१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

चार देशका पाइलटलाई पाराग्लाइडिङ तालिम

बेलका नगरपालिका ८ को पाराग्लाइडिङ स्पट बोप्ताङडाँडामा परीक्षण पाराग्लाइडिङ गर्दै। तस्विरः नागरिक

उदयपुरको बेलका नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको पाराग्लाइडिङ तालिम (एपी प्रोटनडम वर्कसप) सम्पन्न भएको छ। फ्लाइङ वन्डर्स पाराग्लाइडिङ स्कुल पोखराले आयोजना गरेको तालिम बेलका नगरपालिका ८ को पाराग्लाइडिङ स्पट बोप्ताङडाँडामा सञ्चालन गरिएको हो।

तालिममा विभिन्न देशमा व्यावसायिक पाराग्लाइडिङ उडान भर्दै आएका पाइलटले प्रशिक्षण दिएका थिए। साथै प्रशिक्षार्थीहरू पनि व्यावसायिक रुपमा उडान भर्दै आएका कम्पनीका पाइलट नै रहेको आयोजक फ्लाइङ स्कुलले जनाएको छ।

पाइलटलाई थप सुरक्षित बनाउँदै उडान क्षमता र सीप स्तरोन्नतिका लागि तालिम दिइएको आयोजक पाराग्लाइडिङ स्कुलका मुख्य प्रशिक्षक सुरेन गुरुङले बताए। तालिममा प्रशिक्षक गुरुङसँगै विदेशी प्रशिक्षक रोनाल्ड र अभि मल्लिकले प्रशिक्षण दिएका थिए।

बेलका ८ को बोप्ताङडाँडा पाराग्लाइडिङका लागि उचित स्थान भएको भूगोल हो। त्यसैले सोही ठाउँमा तालिम सञ्चालन गरिएको गुरुङले बताए। तालिममा चीन, हङकहङ, भारत र नेपालका गरी चार देशका १९ जना प्रशिक्षार्थी सहभागी थिए। तालिमका लागि उपयुक्त ठाउँ भएकाले बोक्ताङमै आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिममा प्राविधिक ज्ञानसँगै प्रयोगात्मक अभ्याससमेत गराइएको थियो। १० दिनसम्म सञ्चालन भएको तालिमका सहभाीलाई थप अभ्यास गराउन अझै केही दिन तालिमस्थलमै राखिने पनि प्रशिक्षक गुरुङले बताए।

केही वर्षअघि फेवातालमा पाराग्लाइडिङ दुर्घटना भएपछि पोखरामा पाराग्लाइडिङ प्रशिक्षण बन्द भएकाले आयोजकले उदयपुरमा प्रशिक्षण सञ्चालन गरेको जनाएको छ। पोखरापछि उदयपुर पाराग्लाइडिङका लागि उचित ठाउँ भएको भन्दै यहाँ प्रशिक्षण सञ्चालन गरिएको कम्पनीले जनाएको छ। यसले पोखरोको उडानको विकल्पसमेत भएको उसको भनाइ छ।

स्थानीय पाइलट जितेन्द्र रोइलाले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै विदेशी पर्यटक नेपाल भित्र्याउन पाराग्लाइडिङले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको बताए। रोइलाका अनुसार उदयपुरमा साइक्लिङ, पाराग्लाइडिङ र र्‍याफ्टिङको सम्भावना राम्रो भएकाले पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको छ।

प्रकाशित: ८ चैत्र २०८० १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App