२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नयाँ सत्ता समीकरणले अर्थतन्त्र सुधार हुन्छः निजी क्षेत्र

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ।

मुलुकका दुई ठूला राजनीतिक दलबीच भएको सत्ता समीकरणसँगै सङ्कुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने निजी क्षेत्रले प्रतिक्रिया दिएका छन्।

नयाँ सत्ता समिकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरूलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ।

दुई ठूला राजनीतिक दलहरूबीचको सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा व्यक्त गरेका छन्।

उद्योगी व्यवसायीहरूले पुराना ठूला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद् पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायीत्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा र सबल अर्थतन्त्र बनाउन दुई राजनीतिक दलको सत्ता समिकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले उल्लेख गरे।

अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको,उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ समिकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उनीहरूको भनाइ छ।

व्यवसायीहरूले ६–६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भएपनि अब बन्ने सत्ता समिकरणले राजनीतिक स्थायित्व र स्थिर सरकार दिनेमा निजी क्षेत्रलाई आशावादी बनाएको प्रतिक्रिया दिए।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले दुई ठूला दल मिल्नु राजनीतिक स्थिरता र आर्थिक स्थायित्व हुने अपेक्षा गरेको बताइन्।

उनले राजनीतिसँगै आर्थिक स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सत्ता समिकरण उपयुक्त भएको धारणा राखिन्।

नयाँ सत्ता समिकरण प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरावलोकनका लागि संविधान संशोधन गर्ने, आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रको लागि स्वागतयोग्य रहेको उल्लेख गरिन्।

पूर्वअध्यक्ष राणाले देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन सक्ने उल्लेख गरिन्।

पूर्वअध्यक्ष राणाले भनिन्, ‘केही वर्षदेखि धरासायी भएको मुलुकको अर्थतन्त्र राजनीतिक स्थिरता भएमात्रै लयमा आउने छ। ३० देखि ४० प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालनमा भएको अवस्थामा नयाँ सत्ता समिकरणसँगै चलायमान हुने विश्वास पनि छ।’

उनले मुख्य भन्सारहरूमा नै राजश्व सङ्कलन कम हुँदै मुलुकको अर्थतन्त्र आरालो लागेको अवस्थामा राजनीतिक दलहरूले ठिक समयमा समिक्षा गरेर गरेको गठबन्ध स्वागतयोग्य भएको उल्लेख गरिन्।

उनले सत्ता समिकरण परिवर्तन भएको चार महिनामा दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने सहमति सकारात्मक रहेको बताइन्।

पूर्वअध्यक्ष राणाले ठूला दल मिलेर सरकार बनेको सरकार स्थिर हुन आवश्यक रहेको बताइन्।

पूर्वअध्यक्ष राणाले नयाँ बन्ने सरकार पनि तीन÷चार महिनामा परिवर्तन हुर्ने परिस्थिति आए फेरि अर्थतन्त्र संकटमा जानसक्ने भन्दै दुई ठूला राजनीतिक दलको सत्ता समिकरणले अर्थतन्त्र सबल बनाउनको लागि नयाँ सोच बनाउन आवश्यक रहेको बताइन्।

उनले  निजी क्षेत्रले लिएका सुझावलाई आत्मसाथ गरेर सरकार अघि बढ्दा व्यापार व्यवसाय र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरिन्। पूर्वअध्यक्ष राणाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन गर्ने, कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गरी निजी क्षेत्रसँगको सहकार्य गर्ने विश्वास रहेको धारणा राखिन्।

यस्तै नेपाल चेम्बर अफ कमर्सका निःवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताए।

उनले दुई ठूला राजनीतिक दलहरूबीच सत्ता समिकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुशी रहेको प्रतिक्रिया दिए।

उनले दुई ठूला राजनीतिक दलको सत्ता समिकरणको लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायित्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउने निजी क्षेत्र आशावादी भएको बताए।

अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता समिकरणलाई निजी क्षेत्रले स्वागत गरेको भन्दै उनले राजनीतिक स्थायित्वसँगै अब बन्ने सरकारले आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न सुझाव दिए।

मल्लले अहिले देशका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता समिकण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सवल बाटोमा लैजानुपर्ने धारणा समेत राखे।

उनले भने, ‘नयाँ सत्ता समिकरणको सरकारले मुुलुकको अर्थतन्त्रलाई सबल बनाउने विश्वास छ। सधैँ राजनीतिक खिचातानी भन्दा पनि आर्थिक स्थायित्वको बाटोमा लैजान जरुरी भएको हुँदा मुलुकको अर्थतन्त्रमा आएको सुस्तता अस्थिर राजनीति र अस्थिर सकारको कारण भएको हो। दक्षिण एशियामा सबै भन्दा कमजोर आर्थिक अवस्था भएको मुलुक बनेको छ।’

उनले मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति अस्तव्यस्त भएको बताए। उनले राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरूलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्ने निजी क्षेत्रलाई आशा रहेको बताए।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समिकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा गरेको बताए।

उनले अस्थिर रहेको सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला राजनीतिक दलको समिकरण लगानीकर्ताको लागि सुखद् पक्ष भएको बताए।

उनले राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको बताए।

अध्यक्ष ढकालले भने, ‘मुलुकले नेकपा एमाले र नेपाली कांग्रेसबीच बनेको नयाँ सत्ता समिकरण मुलुकको आवश्यकता थियो। नयाँ समिकरणले उद्योगी व्यवसायी, लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको छ। स्थिर सरकार बनाउँदै आर्थिक नीतिहरू स्थिर बनाउँदै निजी क्षेत्रमैत्री सरकार बन्नुपर्छ।’

अध्यक्ष ढकालले स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित भएर लगानीको वातावरण बन्ने आशावादी भएको बताए।

उनले उद्योग व्यवसाय, घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरूले तिर्न नसकेको अवस्थामा त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान हुनेमा आशा पलाएको उल्लेख गरे।

गत सोमवार नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समिकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो। उक्त सहमतिसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एमालले दिएको समर्थन र मन्त्रीहरूसमेत फिर्ता गरेको छ।

प्रकाशित: २१ असार २०८१ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App