६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त

आगजनीले ध्वस्त भएको स्याङजाको करेन्डाँडाको सुन्तला बगैंचा। तस्बिरः नागरिक

खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ। दाना लागेका बोट र हुर्कँदो सुन्तलाका बिरुवा आगलागीले ध्वस्त भएका छन्। सुन्तलासँगै कफी, अलैँची, लिची, आपका बोट पनि जलेका छन् । त्यस्तै सुन्तला खेतीमा सिँचाइ गर्नका लागि पानी ल्याउने पाइप पनि आगोले डढेको छ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना–सुन्तला सुपर जोनका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका–११ करेन्डाँडाका ४४ जनाको सुन्तला बगैँचामा आगलागीले क्षति गरेको छ। सुन्तलाका दाना लागेका ४ हजार ९ सय ७७ र हुर्कँदो बिरुवा २ हजार ६ सय ७४ वटा बिरुवा आगलागीले ध्वस्त भएका छन्। त्यस्तै कफीका ५ हजार बोट पनि आगलागीले ध्वस्त भएको सुन्तला सुपरजोनले बताएको छ।  

आगलागीले सुन्तलासँगै तेजपत्ता, सिताके च्याउका मुढा, भूइँकटहर, लिची र आपका बोट सहित अलैँचीमा पनि नोक्सान गरेको छ। सबैगरि एक करोड ८ लाख रुपैयाँको क्षति भएको सुपरजोनका प्राविधिक सहायक इन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सुन्तलामा मात्र करिब एक करोड रुपैयाँको क्षति पुगेको छ।  

‘आगलागीले पुगेको क्षति यो वर्षको लागि मात्र नभई बहु वर्षे हो । त्यही भएर यसको क्षति ठूलो छ,’ उनले भने, ‘यो वर्षका लागि मात्र हामीले एक करोड ८ लाख रुपैयाँको क्षतिको मूल्यांकन गरेका हौ। किनकि आगोमा परेका यी बोटविरुवाले लामो समयसम्म उत्पादन दिन्थे। किसानले ती बोटविरुवाबाट वर्षौँसम्म लाभ लिन पाउँथे, तर, त्यो मौका अब गुमेको छ।’ गत वैशाख १९ गते लागेको आगोले फल दिने बोट बिरुवा बाहेक घर गोठमा समेत क्षति पुगेको थियो।

सुवेदीका अनुसार आगोले भेटेका सुन्तला सहित फलका बोटबिरुवा जलेका छन्। आगोले लप्कोले भेटेका र दाना लागेका बोटलाई बढी क्षति हुने उनले बताए। अहिले आगोले जलेका मध्ये ७० प्रतिशत बोटविरुवाले भविष्यमा काम नदिने उनले बताए। ‘७० प्रतिशत बोट बिरुवाले अब फल दिन सक्दैनन्। कतिपय त सुक्ने अवस्थामा पुगिसकेका छन्। ती बोटबाट किसानले लाभ पाउँदैनन्,’ उनले भने।  

उनका अनुसार सुन्तला बगैँचामा सिँचाइ गर्न र पिउनका लागि ल्याइएको १२ हजार ५० मिटर खानेपानीको पाइप पनि आगलागीले ध्वस्त भएको छ। सुन्तलालाई सिँचाइ नभई नहुने भएपनि अहिले आगलागीले पाइप नै जलेको उनले बताए। ‘स्याङ्जाले सुन्तलाबाट राम्रो लाभ लिएको थियो। तर, यो पटक बढी क्षति भोग्नुपर्‍यो,’ उनले भने। स्थानीयका अनुसार खेतमा जम्मा भएको झारपात जलाउनका लागि स्थानीयले आगो सल्काएको र त्यही आगोलाई हावाले हुत्याउँदै सुन्तला बगैँचामा पुगेको हो।

आगलागीले सबैभन्दा बढी नोक्सान स्थानीय भूमिजंग केसीले खेपेका छन्। केसीका मात्र करिब ३ हजार सुन्तलाका बोट आगलागीले ध्वस्त भएको स्थानीय सुन्तला किसान बोधराज अर्यालले बताए।

‘सुन्तलाले राम्रो आम्दानी लिन सफल किसानलाई आगलागीले ठूलो क्षति भएको छ। ती बोट पुन बाच्ने अवस्थामा देखिँदैन,’ अर्यालले भने, ‘अहिल्यै नै बोट सुकेजस्तै भएका छन्।’

ठूलो नोक्सान खेपेका भूमिजंग केसीले यो सिजनमा मात्र सुन्तला बेचेर १५ लाख रुपैयाँ आम्दानी गरेका थिए। तर, आगलागीले बोटबिरुवा ध्वस्त भएपछि त्यो आम्दानी गुम्ने उनले बताए। ‘आगोको लप्कोमा परेका बोट सुकेजस्ता भइसकेका छन्। जल्नबाट बचेका बोटका पात पनि झर्न थालेका छन्। पानी पनि परेको छैन, त्यही भएर ती सुन्तलाले आम्दानी दिनेमा म ढुक्क छैन,’ केसीले भने।  

उनका अनुसार सुन्तलाको बोटको बोक्रा अरूको भन्दा पातलो हुन्छ। त्यही भएर आगलागीले बोटलाई बढी क्षति हुन्छ। ‘बोक्रा बाक्लो हुने बोटलाई सामान्य आगोको लप्काले खासै क्षति गर्दैन। तर, पातलो बोक्रा भएकोले सुन्तलाको बोटमा क्षति बढी हुन्छ,’ केसीले भने।  

सरकारी तथ्यांक अनुसार स्याङ्जाले पछिल्लो समय सुन्तलाबाट निकै नै ठूलो आम्दानी गरिरहेको छ। सुन्तला खेती गर्ने सामान्य किसानले पनि वर्षमा कम्तीमा एकलाख रुपैयाँ सहजै कमाउन सकेका छन्। जिल्लाका सबैजसो गाउँका किसानले सुन्तलाबाट आम्दानी गर्न थालेपछि यसअघि अन्नबाली फलिरहेको र वर्षौँदेखि बाझिएको जग्गालाई पनि किसानले सुन्तलाखेतीमा परिणत गर्न थालेका छन्।  

अघिल्लो वर्ष स्याङ्जाले सुन्तला बेचेर मात्र एक अर्ब ३८ करोड रुपैयाँ भित्र्याएको थियो। कम्तीमा एक अर्ब रुपैयाँ त किसानकै हातमा परेको थियो। पोहोर सबैगरि २२ हजार मेट्रिक टन सुन्तला जिल्लामा फलेको अनुमान छ। तर, यो पटक उत्पादनमा केही कमी भएर कम्तीमा एक अर्ब रुपैयाँ आम्दानी भएको गरेको थियो। यो वर्ष उत्पादन केही घट्दा १७ हजार मेट्रिक टन सुन्तला फलेको थियो।  

अहिले स्याङ्जाका सबैजसो स्थानीय तहमा सुन्तला खेती हुन्छ। सबैगरि २ हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। त्यो मध्ये १३ सय हेक्टर क्षेत्रफलको खेतीले उत्पादन दिन्छ भने बाँकी नौ सय हेक्टरको क्षेत्रफलका बिरुवा उत्पादन दिने तयारीमा छन्। केही आगामी सिजनमा र कतिपय बिरुवाले अझै केही वर्षपछि उत्पादन दिने सुन्तला सुपरजोनको अनुमान छ।

प्रकाशित: २४ वैशाख २०८१ १५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App