१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरामा फेवा नववर्ष महोत्सव सुरु, होटलका कोठामा २० प्रतिशत छुट

पोखरा लेकसाइडमा विहीबार सुरु भएको फेवा नववर्ष महोत्सव अघि निकालिएको झाँकी। तस्बिरः नागरिक

बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने उद्देश्य सहित पोखरामा विहीबारदेखि फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली नयाँवर्षको अवसर पारेर आयोजित महोत्सवले पोखरामा बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको आयोजकले बताएको छ। तीनदिन आयोजना हुने महोत्सवको यो १९ औं संस्करण हो।  

होटल संघ पोखराको आयोजनामा विहीबारदेखि महोत्सव सुरु भएको हो। पर्यटकीय क्षेत्र लेकसाइमा आयोजित महोत्सवले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएको आयोजकले बताएको छ। महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। त्यस अवसरमा आचार्यले फेवातालको सिमसार पुरेर फाइदा लिन खोज्नेविरुद्ध महानगर कठोर बन्ने बताए।

फेवातालका विषयमा अदालतले गरेको ६५ मिटर सम्वन्धि फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिक पक्ष बुझ्ने काम भइरहेको जानकारी दिंदै उनले कसैलाई अन्याय नहुने गरी महानगर अगाडि बढ्ने उनले बताए। पोखरा पर्यटनको राजधानी घोषणा भइसकेकोले यहाँका व्यवसायी र नागरिकको व्यवहार पनि पर्यटकमैत्री हुनुपर्ने मेयर आचार्यले बताए। रात्रिकालिन व्यवसायको लागि छुट्टै अनुमति लिनुपर्ने र आवश्यक मापदण्ड पूरा गरेका व्यवसायको हकमा स्टिकर वितरण गर्ने गरि महानगरले तयारी अगाडि बढाएको उनले बताए।  

संघका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने बताए। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ। पोखरालाई पर्यटनको राजधानी घोषणा र महोत्सवको अवसर पारेर चैतदेखि बैशाख महिनाभरी छुट दिइने व्यावसायीले बताएका छन।  

‘आन्तरिक तथा बाह्य पाहुनालाई पोखरामा आकर्षण बढाउन सकिन्छ भनेर यो अफर ल्याएका हौ। यसले पाहुना आगमन बढाउने अपेक्षा छ,’ सुवेदीले भने, ‘मूल्य केही सस्तो पर्ने हुँदा पाहुनाको पोखरा बसाई अवधि पनि लम्बिने अपेक्षा छ।’ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको र नेपाली नयाँवर्षको अवसर पारेर धेरै पाहुना भित्रयाउन छुट घोषणा गरेको उनले बताए।

अध्यक्ष सुवेदीका अनुसार यसअघि व्यावसायीले पाहुना अभाव भएको भन्दै होटलको कोठाको मूल्य केही घटाएर पनि दिएका पनि थिए। अब पनि पहिला घटाएको मूल्यमा नै थप २० प्रतिशत छुट दिइने उनले बताए। ‘पाहुनाले पहिले तिरेको भन्दा २० प्रतिशत कम शुल्कमा कोठा पाउनेछन। महंगो परेको गुनासो पक्कै आउने छैन,’ उनले भने, ‘होटलले तोकेको मुल्य महंगो हुँदाहुँदै पनि पहिला सस्तोमा दिएका थिए। अब झनै सस्तो हुनेछ।’

महोत्सव ड्यामसाइटदेखि खहरेसम्म

नेपाली नयाँवर्षलाई लक्षित गर्दै होटल संघले १९ औं महोत्सव आयोजना गरेको छ। महोत्सव ड्यामसाइटदेखि खहरेसम्मको करिब पाँचकिलोमिटर क्षेत्रमा संचालन हुने होटल संघले बताएको छ। पोखराको ड्यामसाइट पुरानो पर्यटकीय गन्तव्य हो। फेवातालको पुछारमा पर्ने ड्यामसाइटमा पनि सयौं होटल छन। तर, त्यो क्षेत्र पछिल्लो समय केही ओझेलमा छ। पर्यटकीय गतिविधि लेकसाइड क्षेत्रमा बिस्तार भएसँगै ड्यामसाइट कमजोर बन्दै गएको थियो।  

‘पर्यटकीय दृष्टिले कमजोर बनेको ड्यामलाईटमा थप गतिविधि गरेर यो पटक महोत्सवलाइ अघिल्ला वर्षभन्दा फराकिलो बनाउन खोजेका हौ,’ संघका अध्यक्ष सुवेदीले भने, ‘कुनैबेलाको पर्यटकीय गतिविधि हुने ठाउँको रुपमा ड्यामसाइट थियो। तर, लेकसाइडमा गतिविधि बढेसँगै ड्यामसाइट ओझेलमा परेको हो। अब ड्यामसाइटलाई उकास्ने प्रयास थाल्नेछौ।’ ड्यामसाइटमा होटल व्यावसायीले माथिल्लो क्षेत्रमा पर्यटकीय गतिविधि बिस्तार भएसँगै आफुहरु ओझेलमा परेको गुनासो सुनाउँदै आएका थिए। व्यावसायीले फेवातालमा माछापुच्छ«ेको छायाँ देखिने गन्तव्य भन्दै ड्यामसाइटलाई पर्यटकमाझ परिचित गराउने गरेका छन।

प्रकाशित: २९ चैत्र २०८० १७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App