२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बेनी-जोमसोम-कोरला सडक: भिरकाटेमा सुरुङ बनाउन ९० करोड लाग्ने

बेनी-जोमसोम-कोरला सडकको पोखरेबगर खण्डको भिरकाटे पहरा।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर खण्डको भिरकाटेमा सुरुङ निर्माण हुने भएको छ।

गण्डकी प्रदेशको लाइफलाइन मानिएको उत्तर–दक्षिण जोड्ने सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा कालीगण्डकी नदीको कटानका कारण दुई लेनको सुरूङमार्ग बनाउन कन्टेन्जेन्सी खर्च कटाएर झन्डै ९० करोड लागतसहित स्वीकृतिका लागि पठाइएको छ।

कालीगण्डकीको कटानले सडक साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा सबैभन्दा कठिन देखिएकाले ३८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको बेनी–जोमसोम–सडकका आयोजना प्रमुख ध्रुव झाले बताए।

‘सुरूङ बाहेकको अर्को विकल्प छैन, सडकको सुरक्षाका लागि सडकको पुरानो मार्ग परिवर्तन गरी सुरुङमार्गको डिजाइन गरिएको छ,’ प्रमुख झाले भने।

सडकखण्डको अग्लो कडा पहाड विस्फोटन वा अन्य विधिबाट काटेर सडकको लेभलमा ल्याउन सम्भव नभएपछि खर्चिलो विधि अपनाइएको उनले बताए। अहिले भिरकाटे खण्डमा नदी किनारामा ढुंगा राखेर डाइभर्सन गरिएको छ।

सो खण्डमा अहिले सडकको बेस छैन। सुरूङ प्रस्ताव गरिएको उक्त खण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अनुगमन गरी थप प्रक्रियाबारे चासो देखाएका थिए।

‘कालीगण्डकी करिडोरमा दिगो र सुरक्षित संरचना बनाउन सरकार सकारात्मक छ, ‘बर्सेनि प्राकृतिक विपत्तिले क्षति पुग्ने सडक खण्डमा डिजाइन परिवर्तन गर्नुपर्छ’, मन्त्री ज्वालाले भने।

मन्त्री ज्वालाले सडकको सुरक्षा र यात्रुलाई समेत सहज हुने मार्गलाई मन्त्रालयले आवश्यक स्रोत सुनिश्चितताका लागि पहल गर्ने बताएका थिए। ज्वालाले सुरुङमार्ग खर्चिलो भए पनि दिगो भएकाले काठमाडौं फर्किएपछि अध्ययन गरी अगाडि बढाउने बताए।

सडक खण्डको दायाँतर्फ अग्लो ओडार परेको कडा पहाड र बायाँ किनारामा कालीगण्डकी नदीले डेढ दशकदेखि लगातार कटान गरिरहेको छ।

बर्खाको समयमा सडकमै कालीगण्डकी नदीको बाहब पुग्ने भएकाले साना सवारी साधनलाई जोखिम रहेको छ भने कुनै पनि बेला सडकको बेससमेत नरहने गरी कटानको जोखिम रहेको आयोजना पक्षले जनाएको छ।

त्यस्तै मुस्ताङको सिमाना जोडिएको बाँदरजुँग भिर आसपासको जोखिम क्षेत्रमासमेत छोटो दूरीको सुरुङको प्रस्तावका बारेमा सामान्य छलफल मात्रै भएको छ।

११० किमि लामो जोमसोम–कोरला सडकमध्ये म्याग्दी खण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षति पुगेको खण्डमा सुरुङबाहेकका अन्य विकल्पका बारेमा समेत थप अध्ययन भइरहेको छ। चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने सडक सात अर्ब २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

२०७४ सालमा सुरु भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी र मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ।

मन्त्री ज्वालाको अनुगमन टोलीमा म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितको टोलीले सडकखण्डको समस्याबारे जानकारी गराएका थिए। 

प्रकाशित: २८ माघ २०८० ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App