७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

वित्तीय साक्षरता पाठ्यक्रममै राख्न सुझाव

नेपाल रिपब्लिक मिडियाको ‘नागरिक चौतारी’

सर्वसाधारणसँग प्रत्यक्ष जोडिएका विषयमा नागरिकसँग छलफल गर्न नेपाल रिपब्लिक मिडियाले ल्याएको ‘नागरिक चौतारी’ कार्यक्रम काभ्रेको बनेपाबाट मंगलबारदेखि सुरु भएको छ।

नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित तथा ज्योति विकास बैंकद्वारा प्रस्तुत ‘नागरिक चौतारी’को पहिलो संस्करण काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा भएको हो।

नागरिकको हातमा नागरिक भन्ने उद्देश्यसहित २०६५ मा स्थापना भएको नेपाल रिपब्लिक मिडियाले जानकार नागरिक नै लोकतन्त्रका संवाहक हुन् भन्ने भावका साथ यो कार्यक्रम ल्याएको हो।

यही मर्मलाई महसुस गर्दै सूचनाको माध्यमबाट हरेक नेपालीको सामाजिक र आर्थिक जीवन उत्थानमा हातेमालो गर्ने उद्देश्यले नागरिक चौतारीको पहिलो संस्करण सुरु भएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रिपब्लिक मिडियाका प्रमुख व्यापार अधिकृत (सिबिओ) उजेनलाल श्रेष्ठले ‘नागरिक चौतारी’ आयोजनाको उद्देश्य सर्वसाधारणलाई आर्थिक तथा वित्तीय अवस्था तथा विषयबारे सचेत निर्णय गर्न मदत पु¥याउनु रहेको बताए।

बनेपाबासीको सशक्तिकरण, वित्तीय साक्षरता, सुविधा तथा डिजिटल बैंकिङमा पहुँच वृद्धि गर्ने उद्देश्यले भएको पहिलो कार्यक्रममा ज्योति विकास बैंकका तीन जना विशेष विज्ञहरूसँग सामूहिक छलफल गरिएको थियो।

सामूहिक छलफलमा ज्योति विकास बैंकका जोखिम अधिकृत रोशन थापा, प्रमुख सञ्चालक तथा बजारीकरण अधिकृत बलदेव थापा र बैंकका कार्ड तथा डिजिटल बैंकिङ विभागका प्रमुख सुवास नेपाल रहेका थिए। उनीहरूसँगको छलफलमा सहजकर्ताको भूमिकामा कुशलजंग अधिकारी रहेका थिए।

छलफलमा उनीहरूले वित्तीय साक्षरतालाई भोलिका दिनमा दह्रो बनाउन विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिए। यसो हुनसके आजका बालबालिकाले भोलिका दिनमा राम्ररी बुफ्ने मात्रै नभई त्यसका चुनौती र अवसरहरूबारे बुझ्ने उनीहरूको सामूहिक भनाइ थियो।

‘बचत गर्न अहिलेबाटै विद्यार्थीलाई शिक्षकले बुझाउनु आवश्यक छ। वित्तीय साक्षरता बृहत् र महत्त्वपूर्ण विषय हो, उनीहरूले भने, वित्तीय साक्षरता भन्ने वित्तिकै पैसाको आम्दानी, पैसाको सदुपयोग र बचत गर्ने भन्ने शिक्षा हो। वित्तीय साक्षरता हरेक किसिमका, हरेक मानिसलाई आवश्यक हुन्छ।’

उनीहरूले मुलुक र जनतालाई गरिबीबाट माथि उठाउन वित्तीय साक्षरता जरूरी रहेको पनि बताए । उनीहरूले वित्तीय साक्षरता पछिल्लो समय बैंकका उच्च तहका अधिकृतदेखि सर्वसाधारणका लागि आधारभूत आवश्यकता बन्दै गएको बताए।

‘मुलुकलाई गरिबीबाट माथि उठाउन वित्तीय साक्षरता निकै महत्वपूर्ण छ, उनीहरूले भने। व्यापार व्यवसाय असफल हुनुको प्रमुख कारण पनि वित्तीय साक्षरता नहुनु रहेको सुनाए। सही निर्णय लिन वित्तीय साक्षरताले सहयोग गर्दै समृद्धिको बाटोमा लैजान सक्नेसमेत उनीहरूले औंल्याए।

बैंकका जोखिम मूल्यांकन अधिकृत रोशन थापाले वित्तीय साक्षरताले सबैभन्दा ठूलो भूमिका खेल्ने दाबी गरे। उनले भने, ‘बैंकसँग सबै सर्वसाधारण जोडिएका हुन्छन्। वित्तीय साक्षरता बढाउन विद्यार्थी तहबाट नै कार्यक्रम सञ्चालन गर्नुपर्छ। विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न सकियो भने उनीहरूले आफू पनि सिक्छन् र अभिभावकलाई पनि सिकाउन सक्छन्।’

बैंकलाई स्कुलमा वित्तीय साक्षरता बढाउन एक कक्षादेखि नै बचत, वित्तीय सारक्षरताका कार्यक्रम, डिजिटल बैंकिङ सचेतना, साइबर सेक्युरिटी जस्ता विषय समावेश गरेर अगाडि जानुपर्ने उनको भनाइ छ।

बैंकका प्रमुख सञ्चालक तथा बजारीकरण अधिकृत वलदेव थापाले मुलुक र जनतालाई गरिबीबाट माथि उठाउन वितीय साक्षरता जरुरी रहेको औंल्याए। ‘गाउँ–गाउँमा घरबाटै वित्तीय सेवा प्रयोग गर्नेको संख्या बढेको छ।

उनीहरूमा यसको जोखिमबारे भने बुझाइ कम रहेको हुँदा सचेतना बढाउनुपर्ने देखिन्छ’, उनले थपे, ‘सहरी क्षेत्रमा घरमा बस्ने आमाबुबा र ग्रामीण क्षेत्रमा सानातिना व्यापार व्यवसाय गर्ने तथा उपभोक्ता सबैलाई वित्तीय साक्षरता आवश्यक छ। नेपालमा वित्तीय साक्षरतालाई महत्त्वपूर्ण रूपमा हेरिएको हुँदा कस्ता कारोबार गर्न हुन्छ भनेर नागरिकलाई सचेत बनाउन जरुरी रहेको उनले बताए।

बैंकका कार्ड तथा डिजिटल बैंकिङ विभागका प्रमुख सुवास नेपालले वित्तीय साक्षरता भनेको बचत मात्रै नभएर डिजिटल माध्यमबाट हुने वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण निवारण जस्ता विषयको जनचेतना पनि भएको उनको भनाइ छ।

ज्योति विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो। यसले देशभरिका ४४ वटा जिल्ला तथा काठमाडौं लगायत अन्य गरेर हाल एक सय २४ ठाउँहरूबाट सेवा दिइरहेको छ। 

प्रकाशित: २७ वैशाख २०८१ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App