१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

घोषणामै सीमित पर्यटक भित्र्याउने अभियान

मुलुकमा पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले विभिन्न अभियान तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने भएकाले व्यवसाय उकालो लाग्न नसकेको आरोप व्यवसायीहरूले लगाएका छन्। व्यवसायीहरूका अनुसार सरकारले लोकरिझ्याइँका लागि मात्र यस्ता कार्यक्रम घोषणा गर्ने प्रवृत्ति बढेको छ।

सरकारले अहिलेसम्म ‘बृहत् लुम्बिनी आयोजना’, ‘नेपाल घुमौं नेपाल चिनौं’, ‘पहिला आफ्नो देश, त्यसपछि मात्र विदेश’, ‘पर्यटन दशक’, ‘भिजिट नेपाल’ जस्ता कार्यक्रम घोषणा गरिसकेको छ। पर्यटक धेरै भित्र्याउने नाममा यस्ता कार्यक्रम घोषणा गर्ने तर तिनको कार्यान्वयनमा पर्याप्त ध्यान पुर्‍याउन नसक्ने भएका कारण व्यवसायीहरू पलायन हुनेसम्मको अवस्थामा पुगेको व्यवसायीहरू बताउँछन्।

सरकारले कुनै पनि अभियान घोषणा गर्नुअघि पूर्व अध्ययन नगरेको, बजेटको सुनिश्चिततामा ध्यान नदिएको, विस्तृत योजनासमेत नबनाएको र गम्भीरतापूर्वक कार्यान्वयन गर्न ध्यान नदिएका कारणले कार्यान्वयन पक्ष कमजोर हुँदै आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

‘सरकार पर्यटन/पर्यटन भन्छ तर पर्याप्त बजेट विनियोजन गर्दैन’, श्रेष्ठ भन्छन्, ‘न त योजना अनुरूप मुलुकको पर्यटनको अन्तर्राष्ट्रिय प्रबद्र्धन नै प्रभावकारी ढंगले गर्छ ।’

उनी अगाडि भन्छन्, ‘सरकारसँग कार्यतालिकामा उल्लेख भएका कार्यक्रमहरू नै नगर्ने प्रवृत्ति हुर्किएकाले व्यसायीहरू मारमा परेका छन्।’

सरकारले पर्यटन पुनरुत्थान गर्ने भनेर विभिन्न कार्ययोजना ल्यायो। सन् २०२३ देखि २०३१ लाई पर्यटन दशक घोषणा गर्‍यो तर पर्यटन दशक घोषणा भएको १५ महिना बितिसक्दा पनि कुनै कार्ययोजना सार्वजनिक गरेको छैन्। सरकारले एक वर्ष अघि नै पर्यटन दशकको तयारी वर्ष भनेको थियो तर दोस्रो वर्षको तीन महिना बितिसक्दा समेत सरकारले अझैसम्म कुनै कार्यक्रम, योजना तथा बजेटको कार्यतालिका सार्वजनिक गरेको छैन। यसले गर्दा पनि पर्यटन व्यवसायीहरू रूष्ट हुन सहयोग गरेको छ।

पछिल्ला केही वर्षमा दुई अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन्। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा २०७८ सालमा गौतमबुद्ध विमानस्थल पनि सञ्चालनमा आयो। त्यसपछि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जसलाई तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि भनिन्छ, गत वर्षदेखि सञ्चालनमा आयो। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालन भएसँगै उत्साहित बनेका पर्यटन व्यवसायीहरू वर्षौंसम्म पनि अन्तर्राष्ट्रिय उडान गर्न नसक्दा मारमा परेका छन्।

कोरोनाले ठप्प पारेको पर्यटन व्यवसाय र यस क्षेत्रका व्यवसायीहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि उत्साह थपेको थियो। सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्‍यो तर न व्यवसायी न त सरकारले नै यसको फाइदा लिन सके। सरकार कुनै पनि मुलुकसँग हवाई ‘कनेक्टिभिटी’ विस्तार गर्न सक्षम नभएका कारण पर्यटनमा सम्भावना देखेर लगानी गर्ने व्यवसायीहरू मारमा परेका छन्।

चितवन र भैरहवाका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न बैंकबाट निकालेको ऋण तिर्न नसक्ने भन्दै विज्ञप्ति नै जारी गरे। बैंकबाट लिएको ऋण तिर्ने तर समय थप गरी दिनुपर्ने, कूटनीतिक पहल गरी अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गरेर उडान भर्न थाल्नुपर्ने जस्ता माग राखी व्यवसायीहरूले सरकासँग पटकपटक छलफल गरिसकेका छन्।

नेपाल होटल एसोसिएसनका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्दा व्यवसायीहरू पलायन हुने दिन आइसकेको बताउँदै आएका छन्। विमानस्थलको सम्भावना देखेर अर्बौ लगानी गरेका चितवन, भैरहवा, लुम्बिनी, र पोखरा जस्ता सहरका व्यवसायीहरू बैंकको ऋण तिर्न नसकेर विक्षिप्त बनेको बताइरहेका छन्।

यस्तै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पनि पर्यटनसँग सम्बन्धित व्यवसायहरूको अवस्थामा के छ भन्ने थाहा पाउन सरकारले नसकेको बारम्बार बताएका छन्। उनले पर्यटनक्षेत्रको प्रवद्र्धन गर्न सरकारले अन्तर्राष्ट्रिय स्तरमा जति काम गर्नुपर्ने थियो त्यो गर्न नसकेको बताएका छन्।

शर्मा लगायतका व्यवसायीका अनुसार पर्यटकलाई पर्याप्त सेवा सुविधासहितको व्यवस्था गर्नुपर्ने भएकाले पर्यटन व्यवसायमा अर्बौ लगानी गर्नुपर्ने हुन्छ तर सरकार भने आफूले प्रतिबद्धता गरेअनुसारको कामसमेत गर्न सक्दैन। जसले पर्यटन क्षेत्रका व्यवसायीहरू घर न घाटको हुनुपर्ने अवस्था आएको छ। सरकारी कार्ययोजनाहरू समयमा पूरा नगरेको बताउने व्यवसायीहरूले सरकारको नालायकीपनले नै व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्था आएको बताउँछन्।

पर्यटन क्षेत्रले व्यापार, वैदेशिक मुद्रा आर्जन, कनेक्टिभिटी, आर्थिक वृद्धि, रोजगारी सिर्जना, जीवनस्तरमा सुधार, गरिबी न्यूनीकरण, दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायको लागि जीवनयापन र समृद्धिको आधार तय गर्न समेत सक्षम बनाउँछ।

भौगोलिक दृष्टिले पनि विविधतायुक्त नेपालमा पर्यटकले चाहँदा साह्रै छोटो समयमा हिमाल, पहाड र तराईको अनुभव हासिल गर्न सक्छन्। त्यसैगरी नेपालमा १२५ भन्दा बढी जातजाति र १२३ बढी भाषाको प्रयोग हुने बहुभाषी र विविध संस्कृतियुक्त देश पनि हो।

चीनबाट वार्षिक लगभग २० करोड र भारतबाट १० करोड नागरिक घुमफिर गर्न देशबाहिर निस्किन्छन्। त्यसको २/३ प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सके नेपालको पर्यटन क्षेत्रलाई पर्याप्त हुने व्यवसायी बताउँछन्। 

प्रकाशित: २४ फाल्गुन २०८० १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App