१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लघुवित्तका समस्या समाधान गरेर सबल बनाउन जोड

पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका समस्याका विषयमा छलफल गर्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटनमा बोल्ने वक्ताहरूले लघुवित्तमा देखिएका समस्या समाधान गरेर सवल बनाउन जोड दिएका छन्।

‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताएका छन्।

नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले जीविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए। ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँ गाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञान समेत दिएको उनको भनाइ थियो।

प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै उहाँले गरिबीलाई शून्यमा झार्ने, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गरे।

‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो। केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरूलाई कदापी सफल हुन दिनेछैनौं’, महतले भने, ‘ऋण नतिर्न उक्साउने प्रवृत्ति खतरनाक हो। सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तिलाई हराउनुपर्छ।’

उनले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरे। ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गरिदिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ। बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन। बरु सरकारले विभिन्न सहजीकरण गरेको छ। ऋण त तिर्नैपर्छ। तिर्न पर्दैन भन्ने प्रवृत्ति परास्त हुन्छ’, डा. महतले भने। ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने महतको चेतावनी थियो।  

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन्।

प्रकाशित: ६ फाल्गुन २०८० ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App