयात्री ओर्लिए। अनि मुक्तिनाथ मन्दिर दर्शन गरेर हेलिकप्टरमा सवार पाहुना केहीबेरपछि फेरि उडेरै फर्किए।

नियमित वर्षाका कारण यतिबेला बेनी–जोमसोम स्थलमार्ग सहज छैन। सडकको ठाउँठाउँमा पहिरो झर्ने गरेको छ। पहिरोले खुल्ने र रोकिने सडकका कारण स्थलमार्गको यात्रा सकसपूर्ण छ। त्यसबाहेक यो बेला पोखरा–जोमसोम हवाई उडान पनि रोकिएका छन्। मौसमी कारण देखाउँदै हवाई कम्पनीले यो बेला पोखरा–जोमसोम उडान रोकेका छन्।

सकसपूर्ण स्थलमार्ग र हवाई उडान नहुँदा यो बेला हिमालपारिको जिल्ला मुस्ताङको यात्रा कठिनपूर्ण छ। तरपनि पर्याप्त रकम खर्चने पाहुनाको हेलिकप्टर सवारले मुक्तिनाथ क्षेत्रमा अझै पाहुनाको चहलपहल छ।

जोमसोम विमानस्थलका अनुसार यो जुलाई महिना (१८ दिन) मा मात्र मुस्ताङमा ३६ वटा हेलिकप्टरका उडान भएका छन्। ती मध्ये २ वटा जोमसोम, एउटा लोमान्थाङ र बाँकी सबै उडान मुक्तिनाथको हेलिप्याडबाट भएका थिए। १८ दिन अवधिमा ३३ वटा उडान मुक्तिनाथका लागि मात्र भएका थिए।

‘यतिबेला नियमित हवाई उडान नभए पनि हेलिकप्टरको आउजाउ भने बाक्लै छ,’ जोमसोम विमानस्थलकी निमित्त प्रमुख बन्दना तिवारीले भनिन, ‘सबैजसो दिन हेलिकप्टर आइरहेका छन्। तीमध्ये अधिकांश उडान मुक्तिनाथ क्षेत्रका लागि भएका छन्।’

जोमसोम र लोमान्थाङबाहेक मुक्तिनाथ पुगेका हेलिकप्टरमा सवार पाहुना धार्मिक तीर्थयात्री हुने उनले बताइन्। एकैदिनमा ६ वटासम्म उडान भएको पनि उनले बताइन्।

जोमसोम विमानस्थलका अनुसार यो जुलाई महिना (१८ दिन) मा मात्र मुस्ताङमा ३६ वटा हेलिकप्टरका उडान भएका छन्। ती मध्ये २ वटा जोमसोम, एउटा लोमान्थाङ र बाँकी सबै उडान मुक्तिनाथको हेलिप्याडबाट भएका थिए। १८ दिन अवधिमा ३३ वटा उडान मुक्तिनाथका लागि मात्र भएका थिए।

‘धार्मिक उद्देश्यले हेलिकप्टर चार्टर गरेर पाहुनाहरु मुस्ताङ आउने गरेका छन्। अधिकांशको गन्तव्य मुक्तिनाथ बनेको छ,’ उनले भनिन, ‘केहीबेर दर्शन गरेर हेलिकप्टरबाटै पाहुना गन्तव्यमा फर्किने गरेका छन्।’

तिवारीका अनुसार अहिले मुस्ताङ आउने हेलिकप्टरमध्ये धेरैजसो काठमाडौंबाटै छन्। एकाध मात्र पोखराबाट पुगेको उनले बताइन। ‘एउटा हेलिकप्टरमा ५ जनासम्म पाहुना आउँछन्,’ उनले भनिन, ‘नियमित हवाई सेवा त छैन। तर, खर्च गर्ने क्षमता राख्ने पाहुना हेलिकप्टर चढेरै आएका छन्।’

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार मुक्तिनाथ नजिकैको हेलिप्याडमा अहिले दिनहुँ जसो हेलिकप्टर अवतरण गर्ने गरेका छन्। हेलिप्याडको सुरक्षा प्रहरीले गरिरहेको छ। जहाँ एकपटकमा आठवटासम्म हेलिकप्टर अवतरण गर्न सक्छन्।

‘यो बेला स्थलमार्ग सकसपूर्ण छ, मोटरबाट आउन उत्ति सहज छैन । ठाउँठाउँमा पहिरो झर्ने र सडक बन्द हुने हुँदा सडक यात्रा सहज छैन। नियमित हवाई सेवा छैन। त्यही भएर हेलिकप्टरमा पाहुना आएका हुन। हेलिकप्टर सयर गर्दै धार्मिक पाहुना आइरहेका छन्,’ उनले भने।

पाण्डेका अनुसार पछिल्लो समय हेलिकप्टरमा आउने पाहुना भारतीय र आन्तरिक बढी छन्, जो बढी रकम  खर्च गर्न सक्छन्। ‘स्थलमार्गको झन्झटिलो आउजाउले पनि पर्यटकको खर्च बढाउने नै हो। किनकि तोकिएको समयमा गन्तव्यमा पुग्न सहज छैन। यो बेला त झन् स्थलमार्गको यात्रा सकसपूर्ण छ। बरु केही रकम थपेर चार्टर गरेर आउँदा हेलिकप्टर पनि महँगो नपर्ने रहेछ,’ उनले भने, ‘खर्च गर्ने क्षमता राख्नेका लागि हेलिकप्टर विकल्प बनेको छ।’ समूहमा मिलेर हेलिकप्टर चार्टर गरेर अहिले आन्तरिक र भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेको उनले सुनाए।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीका अनुसार यतिबेला स्थलमार्गको यात्रा सहज नभएपछि महँगो रकम खर्चने व्यावसायिक घरानाका भारतीय र आन्तरिक तीर्थयात्रीले हेलिकप्टर चार्टर गरेर मुक्तिनाथ दर्शन गरेका हुन्।

पन्थीका अनुसार काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर मुक्तिनाथ आउजाउ गर्दा कम्तीमा साढे ४ लाख रुपैयाँ खर्च हुन्छ। त्यस्तै पोखराबाट मुक्तिनाथ दर्शन गरेर फर्किदा पनि साढे २ लाख रुपैयाँ खर्च हुन्छ।

‘यो बेला भारतीय पर्यटक बढी छन्, जो पर्याप्त रकम खर्चन सक्छन्, ती पर्यटकले हेलिकप्टर चार्टर गरेका हुन्,’ उनले भने, ‘केही आन्तरिक पाहुना पनि छन् । महँगो रकम खर्चन सक्ने पाहुनाले हेलिकप्टर चार्टर गर्ने हुन्।’

पन्थीका अनुसार अरुबेला पाहुनाहरु हवाईजहाजमा पोखरा आउने र पोखराबाट पनि जहाजबाटै जोसमोम हुँदै मुक्तिनाथ दर्शन गरेर फर्किन्थे। तर, अहिले पोखरा–जोमसोम उडान नभएपछि पर्यटकहरु हेलिकप्टर चार्टर गरेर सिधैं मुक्तिनाथ दर्शन गर्न गएका हुन्।

‘महँगो रकम खर्चन सक्ने क्षमता राख्ने पर्यटकले वर्षायामको सिजनलाई उपयोग गरेर यात्रा गरेका छन्। पर्याप्त रकम खर्चनेका लागि हेलिकप्टरले विकल्प दिएको छ,’ उनले भने, ‘महँगा पर्यटक भित्र्याउने बाटो खुलेको छ। यसले नेपालको पर्यटनलाई थप उकास्न सघाउँछ।’

प्रकाशित: ३ श्रावण २०८१ १६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App