७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन वर्षपछि मार्सी धान रोप्न कुलो निर्माणमा जुट्दै किसान

निर्माणाधीन ठिन्के कुलो निर्माण कार्यमा जुट्दै स्थनीय। यो कुलो निर्माण भएपछि आठ सय मुरीभन्दा बढी धान फल्ने खेतमा सिँचाइ पुग्छ।तस्बिर : नागरिक।

पहिरोले ठिन्के कुलो क्षतविक्षत भएपछि जुम्लाको चन्दननाथ नगरपालिकाका तीन गाउँका किसानले तीन वर्षदेखि काली मार्सी धान रोप्न सकेको छैनन्। भण्डारीबाडा, आचार्यबाडा र तलीचौर गाउँका किसानले धान रोप्न नपाएका हुन्।

सिँचाइ सुविधा बन्द भएपछि उनीहरु खेतमा जौ, गहुँ र सिमी रोप्दै आएका छन् । २०७८ साल असोज १९ गतेदेखि २५ सम्म (एक साता) परेको अविरल वर्षासँगै आएको बाढीले कुलो क्षतविक्षत भएपछि किसानले धान लगाउन सकेका थिएनन्।

जुम्लाको चन्दननाथ नगरपालिका– १ आचार्यबाडा गाउँका किसान रामबहादुर नेपालीले खेतमा धान रोप्न नपाएको तीन वर्ष भएको गुनासो गरे। कुलो भत्किएको ठाउँमा मर्मत गर्न नसक्दा काली मार्सी फल्ने फाँट बाँझो छाडेको उनले गुनासो पोखे।

उनले भने, ‘यो वर्ष ६० लाख बजेट उपलब्ध भएपछि ठिन्के कुलो मर्मत–सम्भारका लागि काम भइरहेको छ, तर रोपाइँको सिजनसम्म कुलो निर्माण सम्पन्न हुने–नहुने निश्चित छैन। उनका अनुसार जेठ महिना सुरु भएदेखि नै रोपाइँ सुरु गरिन्छ।

अर्का किसान नानी थ्याइतका अनुसार ठिन्के कुलोले भण्डारीबाडा, आचार्यबाडा र तलीचौरका खेतबारीमा सिँचाइ भइरहेको थियो । कुलोमा पानी आउन छाडेकाले खेत बाँझो छाड्नुपरेपछि मजदुरी गरेर गुजारा चलिरहेको उनले सुनाइन्। मार्सी धान र चामलको बजारमा अत्यधिक माग बढिरहेका बेला खेत बाँझै देख्दा मन खिन्न हुने गरेको नानी बताउँछिन्।

कुलोको नियमित रेखदेख र खेतमा सिँचाइ व्यवस्थापन गर्दै आइरहेका कर्णसिंह कुलाल पहिरोले कुलो भत्काउँदा सयौं किसानको उत्पादन प्रभावित भएको बताउँछन् । कुलालले भने, तीन गाउँमा आठ सय ७२ मुरी धान फल्ने खेत सिँचाइ हुन सकेको छैन ।

सिँचाइ अभावकै कारण आचार्यबाडा, ठिन्के, देउतीमाडी, पाल्तीसरा र लयापानी जिउलोमा धान रोपाइँ भएको छैन। तीन वर्षदेखि कुलो मर्मत नहुँदा झन्डै २ हजार ५ सय हेक्टर जमिन बाँझो छ।

जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी जाने सडक बनाउँदा थर्किएको जमिनमा वर्षाले पहिरो गएपछि मार्सी फलाइरहेका दुई सय घरधुरीका किसानले अहिले बजारको सेतो चामल किनेर खानुपरेको गुनासो गरिरहेका छन्।

कर्ण सिंहका अनुसार यसपटक सिँचाइ डिभिजन कार्यालय जुम्लाले ६० लाख रुपैयाँ विनियोजन गरेर कुलो मर्मतसम्भार भइरहेको छ, तर कडा चट्टान भएकाले समयमै काम सकिएर कुलो सञ्चालनमा आउनेमा अन्यौल देखिन्छ। १६ मुरी खेतमा जौं, गुहँ र सिमी रोप्दै आएका उनले कुलो बन्ने आशामा यसपटक मार्सी रोप्ने तयारी गरिरहेका छन्।

पातारासीको कोटभीरदेखि झन्डै ५ किलोमिटर दूरी हुँदै सिँचाइ कुलो बनाइएको हो। गत सिजनमा सिमी लगाएर १६ हजार रुपैयाँ बेचेको कर्णसिंहले सुनाए।

यता जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले तीन वर्षको पहलकदमीपछि मर्मतका लागि बजेट निकासा भएपछि रोपाइँको समयअघि कुलो सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए।

प्रकाशित: ८ चैत्र २०८० ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App