१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इन्धन बचाएर वातावरण जोगाउन सांग्रिला बैंकको साइकल र्‍याली

पेट्रोल र डिजेल इन्धनले वातावरण प्रदूषण हुनुका साथै अर्बौं रूपैयाँ विदेश गइरहेको बेला ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ अभियान सञ्चालन गरिएको छ। इन्धनको खपत कम गर्न विभिन्न क्षेत्रले पहल गरिरहेका बेला सांग्रिला विकास बैंकले पनि सो अभियानमा साथ दिएको छ।

तीन वर्षअघि सांग्रिला विकास बैंकका कर्मचारीले इन्धन खपत कम गर्दै वातावरण संरक्षण गर्न आफ्नो तर्फबाट पहल गर्न थालेका थिए। बैंकका कर्मचारीहरूमध्ये साइकल हुनेले कार्यालय आउँदा साइकलमै आउने र गाडी तथा बाइक हुनेले कारपुलिङ र बाइकपुलिङ गर्ने सहमति अनुसार अभियानमा साथ दिँदै आएका छन्।

बैंकले ‘सेभ फ्युल, सेभ इन्भारोन्मेन्ट’ अर्थात् ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत बैंकले प्रत्येक वर्ष वातावरण दिवसलाई लक्षित गर्दै साइकल र्‍याली गर्दै आएको छ।

सांग्रिलाले यो अभियान सुरु गरेपछि तीन वर्षसम्म निरन्तरता दिएको छ। बैंकले गत शनिबार तेस्रो संस्करणको साइकल र्‍याली सम्पन्न गरेको छ।

अभियान सुरु हुँदा एक सय ५० सहभागी भएका थिए, दोस्रो वर्षको र्‍यालीमा पाँच सय र यस वर्ष १५ सय सहभागी भएका छन्। १५ सय सहभागी भएको यस पटकको साइकल र्‍यालीमा ९० प्रतिशत सहभागी सर्वसाधारण थिए। यस पटकको सहभागिताले बैंक निकै नै उत्साहित र यस्तै कार्यक्रम गर्न अझ प्रेरित भएको छ। बैंकको अभियानले साइकललाई वैकल्पिक साधनको प्रयोग गर्न जनतालाई अभिप्रेरित गरेको महसुस भएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकका फाउन्डेसन अफ इन्फरमेसन टेक्निोलोजी र सांग्रिला साइकल र्‍यालीका संस्थापक सदस्य सन्तोष पंगेनीले भने, ‘हामीले अभियान सुरु गर्दा आजको दिनसम्म निरन्तरता दिन सकिएला भन्ने सोचेकै थिएनौं।’

प्रत्येक दिन साइकल चलाएर कार्यालय आउन सम्भव नभए पनि हप्तामा एक दुई दिन पक्कै सकिन्छ। त्यसले इन्धन कम खपत गर्न मात्र होइन वातावरणीय प्रदूषण घटाउन पनि सघाउँछ। त्यो बेला कार्यालयले इन्धन दिए पनि सकेसम्म कम खपत गर्ने भन्ने थियो। आज आएर साइकल र्‍याली सांग्रिला बैंकको सिग्नेचर कार्यक्रम बनेको छ, पंगेनीले भने।

यस्तै सांग्रिला विकास बैंकको मानव व्यवस्थापन प्रमुख तथा सांग्रिला साइकल र्‍यालीका सदस्य लेखनाथ पौडेलले यस पटकको साइकल र्‍यालीमा बैंक र संघसंस्थामा काम गर्नेहरूको मात्र होइन सबै नागरिकको उत्साहजनक सहभागिता भएको बताए । साथै ‘प्रोफेसनल साइक्लिस्ट’ पनि सहभागी रहेको उनले बताए। उनले यस पटकको साइकल र्‍यालीमा साइकल नहुनेले साइकल मिलाइदिनुस्, हामी पनि सहभागी हुन्छौं भन्दै आएको बताए।

‘अभियान सर्वसाधारणलाई समेत साइकल चढ्न प्रेरित गर्न सफल भएको छ’, पौडेलले भने, ‘भोलिदेखि होइन आजैबाट इन्धन बचत गरौं भन्दै एकले अर्कालाई भन्दै जानुपर्छ।’ अहिले सहभागी भएका १५ सय जनाले थप १०÷१० जनालाई साइकल चढ्न सहमत गराए भने १५ हजार बढीको रुचि एकै पटक प्रकट हुन्छ।

पौडेलका अनुसार यो अभियान सञ्चालन गर्न ४० वटा संस्थाले सहकार्य गरेका थिए। साइकल र्‍यालीको तेस्रो संस्करणसम्म आइपुग्दा समाजमा प्रभाव पार्ने व्यक्ति तथा संस्थाहरूसँग सञ्जाल विस्तार गरी सहकार्य गर्ने अवसर पाएको पौडेलले बताए।

साइकल र्‍याली इन्धन बचाउने र वातावरण जोगाउने सांकेतिक कार्यक्रम भए पनि अहिले बैंकले सकेसम्म विद्युतीय सवारी साधन प्रयोग गर्न प्रेरित गरिरहेको छ। काठमाडौंलाई ‘साइकल सिटी’ का रूपमा विकास गर्न तत्कालै नसके पनि साइकल प्रयोगलाई सरकारी स्तरबाटै प्रोत्साहन गरिनुपर्ने र यसका लागि सांग्रिला बैंकले सहजीकरण र सहयोग गर्ने पंगेनीले बताए।

उनका अनुसार अहिले साइकल कमिटीहरूसँग पनि बैंकले सहकार्य गरिरहेको छ। रिङरोड बनिरहेको सन्दर्भमा अनिवार्य रूपले साइकल लेन राख्नु सार्वजनिक हितका दृष्टिले उपयोगी हुने धारणा पंगेनीको छ।  

प्रकाशित: २४ जेष्ठ २०८१ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App