२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

ललितपुरमा प्रि बजेट छलफल : के दिए विज्ञले सुझाव

ललितपुर महानगर पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि महानगरका सल्लाहकारसँग  छलफल गरेको छ।

महानगरका सल्लाहकारसँग महानगरले अघिल्लो वर्ष पनि छलफल गरेको थियो । ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञलाई आफ्नो सल्लाहकारको रुपमा मनोनयन गरेका छन् । जनप्रतिनिधि र कर्मचारी विज्ञ नहुने भएकाले विज्ञहरूसँग महानगरको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बनाउनु अघि सल्लाहकारसँग छलफल गरेको बताए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ललितपुरको बजेट र नीति तथा कार्यक्रम उत्कृष्ट बनाउन सबै क्षेत्रका विज्ञको सुझाव लिएको बताइन् । कर्मचारी जनप्रतिनिधि सबै क्षेत्रको विज्ञ नहुने भएकाले यो कार्यक्रम आयोजना गरेको प्रस्ट पारिन् । 

महानगरका स्वास्थ्य सल्लाहकारले स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तन , सम्पदा, पार्किङ लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।  उनीहरुले जनजीविकाको क्षेत्रमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम आउनुपर्ने प्रस्ट पारे । 

स्वास्थ्य सल्लाहकार मदन पियाले स्तन क्यान्सरले भयाभह रुप लिएको बताउँदै यो विषयलाई नीति तथा कार्यक्रममा नै समावेश गरेर लैजानुपर्ने धारणा राखे । उनले भने, ‘ क्यान्सर भए नभएको, भएपछिको उपचारमा महानगरले कार्यक्रम बनाउनुपर्छ ।’ दमका बिरामी दिनप्रतिदिन बढ्दै गएको बताउँदै यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे । 

सम्पदा सल्लाहकार पिएस जोशीले सिटी नखः महानगरले दिवसको नाम दिँदै कार्यक्रम बनाउनु पर्ने धारणा राखे । उनले भने, ‘पानी दिवस, वातावरण दिवस र सरसफाई दिवस जे भने पनि घोषणा गरोस् महानगरले ।’ कालान्तरमा पानीको समस्या विकराल हुने बताउँदै भने, ‘रिचार्ज ललितपुरको अवधारणा अघि ल्याउनुपर्छ , नीति तथा कार्यक्रममा यो विषयलाई समेट्नुपर्छ । ’

शिक्षा सल्लाहकार लोकबहादुर खड्काले शिक्षा समुन्नतिको जननी भएको बताउँदै प्रत्येक विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्नुपर्ने बताए । उनले भने,‘आफ्नै भूमिमा रोजगारी सिर्जना गर्न प्राविधिक शिक्षा आवश्यक छ ।’

आर्थिक विकास सल्लाहकार विनोद सिजापतिले महानगरले अल्पकालीन, मध्यकालीन  र दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने बताउँदै नीति तथा कार्यक्रममा यो विषय समेटिनुपर्ने धारणा राखे । 

संस्थागत विकास सल्लाहकार भरत थापाले महानगरमा धेरै कुरा भएको बताउँदै मेरो सहर भन्न लजाउनु पर्ने अवस्था नभएको स्पष्ट पारे । जनजीविका विषयलाई प्राथमिकता दिने नीति  तथा कार्यक्रम बनाउनुपर्ने बताउँदै उनले भने उनले ,‘रूपान्तरणकारी योजना ल्याउनुप¥यो । ’

कृषि सल्लाहकार  धर्म महर्जनले कृषि तथा वनस्पति विकास केन्द्रको स्थापना गर्नुपर्ने बताए । उक्त केन्द्रले फोहोर व्यवस्थापन  गरेर कम्पोस्ट मल उत्पादन गर्न सक्ने विषयलाई आगामी वर्षको नीति तथा कार्यक्रमले समेट्नुपर्ने बताए ।  बोट बिरुवा काट्दा नगरपालिकासँग स्वीकृति लिनुपर्ने नीति तय गर्नु उनको धारणा थियो । खेलकुद सल्लाहकार पदमकृष्ण श्रेष्ठले महिला खेलकुदलाई  प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पार्नुपर्ने धारणा राखे । राजनीतिक सल्लाहकार बाबुराज महर्जनले सम्पदा निर्माणमा छुट्टै दररेट कायम गर्ने नीति बनाउनुपर्ने बताए । उनले भने, ‘एउटै दररेट कायम गर्ने हो भने सम्पदा पुनर्निर्माण र निर्माण हुन सक्दैन।’

 प्रकोप न्यूनीकरण तथा व्यवस्थापन सल्लाहकार संस्था एनसेटका कार्यकारी निर्देशक डा सूर्यनारायण श्रेष्ठले ललितपुरमा प्रकोप न्यूनीकरण तथा व्यवस्थापन सामग्री लगभग पर्याप्त भएको बताउँदै भने, ‘ जनशक्तिलाई दक्ष बनाउने विषयलाई नीतिमा राख्नुपर्छ । ’ 

कार्यक्रममा पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, राजनीतिक सल्लाहकार नन्द किशोर शाही, राष्ट्रिय —अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्ट ,जनस्वास्थ्य सल्लाहकार तारामान अमात्य ,सामाजिक विकास सल्लाहकार रिद्धिबाबा प्रधान ,सम्पदा सल्लाहकार वदनलाल न्याछ्योँ , वनस्पति सल्लाहकार पुष्पमान अमात्यले धारणा राखेका थिए । आ आफ्नो विज्ञताको क्षेत्रमा धारणा राख्ने क्रममा उनीहरूको एउटै भनाई थियो,‘महानगरको बजेट, नीति तथा कार्यक्रमले महानगर बासीको जनजीविका सहज बनाउनुपर्छ ।’

प्रकाशित: २८ जेष्ठ २०८१ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App