२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

उदयपुरका सात स्थानीय तहको बजेट पारित

नीति कार्यक्रम प्रस्तुत गर्दै रौतामाई अध्यक्ष वीरेन्द्र मगर र उदयपुरगढी अध्यक्ष मानबहादुर केप्छाकी मगर। तस्बिरः महेश्वर

उदयपुरका गाउँ तथा नगरपालिकाहरुले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन्।

असार १० गतेभित्र बजेट तथा नीति कार्यक्रम ल्याउनुपर्ने आर्थिक ऐनको प्रावधान अनुसार जिल्लाका ८ मध्ये ७ वटा स्थानीय तहले सोमबार बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका हुन्।

जिल्ला सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी, ताप्ली, रौतामाई र लिमचुङबुङ गाउँपालिकाले बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका हुन्।

जिल्लाको उदयपुरगढी गाउँपालिकाले झण्डै ८१ करोडको बजेट ल्याउँदै आगामी वर्षको नीति कार्यक्रम पारित गरेको छ। गाउँपालिकातर्फ जिल्लाको सबभन्दा बढी जनसंख्या र ठूलो भूगोल भएको उदयपुरगढीले आइतबार सुरु गरेको गाउँ सभा सोमबार साँझ सम्पन्न गरेको हो।

गाउँ सभामा असार ९ गते अध्यक्ष मानबहादुर केप्छाकी मगरले प्रस्तुत गरेको आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रम र १० गते उपाध्यक्ष जितबहादुर खड्काले प्रस्तुत गरेको ८० करोड ८९ लाख २३ हजार रुपैयाँको बजेटसँगै सोमबार साँझ सर्वसम्मत पारित भएको हो।

गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ २४ करोड ३४ लाख ५२ हजार अर्थात ३०.१० प्रतिशत र चालुतर्फ ५६ करोड ५४ लाख ७१ हजार अर्थात ६९.९० प्रतिशत हिस्सा विनियोजन गरिएको छ। प्रस्तुत बजेट तथा नीति कार्यक्रम गाउँ सभा सदस्यहरूको व्यापक छलफलपछि सर्वसम्मत पारित भएको प्रवक्ता विश्वकर्माले बताए।

प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले आगामी वर्षका लागि संघ र प्रदेशबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपुरक, राजश्व बाँडफाँड, आन्तरिक आय र विशेष बजेटलाई गाउँपालिकालेले मुख्य स्रोत मानेको बताए। उनका अनुसार संघीय विभाज्य कोष,  स्थानीय पूर्वाधार र सडक बोर्डबाट आउने रकमलाई पनि गाउँ सभाले आम्दानी मानेको छ।

उदयपुर गढीलाई संघीय सरकारले समानीकरणतर्फ १४ करोड ६७ लाख र सशर्ततर्फ ३४ करोड १ लाख ९ हजार अनुदान दिने अनुमान गाउँ सभाले गरेको छ। त्यस्तै राजश्व बाँडफाँडबाट ११ करोड ६३ लाख ३८ हजार, संघीय विभाज्य कोषमार्फत ३१ लाख ६० हजार, स्थानीय पूर्वाधारतर्फ २ करोड, सडक बोर्डबाट २५ लाख र सामाजिक सुरक्षाकोष १२ करोड प्राप्त हुने प्रक्षेपण गाउँ सभाले गरेको छ। गाउँ सभाले आन्तरिक स्रोत १ करोड ६४ लाख २५ हजार हुने प्रक्षेपण पनि बजेटमा गरिएको छ।

त्यसैगरी प्रदेशबाट आउने समानीकरण बजेट ९४ लाख २४ हजार, सशर्त १ करोड ८० लाख ७४ हजार, प्रदेश समपुरक १ करोड र राजश्व बाँडफाँडबाट ६१ लाख ९३ हजार प्राप्त हुने प्रक्षेपण गाउँ सभाले गरेको गुरागाईँले बताएका छन्।

गाउँ सभाले आगामी वर्ष पर्यटन, सडक, खानेपानी, विद्युतलाई मुख्य लगानी क्षेत्र बनाउने नीति लिएको अध्यक्ष मगरले बताए। उनका अनुसार भन भण्डारी लोकमार्गदेखि गाउँपालिका केन्द्र उदयपुरगढीसम्म कालोपत्रे गर्ने, गाउँपालिका मुकामदेखि प्रत्येक वडा र गाउँ टोलसम्मका सडक सञ्जाललाई स्तरोन्नति गरी बाह्रै महिना चल्ने बनाउने नीति लिइएको छ। त्यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी, कृषि, वन र वातावरण तथा विपथ व्यवस्थापनतर्फ पनि आगामी वर्षको नीति कार्यक्रमले समेटेको अध्यक्ष मगरले बताएका छन्।

उदयपुरगढी ऐतिहासिक र पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको गाउँपालिका हुनाले पुरानो गढी क्षेत्रलाई प्रमुख पर्यटकीय स्थल बनाएर आन्तरिक र बाह्य पर्यटक भित्र्याउने आकर्षण दिने नीति कार्यक्रमको लक्ष्य छ। गाउँ बासी विपन्न नागरिकलाई सम्पन्न बनाउन  विभिन्न आयआर्जनमुखी कार्यक्रम गर्ने तथा व्यवसायिक कृषि र पशुपालनलाई पनि उत्तिकै स्थान दिने गरी नीति कार्यक्रम बनाइएको अध्यक्ष मगरले बताएका छन्। 

रौतामाईको बजेट ५६ करोड ६ लाख

अर्को गाउँपालिका रौतामाईले सोमबारै पेश गरेको आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ। गाउँपालिका मुकाम भुट्टारमा आयोजित ‘१५ औँ गाउँ सभा’मा अध्यक्ष वीरेन्द्र मगरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष भूपेन्द्र भूपेन्द्र थापाद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ५६ करोड ६ लाख ९७ हजार रुपैयाँको अनुमानित आयव्यय पारित गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले बजेटको मुख्य स्रोत संघीय सशर्त र वित्तीय समानीकरण अनुदान, प्रदेश सशर्त र समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आयलाई मानेको बताए। संघीय सशर्ततर्फ ३० करोड ८० लाख २५ हजार आय अनुमान गरिएको बजेटमा वित्तीय समानीकरणतर्फ ९ करोड ५७ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै प्रदेश सशर्त २ करोड १५ लाख ७२ हजार, समानीकरणतर्फ ५७ लाख ३३ हजार र राजश्व बाँडफाँड १० करोड ६९ लाख ९७ हजार प्राप्त हुने अनुमान गरिएको छ। गाउँ सभाले आगामी वर्ष आन्तरिक राजश्व ६७ लाख संकलन हुने अनुमान गरेको बजेटमा  चालु वर्षको अल्या र अन्य आमदानी २ करोड ५९ लाख ७० हजार रहेको उल्लेख छ।

रौतामाईले आगामी वर्षको नारा ‘कृषि, पर्यटन, विकास र पूर्वाधार, समृद्ध रौतामाई निर्माणको आधार’ तय गवरेको छ। कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा प्राथमिकताका साथ जोड दिएको नीति कार्यक्रमले गाउँपालिकाको मुख्य पर्यटकीय तथा धार्मिक स्थल रौता पोखरीलार्ई पर्यटन प्रवर्द्धन र विकास गर्न जोड दिएको छ। पर्यटनको माध्यमबाटै समृद्धिको ढोका खोल्ने आकांक्षा पालेको गाउँपालिकाको नीति कार्यक्रमले रौता पोखरीसँगै अन्य सहायक पर्यटकीय स्थलहरुको पनि विकास गर्ने नीति लिएको छ।

गाउँ सभाले जिल्लाकै अग्लो भूभाग चित्रेथाम, ओडारे झर्ना, सुके पोखरी, तामा खानी र उत्तरतर्फ खोटाङ सिमाना जोडिएको सुन नदीमा जल पर्यटन (¥याफ्टिङ) व्यवसायलाई पनि पर्यटन विकाससँग जोडेर लाने अध्यक्ष मगरको नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसैगरी कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् र रोजगारी सिर्जनाका योजनाहरू समेटिएको छ। युवा पलायन रोक्न स्वरोजगार मूलक र युवा तथा महिलालक्षित कार्यक्रमहरू गरी आयआर्जन र व्यवसायिक कृषि, पशुपालन, व्यापार गर्ने नीति गाउँ सभाले लिएको अध्यक्ष मगरले बताए।

गाउँ गाउँमा सडक, घरघरमा खानेपानी, उज्यालो रौतामाई कार्यक्रम अन्तर्गत सबै घरमा बिजुली बत्ती र हरेक वडामा सञ्चालित स्वास्थ्य चौकीहरूलाई स्तरोन्नति गरी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य नीति कार्यक्रमले समेटेको छ।

गाउँ सभा कार्यक्रममा वडाध्यक्षहरू १ नं. का रुद्र कार्की, २ का होमबहादुर खत्री, ३ का दीपेन्द्र दाहाल, ४ का रवीन्द्र खत्रीको उपस्थिति थियो। त्यस्तै ५ नं. वडाध्यक्ष पाण्डोव राई, ६ का पृथ्वी राई, ७ का मनोज रानामगर र ८ का घमानसिंह थापामगर सहभागी थिए। कार्यक्रममा गाउँ सभा सदस्यहरू, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महिला, युवा, शिक्षक र कर्मचारीको पनि अर्थपूर्ण सहभागिता रहेको गाउँपालिकाका लेखा सहायक भेषराज पराजुलीले बताए। 

प्रकाशित: ११ असार २०८१ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App