२२० केभी क्षमताको ‘चिलिमे हब’ सबस्टेसन र प्रसारण लाइन समयमा नबनेकाले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली खेर गएको छ। आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरी चिलिमे हब निर्माण कार्य पूरा नहुँदा सो आयोजनाको बिजुली विगत चार महिनादेखि खेर गएको हो।
गत २०८० माघ पहिलो साता उत्पादन परीक्षण गरिसकेको आयोजनाले अहिलेसम्म विद्युत्को व्यावसायिक उत्पादन सुरु गर्न सकेको छैन। जसका कारण आयोजनाले उत्पादित विद्युत् बेचेर चार महिनामा एक अर्बभन्दा बढी आम्दानी गुमाएको हो।
‘चिलिमे हब’ सबस्टेसन र चिलिमेदेखि त्रिशुली ३ ‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइन नबन्दा आयोजनाले विद्युत् उत्पादनबापत मासिक २७ करोड रूपैयाँ क्षति बेहोरिरहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताए। ‘विद्युत् उत्पादनबापत मासिक २७ करोडले क्षति भइरहेको छ,’ उनले भने, ‘ऋणको ब्याजलगायतको छुट्टै खर्चसमेत गरी मासिक १५ देखि २० करोड रूपैयाँसम्म घाटा भइरहेको छ।’
उनका अनुसार मासिक २७ करोडका दरले चार महिनामा एक अर्ब आठ करोड र साँवा ब्याजबापत १५ देखि २० करोड रूपैयाँ क्षति भइरहेको छ। आयोजना आफैंले बनाउनुपर्ने विद्युत् गृहदेखि चिलिमे हबसम्मको १० किलोमिटरको प्रसारण लाइन बनाइसकेको छ। चिलिमे हब निर्माणको ढिलाइले भने आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा आउन सकेको छैन।
चिलिमे हबदेखि त्रिशुली–३ बी हबसम्म बन्ने २८ किलोमिटर लामो प्रसारण लाइनको निर्माण पनि पूरा हुन सकेको छैन। त्यसखण्डमा ७५ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ६८ वटा टावर मात्र ठड्याइएको छ। बाँकी सात वटा टावरको अहिलेसम्म जग नै खनिएको छैन। प्रसारण लाइन निर्माणका लागि आवश्यक सम्पूर्ण उपकरण तथा सामग्री निर्माणस्थलसम्म पुगिसकेको आयोजनाले जनाएको छ।
चिलिमे हबको काम तीव्र रूपमा भइरहेको र एक-डेढ महिनाभित्र सम्पूर्ण काम सकिने प्राधिकरणले जनाएको छ। रसुवागढी जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवद्र्धित जलविद्युत् आयोजना हो।
निर्माणको अन्तिम चरणमा पुगेको सो जलविद्युत् आयोजना भूकम्प, नाकाबन्दी, कोभिडलगायतका कारणले निर्माणको अवधि लम्बिएको छ। जसका कारण आयोजनाको लागतसमेत बढेको आयोजनाले जनाएको छ। रसुवागढी जलविद्युत् आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अनुमान छ।
चिलिमे हब सबस्टेसन समयमै नबन्दा माथिल्लो सान्जेनबाट उत्पादित बिजुली पनि पूर्ण क्षमतामा राष्ट्रिय ग्रीडमा जोडिन सकिएको छैन। पुरानो चिलिमे प्रसारण प्रणाली र आयोजना आफैंले ११ केभीको प्रसारण लाइन बनाएर ग्रीडमा जोडेको छ । त्यस्तै ४२ मेगावाटको सान्जेन जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छ।
चिलिमे हब निर्माण कार्य लम्बिँदै गएमा सान्जेनबाट उत्पादन हुने बिजुलीसमेत खेर जाने सम्भावना छ। त्रिशुली– ३ ‘बी’लगायत प्राधिकरणका सहायक कम्पनी र निजीक्षेत्रका गरी चिलिमे हबमा झन्डै ४०० मेगावाटका जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा जोडिनेछन्।
तीमध्ये दुई मेगावाटका जलविद्युत् आयोजना निर्माण कार्य पनि अन्तिम चरणमा रहेको प्राधिकरण स्रोतको दाबी छ। कतिपय जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा रहे पनि प्रसारण लाइनको गति सुस्त रहेको ऊर्जा उद्योगीको गुनासो छ।
नेपालमा सामान्यतः जुन १३ मा ‘मनसुन’ भित्रिने गरेको छ। अर्थात् आगामी एक महिनापछि सुरु हुने बर्खायाममा जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ। त्यसबेला वर्षौं पुराना र जीर्ण प्रसारण प्रणालीका कारण बिजुली खेर जाने गरेको छ।
गत वर्षको बर्खायाममा तीन सय मेगावाटभन्दा बढी बिजुली खेर जाँदा दुई अर्ब बढीको नोक्सान बेहोरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले जनाएको छ। यसवर्षको बर्खायाममा पनि त्यसभन्दा बढीको बिजुली खेर जाने देखिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए।
बनिरहेका प्रसारण लाइन र सबस्टेसनलाई छिटोभन्दा छिटो सम्पन्न गर्नेतर्फ प्राधिकरण र सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। ‘कतिपय ठाउँमा प्रसारण लाइन बनेका छैनन् र बर्खाअघि बन्लान् जस्तो देखिएको पनि छैन,’ उनले भने, ‘यही कारण गत वर्षभन्दा बढी बिजुली खेर जाँदा निजी ऊर्जा प्रवर्द्धकलाई ठूलो नोक्सानी हुनेछ। यसप्रति सरकारले पनि गम्भीर भएर सोच्नुपर्छ।’
बिजुली खेर जानेस्थितिको अन्त्य गर्न सरकारले प्रसारण लाइन निर्माणको जिम्मेवारी पनि निजीक्षेत्रलाई दिनुपर्ने उनको भनाइ छ।
प्रकाशित: ३१ वैशाख २०८१ १०:११ सोमबार