१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

भारतीय पत्रकारहरूको टिम पुग्यो रारा हेर्न

भारतीय पत्रकार टोलीसहित पर्यटन व्यवसायीहरू रारा पुगेका छन्। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणले ‘गर्मीसे बेहाल: चलो रारा ताल’ नारासहित आयोजना गरेको कार्यक्रममा प्रचारप्रसारका लागि टोली रारा पुगेको हो।

सुर्खेतदेखि रारासम्म पर्ने मुख्य पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्दै भारतका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र नेपाली पत्रकारहरूको संयुक्त टोली ४ दिनमा रारा पुगेर फर्केको छ। सुर्खेतको काँक्रेविहार, दैलेखको श्रीस्थान र दुल्लु क्षेत्र, कालिकोटको खाँडाचक्र, जुम्लाको पाण्डु गुफा, कनकासुन्दरी हुँदै मुगुको रारा तालसम्म पुगेर फर्किएको हो।

एक समारोहबिच कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले पत्रकार टोलीलाइ स्वागत गरेर पठाएका थिए। फकिएर आएको टोलीलाई मन्त्री रावतले शुक्रबार बिदाइ गरेर धन्यवाद समेत दिए। कार्यक्रमको समन्वय नेपाल फोटो पत्रकार महासंघले गरेको थियो । गर्मीमा रारा हेर्न भारतबाट थोरै पर्यटक आएमा मात्र कर्णालीको पर्यटन व्यवसाय फस्टाउने होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्क बहादुर शाही बताउँछन्।

भारतीय पत्रकार सहितको भ्रमण कर्णाली प्रदेशको भविष्यसँग जोडिएको र यहाँको पर्यटन व्यवसायमा ठुलो हल्लाखल्ला गराउने  नेपाल फोटो पत्रकार महासंघका वरिष्ठ सचिव तथा कार्यक्रम संयोजक हरिहरसिंह राठौरले बताए। ‘भारतीयको हल्ला गर्ने तरिका नै फरक छ ।’ संयोजक राठौंरले भने, उनीहरुले  सामाजिक सन्जाल र सञ्चारमाध्यममा हाले मात्र करोडौंले हेर्छन् । राराको प्रचारप्रसार बढी नै हुन्छ ।’

रारा भ्रमणमा जाने टोलीमा भारत र नेपालका पत्रकार तथा पर्यटन व्यवसायीहरू सहभागी भएको थिए।कर्णाली प्रदेशमा भएका पर्यटन विकासका सम्भावना र पर्यटकीय गन्तव्यका बारेमा उजागर गर्न यो भ्रमणले सहयोग पुग्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले बताए। कर्णाली क्षेत्रमा पर्यटनका माध्यमबाट विकास गर्न सकिने थुप्रै सम्भावना रहेकोले अहिलेको संयुक्त भ्रमण आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष हरि रेग्मीले बताए।

रारा आफैमा सुन्दर हुँदा हुँदै पनि प्रचार प्रसार र विकास नहुँदा ओझेलमा परेको भारतीय पत्रकारहरूले बताए। उनीहरुले निकुञ्जमा खटिएका नेपाली सेनाका कारण तालमा हेर्न जान आउन समस्या हुने गरेको बताए। ‘पर्यटन विकासका लागि भिडियो, फोटा खिच्न रोक्न नहुने निकुञ्ज र सेनाको नियमले गर्दा धेरै पर्यटकहरूले पुगेर खल्लो महसुस गरेर फर्कनुपर्छ त्यो पर्यटन विकासमा राम्रो होइन।’ भारतीय पत्रकार आनन्द गुप्ताले भने, नेपाल सरकारले यस्ता पर्यटकीय क्षेत्रमा क्यामरा लिएर सहज हेर्न आउने व्यवस्था मिलाउनुपर्छ।’

दैलेखको श्रीस्थान क्षेत्र, नाभिस्थान, दुल्लु क्षेत्र पुगेको थियो । दुल्लुमा दुल्लु नगर पालिकाको भव्य स्वागत गरेको थियो। दुल्लुमा उपमेयर बिना कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत अन्य कर्मचारी, जनप्रतिनिधिले स्वागत गरेका थिए। दुल्लुबाट टोली कालिकोटमा पुगेको थियो। 

कालिकोटमा खाँडाचक्र नगर पालिकाका मेयर कमल बहादुर शाही, प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, प्रहरी निमित्त प्रमुख प्रकाश केसी, पत्रकार महासंघका अध्यक्ष भरत विष्ट लगायत पत्रकारको टोली लगायत समाजसेवीहरूले एक समारोहबिच स्वागत गरेका थिए। कालिकोटबाट रारा पुगेको टिमलाई पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, सचिव जीवन सेजुवाल लगायत पत्रकारको टोलीले तालमै भव्य स्वागत गरेको छ। 

प्रकाशित: ७ असार २०८१ २०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App