२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशः साढे नौ महिनामा जम्मा ३२ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा नयाँ आर्थिक वर्षको साढे ९ महिनामा केवल ३२ प्रतिशत मात्रै बजेट खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत बैशाख ८ गतेसम्ममा केवल ३१.९२ प्रतिशत मात्र बजेट खर्च गरेको हो। जसमा चालुतर्फ ३२.३९ प्रतिशत र पुँजीगततर्फ २९.६६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले जनाएको छ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। बैशाख ८ गतेसम्ममा १० अर्ब ६७ करोड २ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीका अनुसार चालुतर्फ १० अर्ब ६३ करोड १२ लाख ३८ हजार रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ खर्च भएको छ। त्यसैगरी पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा ५ अर्ब ९८ करोड ८२ लाख ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

वित्तीय हस्तान्तरण अनुदानतर्फ भने सन्तोषजनक खर्च भएको कार्यालयले बताएको छ। वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १० करोड ५५ लाख बजेट विनियोजन भएकोमा १ अर्ब २३ करोड २ लाख रुपैयाँ अर्थात ५८.८४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो साढे ९ महिनामा ३२.४६ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले १ अर्ब १९ करोड ४ लाख ५४ हजार बजेट रहेकोमा ३८ करोड ६४ लाख ४५ हजार ५ सय ७२ रुपैयाँ खर्च गरेको छ। आर्थिक मामिला मन्त्रालयले २६.६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। १५ करोड १५ लाख ७८ हजार बजेट रहेको आर्थिक मामिलाले ३ करोड ९५ लाख ७ हजार ६ सय ५६ रुपैयाँ खर्च गरेको छ।

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ३६.०२ प्रतिशत बजेट खर्चिएको छ। १ अर्ब ६० करोड ६२ लाख ४१ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले ५७ करोड ८५ लाख २२ हजार बजेट खर्च गरेको हो। कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २६.०३ प्रतिशत बजेट खर्च गरेको छ। कुल २ अर्ब २४ करोड ४६ लाख ९७ हजार बजेट रहेको सो मन्त्रालयले ५८ करोड ४३ लाख बजेट खर्च गरेको हो।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ३१.५३ प्रतिशत खर्च गरेको छ। ११ अर्ब ८८ करोड ३१ लाख ८८ हजार बजेट रहेको सो मन्त्रालयले ३ अर्ब ७४ करोड ७१ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ।

ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ४१.५७ प्रतिशत बजेट खर्चिएको छ। कुल ५ अर्ब १ करोड ७० लाख ५५ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले २ अर्ब ८ करोड ५५ लाख ३९ हजार रुपैयाँ बजेट खर्चिएको छ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ३४.६८ प्रतिशत बजेट खर्च गरेको छ। कुल ५ अर्ब १८ करोड ५३ लाख ६ हजार बजेट रहेको सो मन्त्रालयले १ अर्ब ७९ करोड ८२ लाख ५५ हजार रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८१ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App