७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिहीबार खुलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान शुक्रबार पुनः रोकियो

उडान रोकिँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका पाहुना। फाइल तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानमा पुन: अवरोध आएको छ। बाक्लो तुवाँलोका कारण बिगत एक सातादेखि विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा अवरोध आइरहेको थियो। अघिल्लो शुक्रबारदेखि रोकिएको उडान हिजो विहीबार खुलेपनि शुक्रबार पुन अवरुद्ध भएको विमानस्थलले बताएको छ।  

विमानस्थलका सूचना अधिकारी प्रमोद नेपालका अनुसार विहीबार रात्रीबिसान गरेका जहाज शुक्रबार बिहान उडेर काठमाडौं गएपनि काठमाडौंबाट भने जहाज पोखरा आउन सकेनन्। उनका अनुसार शुक्रबार बिहान पोखराबाट बुद्धका दुइ र यतीको एक गरि तीनवटा जहाज उडेर काठमाडौं गएका थिए। तर, काठमाडौंबाट कुनैपनि जहाज पोखरा आउन नसकेको उनले बताए। शुक्रबार बिहान पोखराबाट उडेका तीनवटा जहाज विहीबार बेलुकी पोखरामा बास बसेका थिए।

‘भिजिविलिटी नै अपुग भएकोले उडानमा अवरोध आएको हो। हिजो विहीबार एकदिन विमानस्थल पूर्ण रुपमा खुल्यो, तर, शुक्रबार देखि पुन अवरोध सुरु भयो,’ उनले भने, ‘आज कतिखेर विमानस्थल खुल्छ भन्ने यकिन छैन।  भिजिविलिटीको दूरी बढ्ने र घट्ने भईरहेको छ।’ 

अघिल्लो शुक्रबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध आएकोमा आइतबार पनि मध्यान्हपछि केही उडान भएका थिए। त्यसपछि विहीबार मात्र विमानस्थल खुलेको थियो। तर, शुक्रबार पुन अवरोध भएको उनले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नका लागि कम्तिमा ३७ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर, पछिल्लो समय पोखराको भिजिविलिटी १५ सयदेखि २ हजार मिटरसम्म हुने गरेको छ। ‘जहाज अवतरण गर्नका लागि पर्याप्त भिजिविलिटी नै छैन। त्यही भएर उडान रोकिएको हो,’ उनले भने। उनका अनुसार पोखराबाट जहाज उड्नका लागि भने १६ सय मिटरको भिजिविलिटी भए पुग्छ।  

यतिबेला पोखरामा बुद्धले २०, यतीले १० र श्री एयरलाइन्सले ३ गरेर दिनमा दिनमा ३३ वटासम्म उडान हुँदै आएको छ। पोखराबाट काठमाडौंबाहेक भैरहवा, नेपालगञ्ज र भरतपुर तथा पोखराको पुरानो विमानस्थलबाट जोमसोमसम्म उडान हुने गरेको छ। हवाई उडान अनिश्चित भएपछि हवाई उडानका यात्रुपनि कम भएका छन। विहीबार उडान भएपनि पूर्ण क्षमतामा यात्रु नभएको हवाई कम्पनिको भनाई छ। उडान हुने वा नहुने भन्ने यकिन नभएकोले यात्रुले टिकट नलिएको उनीहरुको भनाई छ।

प्रकाशित: २१ वैशाख २०८१ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App