२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पिपिए खुलाउने निर्णय

नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्म जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) खुलाउने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनाहरूसँग पिपिए खुल्ला गर्ने निर्णय गरेको हो।

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको विद्युत् ‘लेउ या तिर’ प्रावधानका आधारमा खरिद गरिने छ। आयोजनाहरूको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर) का लागि हाल कायम रहेको दर क्रमशः ८.४० र ४.८० प्रति युनिटमा खरिद हुने छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताहरूको लगानी जलविद्युत् क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूमा उत्पादन सम्मिश्रणका आधारमा तय गरिएको पिपिए सीमा लागु नहुने व्यवस्था गरिएको बताए।

‘कोटाका कारण १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पिपिए हुन सकिरहेको थिएन, अब १० मेगावाटसम्मका आयोजनाहरूलाई उक्त कोटा लागु नहुने भएकाले जहिले र जति क्षमताको पनि पिपिए गर्न सकिन्छ, यसले स्वदेशी साना लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने छ’, उनले भने, ‘अब ग्रिडमा आबद्ध सम्झौता भएका र हुने १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पिपिए जति र जहिले पनि गर्ने छौं।’

१० मेगावाटसम्मका ८९ वटा आयोजनाहरूले पिपिएका लागि प्राधिकरणमा निवेदन दिएका छन् । आयोजनाहरूको क्षमता ३५१ मेगावाट छ। त्यसमध्ये १९५ मेगावाटका ४४ आयोजनासँग ग्रिडमा आवद्ध हुनका लागि सम्झौता सम्पन्न भइसकेको छ।

दीर्घकालीन रूपमा आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने उद्देश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत् प्रणालीमा जलाशययुक्त आयोजनाको २५ प्रतिशत, अर्धजलाशययुक्त आयोजनाको ३० प्रतिशत र नदी प्रवाहमा आधारित ४५ प्रतिशत अंश रहने गरी उत्पादन सम्मिश्रण तय गरिएको थियो।

सोही आधारमा पिपिएको सीमा तय गरिएको थियो। नदी प्रवाहमा आधारित आयोजनाहरूका लागि तय गरिएको अर्थात् ६ हजार सात सय ५० मेगावाटको सीमा पूरा भइसकेकाले १० मेगावाटसम्मका आयोजनाको समेत पिपिए हुन सकिरहेको थिएन। १० मेगावाटसम्मका अधिकांश आयोजनाहरू नदी प्रवाहमा आधारित छन्। प्राधिकरणले हालसम्म ९२०० मेगावाटको पिपिए गरिसकेको छ।

बढेको क्षमताको विद्युत् किन्ने प्राधिकरण सञ्चालक समितिले पिपिए भइसकेका जलविद्युत् आयोजनाहरूको क्षमतावृद्धि गरिएमा थप हुने विद्युत् खरिद गरिदिने निर्णय गरेको छ। प्राधिकरणले आयोजनाको जडित क्षमता २५ प्रतिशतसम्म वृद्धि भएमा पिपिएको सीमा लागु नहुने निर्णय गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको डिजाइन परिवर्तनलगायतका कारण जडित क्षमताको २५ प्रतिशतसम्म अभिवृद्धिबाट उत्पादन हुने विद्युत् ‘लेउ वा तिर’ प्रावधान राखी पिपिए संशोधन गरिने बताए। ‘२५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भएमा ‘लेउ वा तिर’ र त्यसभन्दा बढी भएमा पुरानै ‘लेउ र तिर’को व्यवस्था लागु हुन्छ, हाल गरिएको व्यवस्थाले आयोजनाको क्षमता अभिवृद्धि हुनुका साथै आयोजनाहरूलाई लगानी जुटाउनसमेत थप सहज बनाउने छ।’

सौर्य ऊर्जाको सीमा बढ्यो 

प्राधिकरणले सौर्य जलविद्युत् आयोजनासँग गरिने पिपिएको सीमा बढाएको छ। प्राधिकरणले सौर्य आयोजनाहरूको पिपिए प्रतिस्पर्धाबाट गर्दै आएको छ।

प्राधिकरणले हाल कायम रहेको जडित क्षमता र पिपिए भइसकेका आयोजनाहरूलाई समेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जाको पिपिए गर्ने छ। यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्ममा सीमामा रहेर सौर्य आयोजनाहरूको पिपिए हुँदै आएको थियो।

सौर्य आयोजनाको विद्युत् प्रतिस्पर्धाबाट खरिद गर्न प्रतियुनिट पाँच रूपैयाँ ९४ पैसा अधिकतम आधार दर तय गरिएको छ। प्रतिस्पर्धामा उक्त दरभन्दा जसले कम कबोल गर्छ त्यही आयोजनासँग पिपिए गरिने छ।

‘नयाँ व्यवस्था बमोजिम करिब आठ सय मेगावाटका सौर्य आयोजनाहरूको पिपिए गर्न सकिने छ, हाम्रो स्वामित्वमा रहेका २००, १३२ र ३३ केभी सबस्टेसन नजिक निर्माण हुने सौर्य आयोजनाहरूको पिपिए गर्ने गरी प्रतिस्पर्धा गराउने छौं, जलविद्युत् आयोजनाहरू निर्माण हुन केही समय लाग्ने तर सौर्य आयोजनाहरू एक-डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आबद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट सबस्टेसन वरिपरि रहेका जग्गाको पनि प्रयोग हुने छ।’

प्राधिकरणले प्रतिस्पर्धाबाट हालसम्म १७५ मेगावाटको पिपिए गरेको छ। त्यसमध्ये १०६ मेगावाट सञ्चालनमा आएका छन्। थप ३० मेगावाटका सौर्य आयोजनाहरू पिपिए गर्ने प्रक्रियामा रहेका छन्।

प्रकाशित: ४ फाल्गुन २०८० ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App