१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

वैदेशिक व्यापारमा २८ अर्बले संकुचन

मुलुकको वैदेशिक व्यापार करिब २८ अर्ब रूपैयाँले खुम्चिएको छ। मुलुकमा आर्थिक गतिविधि सुस्त भएको र आयातनिर्यातमा गिरावट आएपछि वैदेशिक व्यापार खुम्चिएको हो।

आन्तरिक अर्थतन्त्रमा देखिएको मन्दीको कारण आयातनिर्यात प्रभावित हुनुलाई लिइएको छ। उत्पादन र उपभोगमा आएको संकुचनको असर वैदेशिक व्यापारमा देखिएको छ। अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव आयातनिर्यातमा परेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए। ‘बजारमा माग नबढेकाले आयात बढ्न सकेको छैन,’ महानिर्देशक पौडेलले भने, ‘उत्पादन बढ्न नसक्दा निर्यात घटेको हो।’

पोहोरको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को सात महिना (साउनदेखि माघसम्म) कुल वैदेशिक व्यापारमा २.७५ प्रतिशतले गिरावट आएको छ। पोहोर सात महिनाको अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रूपैयाँको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा नौ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको व्यापार भएको छ।

यो अवधिमा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको छ। सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोडको वस्तु आयात भएको छ भने ८६ अर्ब ८३ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। स्वदेशमा उत्पादन घटेर आयात घट्नु अर्थतन्त्रका लागि सकारात्मक भए पनि अहिले उपभोग घटेको कारण आयात घटेको हो। यसले अर्थतन्त्रलाई राम्रो गर्दैन।

मुलुकको व्यापार घाटा आठ खर्ब रूपैयाँ बढी पुगेको छ। सरकारले व्यापार घाटा घटाउने बताउँदै आए पनि चालु आव २०८०/८१ को सात महिनामा व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रूपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। पोहोरको सोही अवधिको तुलनामा १.७७ प्रतिशत घटे पनि मुलुकमा व्यापार घाटाको खाडल ठूलो छ।

 अर्थतन्त्रका बाह्य सूचक राम्रो भए पनि आन्तरिक सूचकहरू कमजोर रहेका छन्। स्वदेशमा उत्पादन हुन सक्ने कृषिजन्यलगायत वस्तुमा पनि विदेशबाट आयात गर्दा मुलुकले धेरै व्यापार घाटा व्यहोरिरहेको छ। भान्सामा पाक्ने खाद्यान्नदेखि औद्योगिक कच्चा पदार्थसम्म विदेशबाट आयात हुन्छ।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। यो अवधिमा भारतसँग चार खर्ब ९६ अर्ब रुपैयाँको व्यापार घाटा छ। भारतबाट पाँच खर्ब ५४ अर्ब ७५ करोड रूपैयाँको वस्तु आयात भएको छ भने ५८ अर्ब ७२ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ।

नेपालले डेढ सयभन्दा बढी मुलुकसँग व्यापार गर्दै आएको छ। तीमध्ये ११५ बढी मुलुकसँग व्यापार घाटा छ। निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा व्यापार घाटा चुलिँदै गएको छ। सबैभन्दा बढी घाटा दुई छिमेकी मुलुक भारत र चीनसँगै छ। यससँगै सार्क मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ।

मुलुकमा औद्योगीकरण हुन नसक्नु, निजी क्षेत्रले व्यापारलाई मात्र प्राथमिकता दिनु, सरकारले उत्पादनमूलक उद्योगमा लगानीको वातावरण सृजना गर्न नसक्दा उत्पादन वृद्धि हुन सकेको छैन। यसको प्रत्यक्ष असर निर्यातमा परेको छ।

सरकारले निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्न नसकेको उद्योगीको गुनासो छ। उत्पादन बढाउनकै लागि सरकारले तुलनात्मक लाभका वस्तु पहिचान गरेको भए पनि यसबाट पनि खासै लाभ लिन सकेको अवस्था छैन। यहाँ उद्योग सञ्चालन गर्दा उत्पादन लागत महँगो भएको कारण पनि विदेशी बजारमा प्रतिस्पर्धा गर्ने गरी उत्पादन हुनसकेको छैन।

मुलुकको व्यापार घाटा कम गर्न निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएको सरकारले जनाएको छ। स्वदेशी उत्पादन बढाएर व्यापार घाटा कम गर्न तीन दर्जन वस्तु निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिँदै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिलगायत वस्तु रहेका छन्।

त्यसैगरी, निर्यात अनुदान पाउने वस्तुमा तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थ प्रयोग हुने तथा काष्ठकलाका वस्तु, प्रशोधित तथा अप्रशोधित जडिबुटी (यार्सागुम्बासमेत) तथा सारयुक्त तेल, प्रशोधित तथा अप्रशोधित बेसार, ताजा तरकारी तथा पुष्प (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा) रहेका छन्।

त्यसैगरी, प्रशोधित तथा अप्रशोधित अलैंची, प्रशोधिक तथा अर्ध प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडर) रहेका छन्। त्यसैगरी, दुग्धजन्य पदार्थ (दूध, चिज, पनिर, छुर्पी, फ्याट) पनि तेस्रो मुलुक निर्यात गरेमा अनुदान पाउनेछन्। पश्मिना, क्यासमेयर, च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान रहेका छन्।

प्रकाशित: १० फाल्गुन २०८० ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App