१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानुनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन्।

शुक्रबार काठमाडौंमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले सुनचाँदी गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्था गर्न माग गरे। अध्यक्ष बज्राचार्यले हाल नेपालमा सुन दैनिक २० किलो र चाँदी आयात ६० हजार डलरको सीमा रहेको बताए।

उनले सीमाका कारण नेपालको सुनचाँदी बजार नियन्त्रण भएको धारणा राखे । उनले कुनै व्यवसायको उद्योगले दैनिक एक किलो सुनको गरगहना उत्पादन गर्ने क्षमता राख्छ भने उसलाई प्यान नम्बरको आधारमा एक किलो नै सुन पाउने र कसैले पाँच किलोको क्षमता राख्छ भने सोही बमोजिम र कसैलाई ५० ग्रामको आवश्यकता छ भने सोही बमोजिम सुन उपलब्ध हुने गरी सुनको आपूर्ति खुला गर्नुपर्ने बताए।

उनले आयात खुला गर्दा बैङ्कका साथै व्यवसायहरूलाई पनि आयात गर्न दिई प्रतिस्पर्धात्मक रुपमा बजार चल्न दिनुपर्ने धारणा राखे।आयात भएको सुन दुरुपयोग गर्न नदिनका लागि वितरण प्रणालीमा सहयोग गर्न महासंघ तयार रहेको पनि स्पष्ट पारे। सुनको भन्सार दरमा १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत गरिएपछि महँगो सुन झनै महँगो भएको बताए । साथै २ प्रतिशत बिलासी कर लगाउँदा सुन चाँदीका गरगहनाले नेपालको धर्म संस्कृति, पहिचान र देशको समृद्धिको सम्पत्ति र सुरक्षित बचतका रुपमा रहने क्षेत्रलाई विलासिताको क्षेत्रमा परिणत गर्दा झनै मार परेको जिकिर गरे।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले बजेटमा सुन चाँदी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने गरी नीति नआएको धारणा राखिन। उनले सुनचाँदी व्यवसायीहरू एक भएर अघि बढ्न जरुरी रहेको बताइन। उनले सुनको भन्सार पाँच प्रतिशत वृद्धि गरेकोप्रति आपत्ति जनाउँदै युवा मात्रै नभई व्यवसायीहरू पनि पलायन हुने स्थिति आएको टिप्पणी गरिन।

कार्यक्रममा बोल्दै नकेपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउनुपर्ने जति गरिमा र ओज नपाएको गुनासो गरे।उनले  सुनचाँदी व्यवसायीलाई, सुनचाँदी व्यवसायी संघ संस्थालाई हेर्ने दृष्टिकोणमै खोट रहेको धारणा राखे। 

प्रकाशित: १४ असार २०८१ १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App