१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वायु सेवा निगमले नै पाएन ऋण

नेपाल वायु सेवा निगमले आन्तरिक ऋण व्यवस्थापन गर्न र नयाँ जहाज किन्न अन्तर्राष्ट्रिय निकायबाट करिब सवा खर्ब रूपैयाँ ‘सफ्ट लोन’ (सहुलियतपूर्ण ऋण) लिन खोेजेको भए पनि ऋण पाउन सकेको छैन। आन्तरिक रूपमा ऋण लिँदा ब्याज महँगो पर्ने भएपछि अन्तर्राष्ट्रिय निकायबाट एक खर्ब ३५ अर्ब रूपैयाँ ‘सफ्ट लोन’ का लागि प्रस्ताव आह्वान गरेकोमा विदेशी निकायले निगमलाई ऋण दिन चासो देखाएका छैनन्।  

वित्तीय व्यवस्थापन र नयाँ जहाज खरिदका लागि करिब एक हजार १८ मिलियन डलर ‘सफ्ट लोन’का लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई आह्वान गरेकोमा आवेदन नपरेपछि पुनः आह्वान गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए। ‘लोनका लागि आवेदन नपरेपछि पुनः प्रस्ताव आह्वान गरेका छौं,’ पौडेलले भने।

निगमले अहिले लिएको ऋणको ब्याजदर १० प्रतिशतभन्दा माथि भएकाले ५ प्रतिशतभन्दा कम ब्याजको सहुलियत ऋणका लागि प्रस्ताव आह्वान गरेको थियो। वायु सेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको करिब आधा खर्ब रूपैयाँ ऋण तिर्न बाँकी छ।

निगमले एयरबस जहाज किन्न ती संस्थाबाट ऋण लिएको थियो। निगमले एयरबस किन्दाको ऋण व्यवस्थापन गर्न ५५ अर्ब, नयाँ जहाज किन्न ७५ अर्ब, ह्यांगरका लागि पाँच अर्ब रूपैयाँ खर्चिने योजना बनाएर ऋण खोजेको थियो।

निगमले सस्तो ब्याजदरमा ऋण लिएर दुई संस्थाको ऋण व्यवस्थापन गर्ने र बाँकी रकमबाट जहाज किन्ने योजना बनाएको थियो। ‘सस्तो ब्याजदरको ऋण खोजिएको हो,’ पौडेलले भने, ‘ऋण पाए आन्तरिक व्यवस्थापन र नयाँ जहाज खरिदमा प्रयोग गर्ने योजना छ।’

निगमले अन्तर्राष्ट्रिय उडान भर्ने तीनवटा एयरबस (ठूला जहाज) किन्ने योजना बनाएको छ। सहुलियत ब्याजमा ऋण दिन चाहने स्वदेशी तथा विदेशी वित्तीय संस्थाले प्रस्ताव गर्न सक्नेछन्।

ऋणको सुरक्षणका लागि निगमले भौतिक सम्पत्ति, जहाज, परियोजना वा ऋणदाताले माग गरेअनुसारका धितो राख्नेछ। सरकारी स्वामित्वको निकाय भएकाले सरकार पनि जमानी बस्न सक्नेछ। निगमसँग अहिले अन्तर्राष्ट्रियतर्फ चारवटा मात्र जहाज छन्।

विदेशबाट सस्तो ब्याजदरको ऋण लिएर निगमको हितमा प्रयोग गर्ने प्रयास सकारात्मक रहेको नेपाल वायु सेवा निगमका अधिकारी बताउँछन्। व्यवसाय विस्तारका लागि निगमलाई नयाँ जहाज किन्नुपर्ने आवश्यकता छ।

सस्तोमा ऋण ल्याएर जहाज किन्न सके पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ। नेपालमा जहाज खरिद प्रक्रिया सधैं विवादमा पर्दै आएको छ।

निगमले आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद प्रक्रिया अघि बढाएको ६ महिना पुगे पनि अझै जहाज ल्याउन सकेको छैन। तीन वटा न्यारोबडी जहाज किन्न गत २२ अक्टोबर, २०२३ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेकोमा तीन वटा कम्पनीले आवेदन दिएका थिए ।

हिन्दुस्तान एरोनोटिकल लिमिटेड (इन्डिया), डी हाविल्यान्ड (क्यानडा) र एयरक्राफ्ट इन्ड्रस्ट्रिज (चेक रिपब्लिक) ले आवेदन दिएको भए पनि निगमले मूल्यांकनलाई टुंगोमा पु¥याएको छैन। निगमका अनुसार कम्पनी छनोटको प्रक्रियामा रहेको छ।

अहिले सञ्चालनमा रहेका दुई ट्विनअटर जहाजले मात्र सेवा दिन कठिन भए पनि नयाँ जहाज खरिद गर्न लागेकोे भए पनि त्यसको प्रक्रियामा भने ढिलाइ भएको छ।

निगमले दुर्गम क्षेत्रमा उडान गर्न आन्तरिक स्रोतबाट जहाज किन्ने प्रक्रिया अघि बढाएको छ । निगमले पहाडी क्षेत्रमा उडान गर्न सक्ने खालका ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ गर्ने जहाज किन्न लागेको हो। सोल्टी होटलमा रहेको सेयर बिक्री गरी झन्डै तीन अर्ब रूपैयाँमा तीन साना जहाज किन्ने निगमले जनाएको छ।

निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले दिएको सुझावका आधारमा जहाज किन्न लागेको हो। नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सिफारिस सुमितिले सुझाव दिएको थियो। 

सोही सुझावअनुसार निगमले जहाज किन्न लागेको जनाएको छ। निगमले किन्न खोजेका ट्विनअटर जहाजको बजार मूल्य करिब एक अर्ब रूपैयाँ छ। निगमसँग जहाज अभाव भएपछि नयाँ जहाज किन्न लागेको हो। निगमसँग अहिले आन्तरिक उडानका लागि दुई थान मात्र ट्विनअटर जहाज छन्।

राजनीतिक नेतृत्वको अनावश्यक हस्तक्षेपले निगमले व्यावसायिक योजना बनाएर सफलता पाउन सकेको छैन। दलहरूले निगमलाई राजनीतिक भर्ती केन्द्र बनाउँदा पनि व्यावसायिक योजनाअनुसार अघि नबढेको हो। निगम सुधारका लागि सरकारले आफ्ना आधा दर्जन उच्चस्तरीय समिति बनाएर विभिन्न समयमा प्रतिवेदन बनाएर दिए पनि कार्यान्वयनमा आएको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा आउने मन्त्रीका कारण पनि निगममा जहाज खरिदलगायत विभिन्न निर्णय विवादित हुँदै आएका छन्। निगमको वित्तीय अवस्था राम्रो छैन। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको अवस्था दयनीय छ।

प्रकाशित: २६ चैत्र २०८० ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App