पर्यटन मन्त्रालयले राखेको तथ्यांक अनुसार सन् १९९५ पछि सबैभन्दा कम विदेशी पाहुना भित्रिएको महिना हो २०२० को अप्रिल। त्यो महिना नेपालमा जम्मा १४ जना विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएको तथ्यांक छ। त्यसपछिका अरु पाँच महिनासम्मको तथ्यांकमा नेपालमा विदेशी पर्यटक भित्रिएको संख्या तीन अंकभित्रै सीमित थियो।
पर्यटकीय दृष्टिले कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी मार खेपेको महिना हो २०२० अप्रिल। त्यसभन्दा अघिल्लो महिना २०२० को मार्चमा पनि पर्यटन क्षेत्रले कोरोनाकै कारणले केही नोक्सान त बेहोरिसकेको थियो। तर, आगमन दुइ अंकमा झरेको पहिलो महिना भने २०२० अप्रिल थियो। जतिबेला नेपालमा कोरोना त्रासका कारणले लकडाउन गरिएको थियो।
पर्यटन क्षेत्रले सबैभन्दा मार खेपेको महिनामा आएको पाहुनाको आगमन दुई अंकमा सीमित छँदा पर्यटन क्षेत्र निकै नै अत्तालिएको पनि थियो। कोरोना त्रासले सर्वत्र चकमन्न हुँदा पर्यटन क्षेत्र पनि सुस्ताउन पुग्यो। हुन त पर्यटन व्यावसायीले कोरोनाको असर केही वर्ष रहने भन्दै त्यही बेला आँकलन गरेका थिए। अझ कतिपय व्यावसायीले त कोरोनाको मारमा परेको पर्यटन क्षेत्र सन् २०२४/२५ पछि बल्ल पहिलेकै आकारमा फर्किने अनुमान समेत गरेका थिए।
व्यावसायीको त्यही अनुमानसँग मेल खाँदै नेपालको पर्यटक आगमन २०१९ को महिनालाई उछिन्दै उकालो लाग्न थालेको छ। हुन त २०२४ कै मार्च महिनाको आगमनले पनि २०२३ को मार्चलाई उछिनेको थियो, तर कोरोनाको असर पर्न थालेको सुरुवाती समयमा परेकोले २०२० को मार्चको आगमन भने निकै नै राम्रो थियो। कोरोनाकोे प्रभाव परिसकेपनि आगमन संख्या (२०२० मार्च) झन्डै ४३ हजार थियो। तर २०२० को अप्रिलको आगमन भने जम्मा १४ मा सीमित थियो।
पर्यटन बोर्डको पछिल्लो तथ्यांक अनुसार २०२० को अप्रिलको आगमन १४ रहँदै गर्दा २०२४ को अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ मा उक्लेको छ।
‘कोरोनाले थला परेको पर्यटन क्षेत्र २०२४ मा कम्तिमा रिभाइभ हुने पहिलाकै अनुमान हो। भूकम्पको असर पनि २ वर्षमै सामान्य अवस्थामा फर्किसकेको थियो,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन, ‘नेपाललाई गन्तव्य बनाउने र माया गर्ने चलन अन्तर्राष्ट्रियस्तरमा छ। पर्यटनको प्रभाव पनि त्यही अनुसार पर्छ।’
दुइ अंकमा सीमित रहेको आगमन चारवर्ष अवधिमै १ लाख ११ हजार पुग्नु पर्यटन क्षेत्रका लागि निकै नै खुसीको कुरा रहेको लामिछानेले बताए।
उनका बुझाइमा नेपालले खेपेको जस्तो विपद्को अप्ठेरो अरु मुलुकले पनि खेपेका हुन्छन, तर, ती मुलुकको पर्यटन क्षेत्र रिभाइभ हुन अझ बढी समय लाग्छ। ‘नेपालमा अलि चाँडो रिकभर हुने ट्रेन्ड छ। अरु मूलुकमा अझ बढी लामो समय लाग्छ यस्तो अवस्थामा। तर नेपालको पर्यटन क्षेत्रले भने अन्य मुलुकको तुलनामा छिटोगरि गति लिन्छ। हाम्रो अनुमान अनुसार नै अहिले आगमन उकासिएको छ,’ उनले भने।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि कोरोनाले अप्ठेरो पारेको पर्यटन क्षेत्रको रिकभर छिटो भएको बताउँछन। यो बीचको अवधिमा होटल र कोठा संख्या थपिएकोले पहिलेको आकारको अकुपेन्सीसम्म पुग्न नसकेपनि कोरोनाले थलिएको पर्यटन क्षेत्र छिटोगरि उकासिएको उनले बताए।
‘कोरोनाको असर यतिसम्म रहिरह्यो की पर्यटक आगमनले निकै नै गति लिँदापनि पर्यटन क्षेत्रले बेहोरेको घाटा भने अझै पूर्ति हुन सकेको छैन। त्यसो हुनुमा यो बीचमा लगानी बढ्नु मुख्य कारण हो,’ पराजुलीले भने, ‘तर, सामान्य अवस्थामा पर्यटन फर्केको छ । पर्यटन क्षेत्रले लय लिएको हो।’ कोरोनाका कारण २–३ वर्षसम्म खेपेको नोक्सानीबाट व्यावसाय माथि उठ्न नसक्दा पर्यटन क्षेत्रले गुनासो गरिरहेको उनले बताए।
पर्यटन क्षेत्रले लय लिएपनि यो संख्याले पर्यटनलाई पर्याप्त नहुने उनले बताए। ‘अब वर्षमा १० लाख पर्यटकले पुग्दैन। यो संख्या कम्तिमा दोब्बर हुने हो भने बल्ल राहत मिल्छ,’ उनले भने, ‘व्यावसायीको लगानी र पर्यटन क्षेत्रसँग पाहुनालाई आतिथ्यता दिने क्षमता बढेको छ।’ उनका अनुसार २०२० अघिको तुलनामा अहिले पर्यटन क्षेत्रसँग कम्तिमा ३० प्रतिशत बढी पर्यटक राख्न सक्ने क्षमता बढेको छ।
‘जे जस्तो भएपनि कोरोनाले थलिएको पर्यटन क्षेत्र छिटो रिकभर भएकै हो, अबपनि वर्षमा कम्तिमा २० लाख पर्यटक भित्र्याउन सकिएन लगानी जोखिममा पछर्,’ उनले भने, ‘अहिलेको आगमन पनि नराम्रो होईन तर, होटलका कोठा र लगानी थपिँदा व्यावसायीले खुसी महसुस गर्न नसकेका हुन।’ १४ जना पर्यटकबाट चारवर्षभित्रै एक लाख कट्नु पर्यटन क्षेत्रका लागि सुखद् सन्देश भएको उनले बताए।
प्रकाशित: २० वैशाख २०८१ १५:२४ बिहीबार